२०८१, १४ चैत्र शुक्रबार

मेरो देशको सुन्दरताभित्रका कुरुपताहरु

जीतबहादुर शाह

वीरेन्द्रनगर खाल्डोमा छ । यो खाल्डोलाई हेर्नका लागि यही खाल्डोमा बस्ने मानिसहरु कहिले काही उकालो लाग्छन् । उकालो चढने क्रममा कटकुवा, गढी, बयलकाँडा र रातानाङ्लासम्म पुग्छन् । त्यहाँ पुगेर आफै बसेको खाल्डोलाई हेर्छन ।

आफै बसेको घर नियाल्न खोज्छन् । आफू हिडिरहेको बाटो र चोक ठम्याउन खोज्छन् । जे होस, राम्रो देखिन्छ बीरेन्द्रनगरको खाल्डो त्यहाँबाट हेर्दा । यस्तो देखिन्छ कि हेर्दाहेर्दै खाल्डोमा फर्किदा हरेकलाई अवेर भइसकेको हुन्छ ।

बेलुकी पख ओरालो झर्ने क्रममा लोडसेडिङ नभएको साँझ प¥यो भने त बीरेन्द्रनगरको खाल्डो झनै राम्रो देखिन्छ । स्वर्गका देवदूत र अप्सराहरु बस्ने कुनै सुन्दर, स्वर्णीम र रंगीन बस्ती देवपुरी जस्तै ।

यस्तै यस्तै कारणले गर्दा माथि पुगेको मान्छेको मन हत्तपत्त खाल्डोमा ओर्लन मानिरहेको हुदैन । यसमा यत्ति मात्र नभएर कारणहरु अरु पनि छन् ।

बीरेन्द्रनगरको खाल्डोबाट आठ किलोमीटर उकालो चढेपछि कटकुवा आउछ । यो सुर्खेतको पुरानो सदरमुकाम पनि हो । सडकबाटोबाट नदेखिने गरी यही कटकुवामा विपश्यना ध्यान केन्द्र छ । पाखोभरि थरिथरिका रुखबृक्ष र बुट्यानहरुले ढाकिएको छ । गर्मीको महसुस कहिल्यै हुदैन त्यहाँ । त्यही पाखोमा रहेको छ विपश्यना केन्द्र । उक्त केन्द्रमा कम्तिमा दश दिने ध्यान सेवा निशुल्क उपलब्ध गराइन्छ ।

मानिसहरु देशविदेशबाट आउछन् ध्यान गर्नका लागि । ध्यान गर्नका लागि भन्दा पनि शान्तिको अनुभूति गर्नका लागि । एकाग्रतालाई धारण गर्नका लागि । त्यहाँका सञ्चालक एवम् मध्यपश्चिम विश्वविद्यालयका उप प्राध्यापक राजेश गौतमसँग त्यहाँ स्थित विपश्यना केन्द्रको बारेमा जानकारी लिदै गर्दा समेत शान्ति र अनुपम आनन्दको अनुभूति भयो । त्यही बसेर बाँकी जिन्दगी विताइदिउ कि झै लाग्यो मलाइ त ।यस्तै यस्तै सोच्दै बाटो तताउने काम भयो बीरेन्द्रनगरको खाल्डोतिर ।

अलि तल झर्दै गर्दा सडक छेउमा दुइजना मानिसहरु रुखको छेउ लागेर बसिरहेका थिए । समयले झिसमिसे साँझलाई स्वागत गर्ने तयारी गर्दै थियो । त्यति अध्यारै भइसकेको थिएन । नजीक गएर हेरेपछि मान्छे चिन्न सकिन्थ्यो । नजीक पुगेपछि मान्छे त देखिए नै । मान्छेको अगाडि मालपानी राखिएका वोतल र गिलासहरु पनि देखिए । खाल्डोबाटै खल्तीमा मालपानी बोकेर उकालो चढेका होलान सायद तिनीहरु । उकालो चढ्ने क्रममा पसिनाले निर्थुक्क भिजेपछि चिसो हावालाई शीतन बनाएर मालपानी चढाउदै थिए तिनीहरु । अर्थात उनीहरुको उकालो चढ्नुको दुरदृष्टि नै उकालोमा गएर मालपानी चढाउने नै थियो होला शायद ।

त्यसको केही मिटर ओरालो झरेपछि फेरि अर्को दृश्य आँखामा प¥यो । सडकको छेउमा मोटरसाइकल राखिएको थियो । मोटरसाइकलकै छेउमा एकजोडी केटाकेटी थिए । मैले देख्दा केटाको हातमा केही थिएन । केटीले भने चुरोटको सर्को तानेर धुवा उडाइरहेकी थिइन । म त झसङ्ग भएँ यो दृश्य देख्दा । यो उमेर भइसक्यो मैले समेत त्यसरी चुरोट कहिल्यै तानेको छैन ।

ती सोरहसत्र वर्षकी नानीले यो के गरेको होला ? यो वानी कसरी सिकेको होला ? साँझ पर्दै गर्दा त्यो जङ्गल किन रोजेको होला ? साथमा भएको केटो को होला ? उनको निम्ति दुव्यर्सनको साथी वा जीवनभरका लागि ? मैले त्यही उमेरकी मेरी आफ्नी छोरीलाई सम्झें । यति सोच्दासोच्दै हामी चढेको गाडी बीरेन्द्रनगरको खाल्डोस्थित हामी बस्ने घरको आँगनमा पुगिसकेको थियो ।

नजरमा परेका कतिपय बस्तु र घटनाले जीवनमा गहिरो प्रभाव छोडेर जान्छन् । मेरो नजरमा परेका उल्लिखित दृश्यहरुले पनि म भित्र पनि त्यस्तै प्रभाव छोडेका छन् । मलाई महशुस भएको छ, हाम्रो देश सुन्दर छ कटकुवाको विपश्यना ध्यान केन्द्रजस्तै । मानिसहरु खुशी खोज्न हाम्रो देशमा आउछन् । विपश्यना ध्यान केन्द्र जस्तै सुन्दर र शान्त थलोमा महिनौं बसेर उर्जा र सिर्जनाका साथ फर्किन्छन् । हामीले भने यति सुन्दर थलोलाई दुरुपयोग गरिरहेका छौं । कसैले यसलाई दुव्र्यसनको लागि उपयुक्त ट्रान्जिट प्वाइन्ट बनाइरहेका छौं ।

कसलै यसलाई मानव बेचविखनको उर्वर भूमि बनाइरहेका छौं । कसैले यसलाई रेमिटान्सबाट बाँच्ने देशको रुपमा विकास गर्न खोजिरहेका छौं । युद्धभुमि बनाउने चेष्ठा पनि भइरहेको छ । भ्रष्टाचार र बेभिचारको त उर्वर भन्दा पनि अति उर्वर थलो भइरहेको छ हाम्रो देश ।
भ्रष्टाचारको नायकको रुपमा कर्मचारीलाई देखाइदैछ । के गरोस विचरा कर्मचारी । राजधानीबाट मन्त्री जम्बो टिम ल्याएर आउछन् । राम्रा होटलहरुमा बस्छन् । बील भुक्तानी नगरी राजधानी फर्कन्छन् । मन्त्री आफ्नो कार्यक्रममा आएकोे नाताले हाकिमले होटेलको बील भुक्तानी गर्दछ । कतिपय अवस्थामा ब्यापारीहरुले पनि भुक्तानी गर्दछन् । एकाध मन्त्रीहरुले आफै पनि भुक्तानी गरेर जान्छन् ।

विचरा मन्त्रीको पनि विवशता होला । त्यत्रो टिमको खानपानको भुक्तानी गर्न मन्त्रीसँग कमाइ छ कि छैन ? विकल्पमा कर्मचारीको हाकिम अघि सर्ने क्रममा भ्रष्टाचारको विजारोपण त्यहीबाट शुरु हुन्छ । त्यो बीलको भुक्तानी ब्यापारीले गर्ने हो भने कालोबजारीको सुरुवात पनि त्यहीबाट हुने गर्दछ । यो एउटा सानो दृष्टान्त मात्र हो । भ्रष्टाचार गर्ने र हुने कारणहरु धेरै छन् यो देशमा ।
कर्मचारी त अहिले यति निरिह अवस्थामा छ कि देशको आधुनिक इतिहासमा कर्मचारीका निम्ति यो भन्दा उदासीन समय सायद आएको पनि थिएन र आउदैन पनि होला । कर्मचारीलाई जसले जे गरे पनि हुन्छ र जे भने पनि हुन्छ भन्ने मानसिकता हावी भएको छ । उसलाई आत्मनिर्भर भएर बाँच्नका लागि प्रोत्साहनका कुरा उठ्दैनन् कतै । कर्मचारीका निम्ति केही भलो हुने काम होला भन्ने सोच्दा पनि अनर्थ हुने बेला भएको छ अहिले । मन्त्रीले सचिवलाइ दास सोच्ने । सचिवले तलकालाई दास सोच्ने ।

तलको कर्मचारी सवै हिसावले तलै हुन्छ भन्ने सोच्ने । माथिकाले उसको कुरा सुन्न त के, भेट्न पनि आवश्यक नठान्ने । त्यसमा पनि अझै कर्मचारीहरुलाई तीनवटा सरकार र भिन्नभिन्न समूहमा विभाजित गरेर उनीहरुभित्रै लडाउने । मलाइ त लाग्छ, पहिलेजस्तै एउटै ऐन नियमभित्र बाँधेर तीनै तहको सरकारको अनुभव लिने गरी कर्मचारीलाई सेवा गर्न अनिवार्य गरिदिएको भए समायोजनको यो नाटक मञ्चन गर्नु पदैनथ्यो होला सायद ।
कोलम्बसले अमेरिका पत्ता लगाउनुपूर्व सुनका मूर्ति बनाइन्थे यो देशमा ।

त्यतिबेलै मानव विकासका लागि विशेष सभ्यता, संस्कार र शिक्षाको विकास भइसकेको थियो यो देशमा । तथापि अमेरिकाको सामु आज हाम्रो देशको कुरा गर्दा लाजले मुख ढाक्नु पर्ने अवस्था छ । यो कर्मचारीको कारणले भएको हो जस्तो लाग्दैन । देशको अगुवाइ गर्नेहरुको लाचारीका कारणले यस्तो भएको हो । सत्ताको कुर्ची पाएपछि सवैभन्दा अनुशासित, सजायको भागी, चरित्रबान र रोलमोडल आफै हुनुपर्छ भन्ने मानसिकता सत्तामा पुग्नेहरुले किन बनाउदैनन् ? किन अरुलाई मात्र औलो ठड्याउछन् माथिकाहरु ? यसरी सानातिर मात्रै औला ठडयाउने पाराले हुन्छ देशको समुन्नति ? यसरी हुन्छ रामराज्य ? घर विग्रियो भने घरमूलीले जिम्मा लिनु पर्दैन ? पूर्वाधारको पनि पूर्वाधार भनिने शिक्षा क्षेत्र त झन यत्ति ध्वस्त भयो कि त्यसको हिसाव समयले कुनै बेला गर्छ होला सायद ।

प्रकृति र पूर्खाहरुले हामीलाई उपहारको रुपमा सुन्दर देश नेपाल दिएकोमा कुनै सन्देह छैन । तथापि हामी गतिला भएनौं । ध्यानकेन्द्र हुने ठाउलाई दुव्र्यसन केन्द्र बनाउने चक्करमा लाग्यौं । सुँगुरलाई स्वर्गजाने कुरा गर्दा त्यहाँ आँची पाइन्छ र ? भनेर सोधै झै हाम्रो मानसिकता भयो । जति माथि उडे पनि गिद्धले तल हेर्दा सिनो भन्दा अरुलाई ध्यान नदिएको झै प्रबृत्ति भयो । देशको सिंगो कर्मचारी जगत र शिक्षा जगतलाई हाँक्ने विधेयकहरुको बारेमा कुनै टुङ्गो लाग्न सकेको छैन । सवैले आ–आफ्ना स्वार्थका डम्फुहरु बजाइरहेका छन् । देशको स्वार्थका कुराहरु ओझेलमा परेका छन् । कसलाई कति अधिकार भन्ने कुरामै छिनाझप्टी भइरहेको छ । साँच्ची म त अलमलमा छु । पशुपतिनाथको देश हो भन्छन् । पशुपतिनाथको देशमा सायद यसरी नै हुने होला कि विकास । सवैलाई चेतना भया ।