२०८१, १९ चैत्र बुधबार

इमरान खानको राजनीतिक,’पाकिस्तानी प्रधानमन्त्रीका लागि खुल्याे ढोका’

साउन १०, २०७५ । पाकिस्तानमा बिहीबार भएको आमनिर्वाचनमा पूर्वक्रिकेटर इमरान खानको पार्टीले सरकारको नेतृत्व गर्ने निश्चित भएको छ। ‘नयाँ पाकिस्तान’ नारा लिएर चुनावमा होमिएको खानको तहरिक-ए-इन्साफ पार्टी ठूलो अन्तरका साथ अगाडि बढेको छ। यो पार्टीको जितसँगै अबको पाकिस्तानको नेतृत्व इमरान खानले गर्ने निश्चित भएको छ।

राजनेता इमरान

इमरान खानको नाम लिने बित्तिकै विश्वभरका क्रिकेट प्रेमीको मानसपटलमा एक अनुहार आउँछ जसले सन् १९९२ मा पाकिस्तानलाई विश्वकप जिताएको थियो। करिब दुई दशक विश्व क्रकेटमा राज गरेका इमरान खानले खेलजीवनबाट संन्यास लिए राजनीतिक खेलमा कदम राखे। त्यसको २२ वर्षपछि इमरान खान पाकिस्तानको राजनेता बनेका छन्।

कुनै समय पाकिस्तानका राजनीतिक दलहरूले र मिडियाले नेताको रुपमा स्वीकार नगरिएका इमरान अहिले पाकिस्तानको प्रधानमन्त्रीका रूपमा पाकिस्तानको नेतृत्व गर्ने स्थानमा अवस्थामा आइपुगेका छन्।

क्रिकेटको पारीबाट संन्‍यास लिएर राजनीतिक पारी शुरु गर्दाताका पाकिस्तानी मिडिया र जनता उनलाई नेता मान्न अश्वीकार गर्थ्यो। झन्डै दुई दशकको राजनीतिक पारी पछि उनलाई पाकिस्तानका महिला र युवाको ठूलो हिस्साको समर्थन मिल्यो र निर्वाचनबाट देशको नेतृत्वमा पुगेका छन्।  यसको पछाडि उनको राजनीतिक र सार्वजनिक जीवनलाई विवादबाट टाढा राख्नु रहेको छ।

विश्वकप जिताएर क्रिकेटबाट संन्यास, राजनीतिमा इन्ट्री

इमरान खानको आजको परिचय एक विश्वकप जिताउने कप्तानको भन्दापनि पनि राजनीतिक सक्रियताका कारण भएको छ। उनी बेला मौकामा क्रिकेट कमेन्टेटरका रुपमा पनि देखिने गरे यसबीचमा।

क्रिकेटबाट सन्यास लिएपछि र राजनीतिमा प्रवेश गर्नुपहिले विश्वभरबाट चन्दा उठाएर सन् २००८ मा आफ्नी आमा शौकत खानको नाममा एक क्यान्सर अस्पताल स्थापना गरेका थिए। इमरानले सन् १९९६ मा तहरीक-ए-इन्साफ पार्टी गठन गरेका थिए। सन् २००२ मा भएको निर्वाचनमा आफ्नो पार्टीबाट सांसदमा निर्वाचित हुने उनी एक्लो सदस्य बने।

उनले सन् २००२ देखि २००७ सम्म राष्ट्रिय सभामा नियमावली समितिमा रहेर काम गरेका थिए। राजनीतिमा पाइला राख्दा इमरानलाई अन्य राजनीतिक दल र मिडियाले खासै गम्भीरताका साथ लीएनन्। उनको बारेमा आउने समाचारले मुख्य मिडियाले ठाउँ पनि दिँदैन थिए। दिइहाले पनि सानो कोलममा मात्रै। सन् १९९९ मा सैनिक जनरल परवेज मुशर्रफले कू गर्दा उनकको समर्थनमा उत्रिएका थिए इमरान। तर, २००२ को निर्वाचन पहिले नै उनले मुशर्रफको आलोचना गरे।

नजरबन्द अनि जेल

सन् २००२ मा सांसद निर्वाचित भएपछि उनले कश्मीर र लोकलेखाको स्थायी समितिको सदस्य बने। उनले मुशर्रफलाई अमेरिकी राष्ट्रपतिको चम्चा बताएका थिए। त्यसपछि विरोध प्रदर्शनमा निक्लिएका खानलाई घरमै नजरबन्दमा राखियो।

सन् २००७ नोभेम्बर ३ मा मुशर्रफले संकटकाल घोषणा गरे। इमरानले मुशर्रफलाई मृत्युदण्ड दिनुपर्ने माग गरे। फेरि उनी देशद्रोहको अभियोगमा नजरबन्द गरिए तर उनी फरार भए। त्यसपछि पक्राउ परेका खानलाई डेरा गाजी खानको जेलमा बन्द गरियो। त्यसपछि पनि उनी पटक पटक नजरबन्दमा परेका थिए।

उनले प्रदर्शन र अभिव्यक्तिका लागि त्यसो गरिएको थियो। सन् २०१३ को चुनावमा उनले तत्लकिन सरकार, जसको नेतृत्व पाकिस्तान पिपुल्स पार्टीले गरेको थियो, ले गरेको भ्रष्टाचारको मुद्दा जनतासामु चुनावी मुद्दा बनाए। उनले अफगानिस्तान र पाकिस्तानको सीमामा भइरहेको अमेरिकी ड्रोन हमलाको पनि विरोध गरेका थिए।

यो उनको चुनावी रणनीति थियो। उनले आफ्नो सरकार बने स्वच्छ सरकार, भ्रष्टाचारविरोधी कानुन, स्वतन्त्र न्यायपालिका, पारदर्शी प्रहरी प्रशासन र आतंकवाद विरोधी पाकिस्तान बन्ने घोषणा गरेका छन्।

तीन विवाह

२५ नोभेम्बर १९५२ मा जन्मिएका इमरानले तीन विवाह गरेका छन्। उनले सन् १९९५ मा बेलायती जेमिमा गोल्डस्मिथसँग विवाह गरे। जेमिकाबाट दुई छोरा पनि जम्मिए तर ९ वर्ष नपुग्दै यी दुईको जोडी छुट्टियो। उनले दोस्रो विवाह सन् २०१४ मा एक टिभी एंकर रेहम खानसँग गरे।

त्यो विवाह १० महिना मात्रै टिक्यो। रेहमले किताब लेखेर आफूमाथि इमरानले यौन शोषण गरेको गम्भीर आरोप पनि लगाएकी थिइन्। त्यसपछि सन् २०१८ मा इमरानले बुशरा मनिकासँग विवाह गरेका छन्।

अध्ययन र क्रिकेट

इमरानले पाकिस्तानको लाहौर, बेलायतमा अध्ययन गरेका छन्। उनले राजनीति र अर्थशास्त्रमा विषयमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका छन्। इमरानले कप्तानका रुपमा पाकिस्तानलाई सन् १९९२ मा विश्वकप जिताएका थिए। उनले पहिलोपटक पाकिस्तानलाई विश्वकप जिताएका थिए। ३९ वर्षको उमेरमा त्यसबेला उनले पाकिस्तानको तर्फबाट सबैभन्दा बढी रन पनि बनाएका थिए।

इमरान खानले सन् १९८७ मा क्रिकेटबाट संन्यास लिएका थिए। तर, उनलाई सन् १९८८ मा टिममा फिर्ता बोलाइयो त्यो पनि त्यतिबेलाका राष्ट्रपति जनरल जिया उल हकले आग्रह गरेर टिममा बोलाएका थिए। इमरानले क्रिकेट जीवनको सुरुवात भने १६ वर्षको उमेरमा गरेका थिए। काउन्टी क्रिकेट र घरेलु म्याच खेलिरहेका उनलाई सन् १९७१ मा इंग्ल्यान्डबो विरुद्धमा पहिलोपटक पाकिस्तानको टिममा मौका मिलेको थियो। त्यसको तीन वर्षपछि वान डे टिममा पनि स्थान मिल्यो।

उनी पाकिस्तानका लागि सबैभन्दा धेरै टेस्ट विकेट लिने खेलाडी हुन्। उनले ८८ टेस्ट म्याच खेलेकामा ६ शतक, १८ अर्धशतकको मद्दतमा ३ हजार ८०७ रन बनाए र ३६२ विकेट लिएका थिए।