किन ढल्यो के.पी. ओली नेतृत्वको सरकार ?
धर्म ग्रन्थलाई आधार मान्ने हो भने परापूर्वकालमा सम्पूर्ण देवी देवताको वासस्थान नेपाललाई मानिन्छ । हाम्रो देश नेपाल ऋषिमुनिहरुको तपोभूमि रहिआएको र देवी, देवताहरुले पनि यहि आफ्नो वासस्थान बनाई विश्वमा राज गरेको कुरा वेद पुराणमा उल्लेख छ ।
पछिल्लो समय भारतलाई पनि उपनिवेशले कोत्लेआम पार्दै विश्व आक्रान्त बनाइ रहेको अवस्थामा स्वाभिमानी नेपालीले नेपाललाई उपनिवेश मुक्त राखेको सुन्दर इतिहास पनि हाम्रो अगाडि साक्षी छ ।
यो सबै नेपालीको गौरव हो । नालापानि युद्धमा बलभद्र कुँवरको योगदान र भक्ति थापाले देखाएको बाटो इतिहासमा हामी कहिल्यै भुल्न सक्दैनौं । यसरी पुर्खाहरुले जीवनको आहुति दिएर ठूलो त्याग र तपस्याले जोगाएको देश नेपालले कहिल्यै उपनिवेश र अरुको हस्तक्षेप सहेन र सहदैँन पनि । किनकि परापूर्वकाल देखिनै विश्वलाई राजगर्ने हाम्रो इतिहाँस रहिआएको छ । त्यसैले हामी नेपालीलाई कसैको दासत्व स्वीकार्य छैन ।
तर विडम्बना नेपाली जनताले पूर्ण स्वतन्त्रतामा आफ्ना हक र अधिकार सहित कहिल्यै बाँच्न पाएनन् । नेपाली जनताले आफ्नो हक अधिकारको लागि पटक पटक विद्रोह र संघर्ष गरिरहे पनि उपलब्धी संस्थागत गर्ने क्रममा धोका पाइरहे । यसको मुलभूत जरो सामन्तवादी, राजसंस्था र त्यसैबाट निर्देशित राज्य सत्ता नै थियो ।
जति आन्दोलन र संघर्ष गरे पनि नेपाली जनताले कहिल्यै मुक्ति नपाउने विडम्बनालाई यथार्थ रुपमा बुझ्दै माओवादी ले २०५२ सालमा सशस्त्र संघर्ष शुरु ग¥यो, जसको नेतृत्व हालका प्रधानमन्त्री क. प्रचण्डले गर्नुभएको थियो । यसको कसैले पनि कल्पना नै गर्न सकेका थिएनन् । तर संसदवादी दलहरु जो जहिले पनि राजतन्त्रप्रति बफादार थिए, तिनीहररुले कहिल्यै पनि जनताका विद्रोह र संघर्षलाई साथ दिएनन् ।
बरु विभिन्न षड्यन्त्र र जालझेल बुन्दै सामन्तवादी राजतन्त्रसँग काँधमा काँध मिलाउँदै विदेशी सहितको साथ माग्दै माओवादी आन्दोलनलाई एक पछि अर्को प्रहार गरिरहे । अन्तः तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले ओडार ओडारमा गएर गोली ठोकेर माओवादी सिद्याउन पर्दछ भन्दै गर्दा नेपाली जनयुद्धले झन ठूलो रुप लियो ।
माओवादीहरुलाई सिध्याउन राजा लगायत संसद्वादी दलहरु मिलेर संयूक्त राज्य अमेरिका लगायत विदेशी शक्ति सँग मिलेमतो गरि माओवादीलाई आतंककारी घोषणा गरेको यथार्थ इतिहास पनि साँक्षी छ । निश्चयपनि राजा एक्लैले माओवादी सिध्याउन सेना परिचालन र विभिन्न अपरेशन चलाएका थिएनन् त्यसमा जरुर संसद्वादी दलहरुको साथ, समर्थन र रोजाइ थियो ।
“तर त्यो माओवादी आन्दोलन नेपाली जनताको आफ्नै मौलिक आन्दोलन थियो । त्यो, आन्दोलन नेपाली जनताको मुख्य शत्रु सामन्तवादी राजतन्त्रको अन्त्यको लागि थियो । त्यो आन्दोलन संविधान सभाबाट नयाँ संविधानकालागि थियो । त्यो आन्दोलन संघीय गणतन्त्र स्थापनको लागि थियो ।
त्यो आन्दोलन धर्म निरपेक्षताको लागि थियो । त्यो आन्दोलन समानुपातिक सिद्धान्तको लागि थियो । त्यो आन्दोलन मधेशी, दलित, महिला, जनजाति , थारु, मुस्लिमको पूर्ण हक अधिकार स्थापनाको लागि थियो । त्यो आन्दोलन जातीय, क्षत्रिय, लिङ्गीय रुपमा उत्पिडनमा परेकाहरुको लाथि थियो । त्यो आन्दोलन दिनभरी परिश्रम गरेर पनि एकछाक पेटभरी खान नपाउनेहरुको मुक्तिको लागि थियो, जनवादी शिक्षाको लागि थियो ।
त्यो आन्दोलन राष्ट्रिय एकताको लाथि थियो । त्यो आन्दोलन पहिचान गुमेकाहरुको पहिचान स्थापनका लागि थियो । त्यो आन्दोलन राष्ट्रियता र स्वाधिनताको लाथि थियो । त्यो आन्दोलन कुनै पनि विदेशी हस्तक्षेपका विरुद्धमा थियो, पुराना राज्यसत्ता ढालेर नयाँ संरचनाको लागि थियो । अतः माओवादी आन्दोलन पहिलो र नेपाली भुमि मै मौलिक रुपमा आविष्कार गरिएको विश्व चकित पार्ने स्वस्फूर्त वर्ग संघर्षको एउटा नयाँ रुप थियो । ”
यसरी नेपाली क्रान्तिलाई अगाडि बढाउने क्रममा १२ बुँदे समझदारी पश्चात २०६२÷६३ को जनआन्दोलन सफल भयो । राजतन्त्र ढल्यो । गणतन्त्र आयो । अनि संसदवादी दलहरुले रातारात पार्टीका विधानमा गणतन्त्र लेखेर आफ्नो अस्तित्व जोगाएका थिए ।
पहिलो संविधान सभामा पहिलो शक्तिका रुपमा माओवादी पार्टी उदयमान भएपछि फेरि पुराना संसदवादी दलहरु (जो रातारात पार्टीको विधानमा गणतन्त्र लेखेर अस्तित्व जोगाएका थिए), देशी विदेशी जनताका बैरीहरु, राजतन्त्रका अवशेषका रुपमा बाँचिरहेका जल्लादहरुले प्रचण्ड माथि एकपछि अर्को प्रहार गर्दै जनताले चाहेजस्तो संविधान आउन नदिन उद्धत रहे ।
माओवादीले ४१८ जना सभासदको हस्ताक्षर सहितको समर्थ पाउँदा, सुवास नेम्वाङले पहिलो संविधान सभाको हत्या गरे । काँग्रेस–एमाले प्रक्रियामा जाँदा देशमा रगतको खोलो बग्छ भन्दै राष्ट्रियता र स्वाधिनतामा आँच आउने गरी विदेशी हार गुहारमा लागे र अन्तिम अवस्थासम्म माओवादी लगायत अन्य केही दलहरुले (बहुमत सङ्ख्याले) संविधान सभाको बैठक बसाल्न माग गर्दा पनि बैठक नै नबसाली काँग्रेस एमाले र विदेशी शक्तिको कारण संविधान सभाको म्याद समाप्त पारियो ।
यता पार्टीभित्रै पनि प्रचण्डले आफ्नैबाट पनि साथ पाएनन् । देश काल परिस्थिति, संसदवादी दलहरुको रणनीति र विदेशी हस्तक्षेपलाई ठोस रुपमा नबुझी वैद्य पक्षले प्रचण्डलाई कमजोर पार्ने र आफू क्रान्तिकारी देखिने हेतुले पार्टी र जनताको एजेण्डाहरु धरापमा पार्ने र गणतन्त्र संस्थागत हुनै नदिने खेलमा लागे । तर पनि प्रचण्डको विलक्षण प्रतिभा, अद्भुत क्षमता र असाधारण कुटनितीक प्रयासले दोश्रो संविधान सभाको चुनाव भएरै छोड्यो ।
पहिलो संविधान सभामा पहिलो शक्ति हुँदा घेराबन्दी गर्ने काँग्रेस एमाले दोश्रो संविधान सभामा क्रमशः पहिलो र दोश्रो शक्तिमा आएपछि प्रचण्डलाई संविधान सभाबाट संघीय गणतन्त्र संस्थागत गर्न त्यति सजिलो थिएन । प्रचण्डको अगाडि चुनौतिको पहाड नै थियो ।
काँग्रेस एमालेको सोझै २ तिहाइ बहुमत पुग्ने हुनाले उनीहरु १२ बुँदे समझदारी, अन्तरिम संविधान, मधेश आन्दोलनका सम्झौता, थरुहट आन्दोलनका सम्झौता , जनजाति, महिला, दलित, आदिबासि, सबैसँग भएका सम्झौता तोडेर जान थालेपछि संविधान सभामा तोडफोडको स्थितिसम्म भयो। जनताका हक अधिकार सुनिश्चित गर्न जनयुद्ध कालदेखि आफूले उठाउँदै आएको संविधान सभाबाट जनताको संविधान नआउने निश्चित भएपछि प्रचण्डले आफ्नो क्षमताको प्रदर्शन गरे ।
विभिन्न मोर्चाहरु संगठित गर्दै सडक र सदन दुवैलाई प्रयोग गरेर काँग्रेस , एमाले मात्र हैन देशी विदेशी शक्तिलाई समेत जनताको ताकत देखाइ दिए । त्यसपछि विदेशीहरुसँग हार गुहार गर्न छोडेर काँग्रस एमाले २०७२ जेठ २५ गते १६ बुँदे सहमति गर्न बाध्य भए । जसको परिणाम स्वरुप नेपाली जनताले संविधान सभाबाट संघीय गणतन्त्र नेपालको संविधान पाएका छन् तर आज थारु र मधेशीका मागहरु प्रचण्ड आफैंले उठाएर पनि सम्बोधन भएका छैनन् ।
यसरी हेर्दा राष्ट्रिय स्वाधिनतामा पनि प्रचण्ड कति चनाखो रहेछन् भन्ने कुराको पुष्टि हुन्छ । मधेशी, जनजाती र थरुहटका मागप्रति अडिग रहँदा संविधान नै नबन्ने, त्यसैमा घुसपैठ भएर गलत शक्ति प्रवेश हुने र राजतन्त्र ब्युझाउनेतिर संसदवादी दलहरुका साथै विदेशी शक्तिहरु लाग्ने खतरा बढेपछि प्रचण्डले राष्ट्रिय स्वाधिनता र संघीय गणतन्त्रलाई ध्यानमा राखी मधेशी र थरुहटका मागलाई पछि समेट्ने दूरदर्शी योजना बनाउँदै संविधान निर्माणमा मुख्य भूमिका खेल्दै संविधान निर्माण गरेर अर्को चमत्कार देखाइ दिए ।
उनले संविधान सभाको हलमा सम्बोधन गर्दा “मैले ड्रगनको दाँत रोपेको तर भुसुना काट्नु प¥यो” भन्ने भनाइले यही भाव झल्काउँथ्यो । उनी जितभित्र हार र हारभित्र जित देख्ने जननायक हुन् । पूर्णतामा जित्न सकिएन भने अंश अंश जितेर पूर्णतामा जानुपर्दछ । त्यसैले उनले मधेशी र थरुहटका जायज माग पूरा हुने उद्घोष गरिसकेका छन् ।
प्रचण्डले चाहेजस्तो र नेपाली जनताले चाहेजस्तो संविधान नबने पनि आधारभूत उपलब्धिहरु संस्थागत हुने संविधान बनेको छ । प्रचण्डले विमतिको डकुमेन्ट पनि संविधान सभा अध्यक्षलाई बुझाएका थिए । यसबाट के स्पष्ट हुन्छ भने उनी अब क्रान्तिका बाँकी कार्यभार पूरा गर्न फेरी पनि नयाँ ढंगको क्रान्तिलाई अगाडि बढाउने छन् र नेपाली जनताले पूर्ण रुपमा आफ्ना हक र अधिकार प्राप्त नगरेसम्म कहिल्यै विश्राम लिने छैनन् ।
आज प्रचण्ड कसैले कल्पना नै नगरेको गणतन्त्र नेपालको विजारोपण गर्दै कहाली लाग्दो परिस्थितिमा पनि भरपोषण र संरक्षण गरेर गणतन्त्रको फल नेपाली जनतालाई चखाइ दिएर नेपालको इतिहासमा सधैंको लागि जननायक र गणतन्त्र नेपालका जन्मदाताको रुपमा रहेका छन् । त्यसैले त आज संविधान सभाबाट गणतन्त्र नेपालको संविधान पास भएपछि सर्वाधिक नेता तथा सभासद्हरुले सँगै उभिएर फोटो खिचाउन चाहेका एकमात्र नायक पनि क. प्रचण्ड नै थिए ।
प्रचण्डले संविधान सभामा सम्बोधन गर्दा काँग्रेस एमाले लगायतका सम्पूर्ण सभासदहरु (जो आफ्ना नेता बोल्दा निदाउने गर्दथे ) ले पनि गड्गडाहट ताली बजाएका थिए । २०५२ सालको माओवादी जनयुद्ध शुरु हुँदा विरोध गर्ने मोहनविक्रम सिंह, काँग्रेस, एमाले लगायत सबैले कमरेड प्रचण्डको पक्षमा ताली बजाएका थिए ।
यसरी रातारात विधानमा गणतन्त्र झुण्डाउने संसदवादी एक कम्युनिष्ट नामका नेता के.पी ओली कत्तिका गणतन्त्रवादी भए भनेर नेपाली जनताले परिक्षण गर्न प्रधानमन्त्री बनाए तर उनी तपसिलका कारणले सत्ताच्यूत भए ।
१. सामन्तवादी सोच र ज्ञानेन्द्र शैली
हामीले के.पी ओलीको इतिहाँस पल्टाएर हेर्ने हो भने कुनै पनि जनताका आन्दोलन, संघर्ष र विद्रोहमा साथ समर्थन गरेको पाउँदैनौँ । ओलीले माओवादी जनयुद्धलाई “गुलेली खेल्न रहर लोगका केटाकेटीहरु” भनेका थिए । त्यसैगरी २०६२÷६३ को जनआन्दोलन लाई वि.वि.सि सँग अन्तर्वाता दिदै “यो आन्दोलनको तुक छैन, के गोरु गाडा चढेर अमेरिका पुगिन्छ ? पटमुर्खहरु ”, भनेर जनताको आन्दोलनलाई खिल्ली उडाएका थिए ।
ज्ञानेन्द्रलाई सर्वशक्तिमान देवता ठानेका थिए । अनि मधेशी र थारुहट आन्दोलनलाई त उनले देश टुक्राउने, जातीय दंगा फैलाउने, क्षेत्रीय दंगा फैलाउने अराजक के के हो के के भनेका थिए । यसबाट के स्पष्ट हुन्छ भने के.पी ओली संघियताको चरित्र नै नबुझ्ने, पहिचानका ५ र सामथ्र्यका चार आधार भन्ने शब्द नै नबुझ्ने, जनताले पटक पटक गरेका वर्ग संघर्ष र विद्रोहलाई, कहिल्यै आत्मसाथ र समर्थन नगर्ने, वर्ग संघर्ष के हो ? किन हुन्छ ?
थाहै नपाउने वा थाहा पाएर पनि नपाए जस्तो गर्ने, सहमति र सम्झौतामा हस्ताक्षर गर्ने तर कार्यान्वयन नगर्ने वा विर्सने , जनतालाई अधिकार सम्पन्न देख्नै नचाहने तर पद र प्रतिष्ठा खोज्ने र हिटलरको शैलीमा सामन्तवादी शासन गर्न चाहने सोच र ज्ञानेन्द्र शैली भएकै कारण सत्ताच्यूत भएका हुन् ।
२. आधारहिन खोक्रो राष्ट्रवाद
के.पी ओलीले बारम्बार भन्ने गर्छन, “संघीयता माओवादीको एजेण्डा हो । बाध्य भएर स्वीकार्नु प¥यो मैले, के गर्ने ? माओवादी जति सकिँदैन”, भनेर बेला बेलामा दुखेसो पोखेको सबै नेपाली जनतालाई घाम झै छर्लङ्ग छ । यस बाट के स्पष्ट हुन्छ भने उनि अझैं पनि एकात्मक निरंकुश राज्य संरचनाको पक्षमा छन् ।
संघीय राज्यको विरुद्धमा छन् । अनि मधेशी र थरुहटको माग त उनको सबैभन्दा टाउको दुखाइको विषय हो । मधेशी राष्ट्रवादी छैनन् , देश टुक्राउने भारतका एजेन्टहरु हुन भनेर के.पी. को आरोप छ । तर यथार्थ के हो भने मधेशी, थारु, जनजाती सबैलाई एकताबद्ध गरेर मात्र राष्ट्रियता बलियो हुन्छ । जब सम्म सबै नेपालीलाई हक अधिकार सम्पन्न गर्दै एकता बद्ध गर्न सकिदैन तब सम्म आधारहिन राष्ट्रवादको अर्थ हुदैन, राष्ट्रियता जोगाउन पनि सकिदैन ।
विदेशीहरुले चलखेल गर्ने मौका पाउँदछन् र राष्ट्रियता झन कमजोर हुन्छ । त्यसैले ओलीले बुझ्नुपर्ने कुरा के हो भने सबै नेपालीलाई हक अधिकार सहित एकताबद्ध गर्दै, राष्ट्रिय पहिचानमा जोड्न सकेमात्र राष्ट्रियता बलियो हुन्छ । जनतालाई दमन र निरंकुशता लाद्ने अनि म राष्ट्रवादमा अडिग छु भन्नु आधारहिन राष्ट्रवाद हो ।
त्यसमा जनताको पटक्कै साथ समर्थन हुदैन । जनताको साथ विना के.पी एक्लैले राष्ट्रियता जोगाउने कुरा हाँस्यास्पद छ ।सत्ता त्यतिबेला बलियो हुन्छ जतिबेला सम्म जनताको बलियो साथ रहन्छ । केपीको जनआधार खस्किसकेको थियो, फलस्वरुप उनको सरकार ढल्न पुग्यो ।
महाकाली नदी बेचेर सुटकेश भर्ने के.पी ओली कत्तिका राष्ट्रवादी छन्, त्यो पनि सबै नेपालीले बुझेकै छन् । भारतको पुजारी बनेर पार्टीमा लामो समय छेउमै बसे तर अब त के.पीको चेत खुल्यो होला भनि नेपाली जनताले एकपटक माफी दिएर प्रधानमन्त्री बनाए तर शैली त बदलिए छ त खोक्रो राष्ट्रवादमा । यसरी कहिले राजा पुज्ने, कहिले नदी बेच्ने, कहिले मधेसी लखेट्ने , कहिले पहाडी भट्काउने, सरकार आफ्नै पार्टीको मात्र दाइजो ठान्ने प्रवृत्तिले के.पी.ले राष्ट्रियता संकटमा पारे ।
राजनेताले बदलिँदो परिस्थिति बुझ्नुपर्दछ । द्धन्द्धात्मक भौतिकवाद के.पी.ओलीले सायद बुझ्न सकेनन् । मधेशीलाइृ दशगजामा बसेर ढुँगा हानेको मात्र सम्झे तर दशगजाकै बाँध भत्काएर लाठी, ढुँगा, मुढा खाएर ज्यानको बाजी थाप्दै राष्ट्रियता प्रतिको माया देखाएको बुझेनन् । भारतलाई गाली गरेर आफुलाइ राष्ट्रवादी देखाउन खोज्ने ओलीको भ्रम धेरै टिकेन । ओलीको सक्कली अनुहार जनताले प्रष्ट देखे ।
३. कम्युनिष्ट दर्शन विरोधी र संविधान विरोधी बजेट ः
हामी सबैलाई थाहै छ, नयाँ संविधानको मूल मर्म, हरेक नेपालीलाई आत्मनिर्भर बनाउने हो । त्यसो हुनलाई त्यहि खालको बजेट र योजना चाहिन्छ । तर के.पी ओली नेतृत्वको सरकारले छरपष्ट, योजना विहिन बजेट सत्ता सहयात्री माओवादीको सल्लाह र योजना विपरित पेलेर एकलौटी ढंगबाट ल्याएर संविधान विरोधी काम गरेको छ । यो बजेट उत्पादनमुखि पटक्कै छैन । “खाउ र सिध्याऊ” सिद्धान्तमा यो बजेट आएको छ ।
सरकारले हेक्का राख्नुपर्ने कुरा के हो भने कर्मचारीको तलब बढाउँदैमा सबै नेपाली आत्मनिर्भर हुदैनन् । देशको आर्थिक वृद्धिद्धर बढ्दैन । यता कर्मचारीको तलब २५ प्रतिशत बढाउने उता ३० प्रतिशत महंगी बढाउने सरकारको बजेट अर्थहिन छ । नारामा मात्र लोकप्रिय छ, कर्णप्रिय छ, व्यवहारमा अर्थहिन छ ।
त्यसो त कर्मचारीको तलब यथावत राख्दै ७ वटै प्रदेशमा उद्योग, कलकारखाना, विद्युत उत्पादन जस्ता कुरालाई प्राथमिकता दिने र महँगी घटाउने मात्र गरेको भए संविधान संवद यो बजेट अर्थपूर्ण हुन्थ्यो । र सबै नेपाली आर्थिक वृद्धि र आत्मनिर्भरको बाटोमा अगाडी बढ्ने निश्चित थियो ।
फलस्वरुप नेपाली जनताले आफ्नै देशमा रोजगारी पनि पाउने देखिन्थ्यो । सत्ता सहयात्री माओवादीले देशमा हाइड्रोपावरमा लगानी बढाउने बजेट ल्याउनुपर्दछ भन्दा ओली तर्सिएर एकलौटी ढंगबाट छरपष्ट संविधान विरोधी बजेट ल्याए ।
अर्को दृष्टिकोणबाट हेर्दा कम्युनिष्ट दर्शनमा सबैभन्दा तल्लो वर्ग, जो गिट्टी कुटेर पेट पाल्छ, दिनभरी श्रम गरेर पनि एक छाक पेट भर्न गाह्रो पर्दछ लाई प्राथमिकता दिइन्छ । तर त्यो वर्गको वेवास्ता गर्दै, हुनेखाने पुजीपति वर्गलाई आधार मानेर ल्याइएको यो बजेटले श्रमजीवि वर्गलाई कत्ति पनि छोएका देखिदैन बरु श्रमजीवि वर्गलाई महंगीको मार थपेको छ । त्यसैले यो बजेट कम्युनिष्ट दर्शन विरोधी छ, संविधान विरोधी छ ।
श्रमजीविवर्गले यो ओली सरकार लाई साथ दिने कुनै आधार थिएन, फलस्वरुप ओली सरकार सत्ता च्यूत हुनपुगेको हो । ओली सरकारको बजेटलाई तलको स्तम्भचित्रले प्रष्ट पार्दछ ।
(नोट ः यो स्तम्भ चित्रले के प्रष्ट पार्दछ भने ओली सरकारको बजेटले श्रमजीविवर्गलाई शिक्षा, स्वास्थ्य, रोजगारी त कता हो कता बरु भोकै मार्ने निश्चित छ । )
४. आधार विहिन कल्पना गर्नु (कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर)
लाखौं युवा पिढी विदेशतिर छ । देशमा रोजगारीको संभावना छैन । श्रमजीवि जनता रोडमा छन् । जनताको शिक्षा, स्वास्थ्य, गाँस, बास , कपासको ग्यारेन्टी संविधानले गरेपनि व्यवहारत लागु गर्न कठीन छ । त्यसैले देशभित्र रोजगारीको संभावना र देश विकास गर्न मूलभूत रुपमा तलका ४ वटा कुरा महत्वपूर्णं छन् ।
१) द्धन्द्धकालिन मुद्धा समाधान गर्नु ।
२) भुकम्पपिडितलाई व्यवस्थित गर्नु ।
३) पुनर्निमाण गर्नु ।
४) संविधान कार्यान्वयन गर्नु ।
तर ओली सरकारले यी कुनै पनि कुरामा प्राथमिकताका साथ कार्ययोजना नबनाई हावाबाट बिजुली, निकाल्ने, समुन्द्रमा नेपाली झण्डा अंकित पानीजहाज चलाउने, पाइपबाट घरघरमा ग्याँस पठाउने भन्ने उल्टो बाटो हिडेर, जनताबाट विश्वास टुटाउँदै गयो । ठोस वस्तुको ठोस विश्लेषण गर्न सकेन ।
जनताका कुन कुुरालाई पहिले प्राथमिकता दिने र कुन कुरालाई त्यसपछि प्राथमिकता दिने, प्रष्ट कार्ययोजना नल्याई कल्पनामा डुबेर जनताका समस्या समाधान नगरेर, देशको विकास र निकास नदिएर ओली सरकार रुमलिरह्यो, फलस्वरुप सत्ता च्यूत भयो ।
तसर्थ ओली सरकार आफैं जनताबाट टाढिंदै सत्ताच्यूत भए जस्तै प्रचण्डको सरकार नबनोस् ।
मधेशी, थरुहट र जनजातीलाई शुरुवातमा नै विश्वासमा लिनुले यो सरकार जिम्मेवार भएको आभास जनतामा भएको छ । यो सरकारले राष्ट्रिय एकता कायम गरोस्, भुकम्प पिडितलाई व्यवस्थापन गरोस्, द्धत्द्धकालिन मुद्धा समाधान गरोस्, पुनर्निमाण गरोस्, संविधान कार्यान्वयन गरोस्, श्रमजिवी जनतालाई, गिट्टी कुट्नेलाई पहिलो प्राथमिकतामा राखेर योजना बनाओस्, देशमा रोजगारी श्रृजना गरोस्, लाखौं नेपालीका छोराछोरीहरुलाई खाडीमुलुकबाट घर फर्कने वातावरण तयार पारोस् ।
यो सरकार जनताको सरकार बनोस्, शुभकामना छ । प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ज्यू यसरी दश वर्षे जनयुद्धको नेतृत्व गर्दै आजको राजनीतिक मोडमा आइपुग्दा तपाइ नेपाली जनताको आशा र भरोसाको केन्द्रविन्दुमात्र हैन, विश्वभरिकै सर्वहारा श्रमजीवि जनताको आशा र भरोसाको केन्द्रविन्दु बन्नु भएको छ ।
सम्पूर्ण नेपाली जनताका तर्फबाट बधाई छ ! पुष्पकमल दहाल प्रचण्डज्यू, तपाइलाई ! इतिहासमा गणतन्त्र नेपाल स्थापना गर्नु भयो । अब देशविकासमा डटेर लाग्नुहोस् । नेपाली जनता तपाइको साथमा छन् ।
(लेखक ने.क.पा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् )