पहिले स्थानीय तहको निर्वाचन – एमाले
सुर्खेत, माघ १६ ।नेकपा एमालेले पहिले तीन वटै तहका निर्वाचन गरेपछि मात्रै अन्य विषयहरुमा प्रवेश गर्ने जनाएको छ । एमालेका केन्द्रीय नेताहरुले यहाँको वीरेन्द्रनगरमा आयोजना गरिएको प्रदेश न. ६ स्तरीय प्रचार भेलामा पार्टीको धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथी रहेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले अहिले संविधान संशोधन गर्ने समय नभएको बताए । नेकपा एमाले केन्द्रीय प्रचार विभाग र प्रेस चौतारी नेपालको आयोजनामा भएको कार्यक्रममा उनले तीन वटै तहको निर्वाचनपछि संविधानप्रति जनताका धारणालाई बुझेर मात्रै संशोधन गर्नुपर्ने बताए । यो प्रदेशका पार्टीका इन्चार्ज समेत रहेका उनले पहिले चुनावमा गएर जनताको मत बुझेपछि मात्रै एमालेले पनि कुन ठाउँमा संशोधन गर्ने भन्ने विषयमा धारणा राख्ने बताए ।
उपाध्यक्ष ज्ञवालीले यो देशको राजनीतिक डाक्टर नेकपा एमाले मात्रै भएको भन्दै अब रोगको पहिचान गरिसकेको भन्दै उपचारमा लाग्ने बताए । अहिलेको अवस जटिल रहेको भन्द्यै उनले त्यो जटिल अवस्थालाई सामान्यतर्फ लैजान एमालेले मात्रै गर्ने दावी गरे ।
यसैबीच अर्काे प्र्रसंगमा उनले कुनै एक व्यक्तिको पुजा गर्नका लागि पत्रकारिता नभएको भन्दै उनले साँचो माक्सवादी भएर कलम चलाउन एमालेका पत्रकारलाई आग्रह गरे । एमालेका पत्रकारहरुका अगाडि कडा रुपले प्रस्तुत भएका उनले पत्रकारितामा अनुशासन र त्याग हुनुपर्ने जिकीर गरे । पछिल्लो समय पत्रकारिता क्षेत्रलाई अयोग्य व्यक्तिहरुको पेशा भनेर बुझिरहेको अवस्थामा ज्ञवालीले अब योग्य मान्छे पत्रकार भएर देश चलाउनुपर्ने बताए ।
कार्यक्रममा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थानीय तहको चुनावका लागि तत्काल मिति घोषणा गर्नुपर्नेमा जोड दिए । अबको निर्वाचनमा बहुमत ल्याउने एमालेको एक सुत्रे अभियान भएको भन्दै उनले अब एमालेलाई पहिलो पार्टी बनाउने बताए ।
कार्यक्रममा पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला, यामलाल कंडेल, केन्द्रीय सदस्य सूर्य थापा, प्रचार विभागका सचिव विष्णु रिजाल, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, पूर्व अध्यक्षहरु गगन विष्ट र राजेन्द्र अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतम लगायत प्रदेश नम्बर ६ अन्तर्गतका दशवटै जिल्लाका पार्टी प्रचार विभाग प्रमुख, प्रेस चौतारीका जिल्ला अध्यक्षहरु लगायत प्रेस चौतारी प्रदेश कमिटिका सबै सदस्यहरुको सहभागिता थियो ।