शिक्षक छनौट प्रक्रियाका कहालीलाग्दा कथाहरू
चाहे व्यक्तिगत जीवन बाँच्दा होस वा पेशागत जीवन, मानिसले चाहेर वा नचाहेर पनि विभिन्न कामहरू गर्नुपर्ने हुन्छ । कहिलेकाही त मानिसले जीवन जिउने क्रममा मुटुमाथि ढुङ्गा राख्दै नचाहेका कामहरूमा समेत हात हाल्ने गर्दछ । कतिपय अवस्थामा नूनको सोझोको लागि पनि नचाहेका कामहरू गर्ने गर्दछ मानिस । अन्तत ती कामहरूले पछि सम्म पनि पिरोलिरहन्छन् । कतै रमाइलो गरौं भन्दा पनि उक्त कामको सम्झना भयो भने रमाइलो महसुस हुदैन । सुत्ने समय भयो भनेर ओछ्यानमा गयो भने पनि निद्राले पछ्याउदैन ।
खाने समय भयो भनेर भान्सामा गयो भने पनि त्यो कुराको सम्झना भयो भने मीठो खानाको स्वाद पनि के कस्तो हो थाहै हुदैन । जीवन होसमा छ वा बेहोसीमा थाहै नपाइ त्यस्ता मानिसहरूको जीवन आफ्नै किसिमले ढल्किरहेको हुन्छ । यात्राको क्रममा मेरो एकजना सहकर्मी मित्रले यस्तै कुराको उठान गरेर न त यात्राभरि उनी नै रमाउन सकेन त मलाई नै रमाउन दिए । जीवन ढल्किए झै यात्रा पनि ढल्किदै गयो तथापि रमाइलो अनुभूति हुन सकेन ।
उनले यात्राभरि पछुतोले पिरोलिदै प्रसङ्गलाई पटक पटक दोहो¥याइरहदा मलाइ पनि पछुतोको भारी बोकेर यात्रा गरे झै महसुस भयो । सहकर्मी मित्रको भनाइ अनुसार, विद्यालय निरीक्षकको हैसियतले आफू सुर्खेतको एउटा विद्यालयमा करार शिक्षक छनौट गर्न जाँदा विद्यालय व्यवस्थापन समितिले अन्य दुई जना विशेषज्ञहरूलाई पनि बोलाएको थियो । सहमतिमै ती विशेषज्ञहरूले अलगअलग सेट प्रश्नपत्र निर्माण गरे । विडम्बना के भयो भने उनीहरूले अलग अलग प्रश्नपत्र बनाए पनि प्रश्नहरू भने एकैनासका भए ।
फरक यत्ति देखिन्थ्यो कि प्रश्नका क्रमहरू तलमाथि बनाइएको थियो । विद्यालय निरीक्षकलाई त्यहिबाटै उनिहरूप्रति शंका लाग्न थाल्यो । तथापि केही गर्न सकेनन् वा गर्न चाहेनन् पनि । आफ्नो हाकिमलाई सोधनी गर्दा निहु खोजेर तनाव व्यहोर्ने काममा नलाग्दै राम्रो होला भन्ने आसय बुझे । अन्ततः लिखित परीक्षाको नतीजा निकालियो । एकजना महिलाले अरू भन्दा धेरै फरक पारी उत्कृष्ठ अङ्क ल्याएर लिखित परीक्षा पास गरिन ।
अन्तर्वाता लिदा भने विद्यालय निरीक्षक मित्रलाई जानकारी भयो कि उक्त महिला त अरू भन्दा कमजोर रहिछिन् । अन्तीममा सवै अङ्क जोड्दा उक्त कमजोर महिला नै उत्तीर्ण भइन् भने अरू राम्रा भएपनि अनुत्तीर्ण भए । यसरी दुवै विशेषज्ञहरूले एउटा उम्मेदवारलाई उत्तीर्ण गराउन अनावश्यक हरकत गरेको जानकारी हुँदाहुदै पनि आफूले केही गर्न नसकेकोमा मेरा मित्रलाई आत्मग्लानी भयो र उक्त आत्मग्लानीको घाउ अहिले पनि बल्झिरहेको छ ।
कारण के भएछ भन्दा विशेषज्ञहरूले आफूले चाहेको उम्मेदवारलाई बस्तुगत परीक्षाको यति नम्बरको ठीक विकल्प यति नम्बर भनेर घोकाएका रहेछन् । विद्यालय निरीक्षकले उक्त क्रमलाई तलमाथि बनाइदिएपछि विशेषज्ञहरूले चाहेको उम्मेदवारले बस्तुगत परीक्षाको बीस पूर्णाङ्कमा तीन–चार ल्याउन पनि सकेनछ । अरूले उसलाई उछिनेछन् । पास गराउने भनेर उसँग आर्थिक लेनदेन पनि भइसकेको रहेछ । त्यो सबै योजना असफल भएपछि विशेषज्ञहरू र तिनक ा मतियारहरूले विद्यालय निरीक्षकले आर्थिक चलखेल ग¥यो भनेर आरोप पनि लगाए । अन्तत ती सवै झुटो सावित भए र एउटा गतिलो उम्मेदवार उत्तीर्ण हुन सफल भयो । विशेषज्ञहरूबाट करार शिक्षक छनौटमा निष्पक्ष व्यवहार नभएपछि बर्दियाले नै विशेषज्ञ छनौट गर्दा गोला प्रथाबाट गर्ने कुरालाई अघि बढायो । यसै क्रममा एउटा स्कूलको करार शिक्षकको छनौट गर्नका लागि गोला प्रथाबाट विशेषज्ञहरू छनौट गरिए ।
छनौट भएका विशेषज्ञहरूलाई विद्यालय निरीक्षकले स्रोतकेन्द्रमा आमन्त्र ण गर े । विशेषज्ञहरूको घरबाट स्रोतकेन्द्रमा बाइकमा आउदा ५ मिनेट पनि नलाग्ने दूरी थियो । तथापि उनीहरू २ घण्टा ढिलो गरी आए । यो बीचमा दुवै विशेषज्ञले कुनै निश्चित उम्मेदवारसँग आर्थिक प्रलोभनमा परी परीक्षामा सोधिने प्रश्नहरू फोनबाटै टिपाइदिए । अन्तत परीक्षा भयो । विद्यालय निरीक्षक, सम्बन्धित विद्यालयको प्र.अ. र विव्यस अध्यक्ष जिल्ल परे । सबैले राम्रो भनेको उम्मेदवार भन्दा कमजोर उम्मेदवारले बाजी मार्न सफल भयो । विद्यालय निरीक्षक लगायतकाले नतीजा प्रकाशन भएपछि बुझे कि ढिला गरेको दुई घण्टामा बस्तुगत लगायत विषयगत प्रश्नहरू आउट गर्ने काम भएछ ।
यो पंक्तिकारले उल्लिखित दृष्टान्तहरू पस्कनुको अर्थ हामीले शिक्षामा अरू काम जे जस्तो गरेपनि शिक्षा र विद्यालयका लागि मियोको रूपमा काम गर्ने शिक्षकलाइ गतिलो किसिमबाट छनौट गर्नका लागि हाम्रा प्रयासहरू त्यति गतिला भएनन् कि भन्नेतिर सवैको ध्यान आकर्षित गर्नु हो । अन्य देशका अभ्यासहरू हेर्दा देशका क्रिम जनशक्तिलाई शिक्षण पेशामा प्रवेश गराउनका लागि आवश्यक व्यवस्था गरिएको पाइन्छ । शैक्षिक हिसावले विश्वमै उत्कृष्ठ देशको रूपमा नाम कमाएको फिनल्याण्डले विश्वविद्यालयबाट उत्कृष्ठ हुने गोल्ड मेडलिष्टहरूलाई शिक्षण पेशामा सोझै नियुक्ति गर्ने प्रवन्ध मिलाएको छ । जापानले शिक्षण पेशामा लाग्नेहरूलाई अन्य पेशामा भन्दा तीस प्रतिसत थप सुविधा दिने गरी राम्रा व्यक्तिहरूलाई शिक्षण पेशामा आकर्षित गर्ने प्रयास गरेको छ ।
विकसित देशहरूको शिक्षाप्रतिको यस प्रकारको चासो र प्राथमिकता देख्दा हामी त उनिहरू समान हुन सयौं वर्ष पर्खनु पर्छ जस्तो लाग्छ । हाम्रोमा शिक्षण पेशालाई मर्यादित हुन नदिनुमा अरू भन्दा शिक्षकहरूको नै बढि चलखेल हो कि जस्तो पनि लाग्छ । करार शिक्षकको नियुक्तिमा विशेषज्ञको भूमिका निर्वाह गर्नेहरू पनि शिक्षकहरू नै हुन्छन् । उनिहरूलाई नै करार शिक्षकको छनौट गर्नका लागि जिम्मेवारी सुम्पिदा देशले अगतिला मान्छेहरूलाई शिक्षकका नियुक्ति गर्न बाध्य छ । गाउ र टोलभरि शैक्षिक बेरोजगारहरू छन् तथापि विद्यालयमा करार शिक्षकको लागि विज्ञापन भयो भने दुई–चार वटा भन्दा बढि दरखास्त पर्दैनन् । सवैलाई के स्पष्ट छ भने त्यो पद कुनै प्रतिभावान र जेहेन्दार मानिसका निम्ति भन्दा पनि कुनै निश्चित फलानाका निम्ति हो ।
कतै शिक्षक पद खालि भयो भने जिल्ला शिक्षा कार्यालयले कुनै शिक्षकलाई सरूवा गरेर लैजानोस भन्दा पहिले देखि काम गरिरहेको त्यहीको एकजनालाई राख्ने सल्लाह भएको छ भनेर लाजै नमानी भन्छन् कतिपय विद्यालयका प्र.अ., विव्यस अध्यक्ष र अन्य यस्तैका हिमायतीहरू । परीक्षा कहिले हुने हो थाहा नभए पनि नतीजा भने पहिल्यै घोषणा गरेर बसेका हुन्छन् मानिसहरू । पूर्व घोषित नतीजालाई कसरी व्यवस्थापन गर्छन होला विशेषज्ञहरू ? गतिलालाई फेल गराएर अगतिलालाई उत्तीर्ण गराउँदा मेरो सहकर्मी विद्यालय निरीक्षकलाई झै िविशेषज्ञहरूको दिल दुख्छ होला कि दुख्दैन होला ? यस्तै नियतका विशेषज्ञहरू लोकसेवा आयोगतिर हुने भए कस्तो हुन्थ्यो होला, सार्वजनिक प्रशासनको हविगत ? करार शिक्षकको नियुक्तिको ताल यस्तो छ ।
शिक्षा मन्त्रालयको निर्देशन हुन्छ, कार्यरत शिक्षकहरूलाई सकेसम्म विस्थापित नहुने गरी स्थायी शिक्षकको पदस्थापनको प्रवन्ध मिलाउनू । शिक्षकहरूको माग हुने गर्दछ, कार्यरतहरूलाई प्रक्रिया पु¥याएर स्थायी गर । शिक्षक सेवा आयोगले कार्यतालिका बनाए र ला ेकसेवा आयोगले झै नियमित रूपमा विज्ञापन गर्न सकिरहेको छैन । यसै बीचमा शिक्षक महासङ्घले आक्रोस पोखेको छ – हामी शिक्षकलाई राजनीतिक दलको सदस्य हुनबाट बञ्चित नगरियोस् । शिक्षकहरूका अवधारणा र नियुक्तिको अवस्था एकातिर यस्ता छन् भने अर्कोतिर आदेशको भरमा व्यक्तिको नियुक्ति हुने क्षेत्रहरूभने आफूलाई राम्रो मानिसको खोजीमा समर्पित गरेका छन् ।
प्रहरी सेनामा समेत लिखित परीक्षामा न्यूनतम अङ्क ल्याउन नसकेका कारण विज्ञापित पदमा तोकिएको संख्या भन्दा कम व्यक्तिलाई उत्तीर्ण गरेर बाँकी संख्यामा नियुक्तिका लागि पुनः विज्ञापन गर्न थालिएको छ । संघसंस्थाहरूले समेत यो प्रक्रियालाई अनुसरण गरिरहेका छन् । देश निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने शिक्षा क्षेत्रमा भने विजोगको अवस्था छ । साँच्ची कहिले हुने होला यो बिजोगको अन्त ? अव त सङ्घीय राज्यमा माध्यमिक तह सम्मको शिक्षालाई स्थानीय तहको जिम्मामा सुम्पिने कुरा उठिरहेको छ ।
त्यतिबेला स्थानीय तहको शिक्षाको क्षेत्रमा आवश्यक पर्ने बजेटको केही अंश केन्द्र सरकारले पनि प्रदान गर्ने प्रावधान राख्छ होला । त्यतिबेला बजेट प्रदान गर्ने आधारहरूमा प्रदेशको शैक्षिक उपलब्धिलाई प्रमुख रूपमा लिइन्छ होला । कति विद्यार्थीहरूलाई सेवा प्रवाह गरिरहेको छ भन्ने कुरा पनि हेरिन्छ होला । उत्पादित जनशक्ति प्राविधिक÷अप्राविधिक एवम् रोजगार÷बेरोजगार के छ त्यो पनि हेरिन्छ होला । शिक्षक नियुक्ति गर्ने यो पारा र यो पद्धतिले निरन्तरता पाइरह्यो भने केन्द्रले बजेट प्रदान गर्दा खुम्चिनु पर्ने स्थिति अवश्य सिर्जना हुनेछ ।
त्यसैले मानवस्रोत जस्तो अरू स्रोतलाई समेत परिचालन गर्ने जीवन्त स्रोत उत्पादन गर्ने क्षेत्रमा आवश्यक पर्ने जनशक्तिलाई नियुक्ति गर्दा खेलाची र खेलबाड गर्ने कहालीलाग्दा कथाहरूको अन्त गर्ने हो कि ? अन्यथा विद्यार्थीहरू निजी क्षेत्रतिर लर्को लाग्दैछन् र सरकारी शिक्षण संस्थाहरू क्रमशः रित्तिदै छन् । यदि यही क्रम जारी रहने हो भने पेन्सन खाने शिक्षक त भेटिएलान तर वहालवाला शिक्षक भेट्न साँच्चिकै गाहे गाहे पर्छ होला । सवैलाई चेतना भया ।
लेखक सुर्खेतका जिल्ला शिक्षा अधिकारी हुन् । [email protected]