२०८१, २९ आश्विन मंगलवार

खस्किँदै कर्णालीको शैक्षिक गुणस्तर

सुर्खेत: वार्षिक परीक्षा सञ्चालन हुने बेलासम्म पुरै सेट किताब नपाउने कर्णालीमा वर्षेनी शैक्षिक गुणस्तर खस्किँदै गइरहेको छ । विगत तीन वर्षको माध्यमिक परीक्षा (एसईई)को नतिजा हेर्दा प्रदेशको शैक्षिक गुणस्तर खस्किँदै गएको देखिन्छ । असार १३ मा सार्वजनिक भएको २०८० को एसईई नतिजामा सबैभन्दा कमजोर नतिजा कर्णालीको रह्यो । परीक्षा दिएकामध्ये आधाभन्दा बढी विद्यार्थीहरू अनुत्तीर्ण हुन पुगे ।

२०८० को एसईई परीक्षामा प्रदेशका ३५ हजार ३४ जना विद्यार्थी सहभागी थिए । जसमा आधा भन्दा बढी अर्थात् २० हजार ३८० जना विद्यार्थी अनुत्तीर्ण भए । १४ हजार ६५४ विद्यार्थी मात्रै उत्तीर्ण भए । अन्य प्रदेशको तुलनामा यो नतिजा निकै कमजोर हो । त्यसमा पनि उच्च जिपिए ल्याउने कर्णालीका विद्यार्थी संख्या न्यून छ । उच्च जिपिए ३.६०–४.० ल्याउने कर्णालीका विद्यार्थी ४४१ मात्रै छन् । उच्च जिपिए ल्याउनेमा बागमतीमा १५ हजार ७६६, कोशी प्रदेशमा तीन हजार ९९६, मधेसमा तीन हजार ९५७, गण्डकीमा दुई हजार ९६९, लुम्बिनीमा तीन हजार २९० र सुदूरपश्चिममा ७९० विद्यार्थीले उच्च जिपिए ल्याएका छन् । उक्त तथ्याङ्कले कर्णालीमा शिक्षाको गुणस्तर निकै कमजोर रहेको देखाउँछ । यसअघिका नतिजाहरू हेर्दा पनि कर्णालीको अवस्था कमजोर नै रहेको छ ।

२०७८ को एसईई नतिजा अनुसार प्रदेशका ११४ र ०७९ मा २४० विद्यार्थीले मात्रै ३.६० देखि ४ जिपिए ल्याएका थिए । २०८० मा विगत दुई वर्षको उच्च जिपिए ल्याउन विद्यार्थीको संख्या बढे तापनि समग्रमा प्रदेशको नतिजा विगतभन्दा कमजोर रहेको देखिन्छ ।

यस्तै उत्कृष्ट ४ जिपिए ल्याउनेमा पनि कर्णाली सबै प्रदेश भन्दा कमजोर छ । कर्णालीबाट एक जना विद्यार्थीले मात्रै ४ जिपिए ल्याई प्रदेश टपर बने । उनी वीरेन्द्रनगरको लाटीकोइलीस्थित मेरिडियन एकेडेमीका विद्यार्थी दिनेश शर्मा हुन् । उनी ४ जीपिए ल्याउने कर्णालीको एक मात्र विद्यार्थी हुन् । उक्त विद्यालय निजी हो । कर्णालीका कुनै पनि सामुदायिक विद्यालयमा पढेका विद्यार्थीहरूले ४ जिपिए ल्याउन सकेनन् ।

समग्रमा एसईई नतिजामा १०० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको उक्त निजी स्कुलले यसअघि पनि उत्कृष्ट नै नतिजा प्राप्त गर्ने गरेको थियो । कर्णालीले विगत वर्षबाट पाठ सिक्दै गुणस्तरमा सुधार ल्याउनुको साटो झन् शिक्षाको अवस्था झन् कमजोर हुँदै भएको शिक्षा सम्बन्धीका सरोकारवालाहरू बताउँछन् । शिक्षा विकास निर्देशनालयकर्णाली प्रदेशको तथ्याङ्क अनुसार कर्णालीमा तीन हजार २३३ वटा विद्यालयहरू छन् । त्यसमा ९२ प्रतिशत अर्थात् दुई हजार ९८३ वटा सामुदायिक विद्यालयहरू रहेका छन् भने ८ प्रतिशत अर्थात् २५० वटा निजी (बोर्डिब) स्कुल रहेका छन् ।

२०८० को नतिजा अनुसार उत्तीर्ण हुनेमा धेरै निजी स्कुलका विद्यार्थी छन् । कतिपय निजी स्कुलले १०० प्रतिशत नतिजा ल्याएका छन् । उदाहरणका लागि वीरेन्द्रनगरको भ्याली मेरिडियन एकेडेमी स्कुलबाट परीक्षा दिएका सबै विद्यार्थीले राम्रो जिपिए ल्याएर उत्तीर्ण गरे । यद्यपि कर्णालीका कुनै पनि सामुदायिक विद्यालयको नतिजा १०० प्रतिशत छैन । सरकारीमा कर्णाली प्रदेशकै उत्कृष्ट मानिएको वीरेन्द्रनगर स्थित जन माविले जम्मा ७७.३३ प्रतिशत मात्रै विद्यार्थी पास गराउन सफल भयो । राजधानी वीरेन्द्रनगरका केही सामुदायिक विद्यालयको नतिजा राम्रै भएपनि
बाहिरका धेरै विद्यालयको नतिजा कमजोर रहेको छ । जिल्लागत विवरण हेर्दा रुकुम पश्चिमबाट परीक्षा दिएकामध्ये ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । दोस्रोमा जाजरकोटका ५५, जुम्लाका ५१, सल्यानका ४९, हुम्लाका ४८, डोल्पाका ४५, मुगुका ४२, क ालिक ोटका ३६ प्रतिशत विद्यार्थीहरू पास भएका छन् । समग्रमा कमजोर नतिजा सुर्खेत र दैलेखको क्रमशः ३४ र १७ प्रतिशत विद्यार्थीहरू मात्रै पास भएका छन् ।

उल्लेखित तथ्याङ्क हेर्दा शिक्षाको सहज पहुँच भएका जिल्लाहरूकै नतिजा पनि निकै कमजोर देखिएको छ । शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार विशेष गरी गणित, विज्ञान र अङ्ग्रेजीमा विद्यार्थीको नतिजा कमजोर छ ।

मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको बुझाइमा कर्णालीको शैक्षिक गुणस्तर कमजोर हुनुमा पहिलो कारण दुर्गमता, गरिबी हो । त्यो सँगै विद्यालयमा हुने राजनीतिकरण, नपढाएर नै तलब बुझ्ने शिक्षक र राज्यको कमजोर लगानी हुनुलाई नै उनी दोष दिन्छन् ।