२०८१, ३० आश्विन बुधबार

योग र स्वास्थ्य :सम्पादकिय

सम्पादकिय: योग निकै व्यापक विषय हो । प्राचीन समयमा हठयोग, तन्त्रयोग, मन्त्रयोग, राजयोग, कर्मयोग, ज्ञानयोग जस्ता विभिन्न योग प्रमुख रुपमा रहेको सुनिन्छ भने वर्तमान समयमा विश्वभर यिनैबाट विकसित गरिएका भावातित ध्यान, विपश्यना ध्यान, सुदर्शन क्रिया, अष्टाङ्ग योग, कुण्डलिनि योग जस्ता अनेकौं विधिहरुको बृहत् अनुसन्धान तथा उपयोग भइरहेको छ । योगको सोझो अर्थ जोड्नु पनि हो । योगको क्रियाले मानवीय चेतनालाई यसका अनेक आयामसँग जोड्न सक्छ । योगका माध्यमबाट व्यक्ति शारीरिक र मानसिकरुपमा स्वस्थ हुन मद्दत पुग्छ । विश्व स्वास्थ्य संगठनले पनि भनेको छ कि स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिकरुपमा स्वस्थ हुनु हो । यो सबैको प्राप्तिको आधार योगलाई लिन
सकिन्छ ।

वर्तमान समयमा बदलिँदो जीवनशैली, खानपान, तनाव, कुलत का कारण विभिन्न नसर्ने रोग निकै बढेको छ । ती रोगहरुबाट बच्न जीवनशैली परिवर्तनको कुरामा विशेष जोड दिने गरिएको पनि छ । गलत कुरा थाहा हुँदाहुँदै पनि मान्छे किन त्यसबाट मुक्त हुन सकिरहेको छैन भन्ने कुरा मनन गरेर जीवनशैली परिवर्तन गर्ने अर्को प्रभावकारी तरिका अपनाउन प्रेरित गर्नैपर्ने भएको छ । त्यस्तो प्रभावकारी तरिका योग हुने कुरामा शंका छैन । किनभने योगले मान्छेको सोच बदल्न सहयोग पु¥याउँछ ।

अधिकांश नसर्ने रोगका कारणहरुमा असन्तुलित खानपान, व्यायामको कमी, तनाव, कुलत जस्ता कुराहरु पर्दछन् । योगले सन्तुलित जीवन जीउन सिकाउने भएकाले जीवनशैली फेरिनासाथ ती रोगहरु निको हुन्छन् । योग अभ्यासबाटै क्यान्सर, मधुमेह, माइग्रेन, वाथरोग, उच्च रक्तचाप, उच्च कोलेस्ट्रेरोल, दम, ढाड दुख्ने, मानसिक तनाव, डिप्रेशन, मोटोपन, अम्लपित्त, कब्जियत जस्ता नसर्ने रोग रोक्न तथा भइसकेपछि निर्मूल पार्न सहयोग गरेको अनुसन्धानहरुले पुष्टि गरिसकेका पनि छन् । मानव स्वास्थ्यमा प्रत्यक्षरुपमा सकारात्मक प्रभाव पार्ने योगलाई हरेक नागरिकको दैनिकीसँगजोड्न सकिए मात्र पनि ठूलो उपलब्धि हुनेछ ।