आज ६४ औ कुष्टरोग दिवस चालु आवमा १२ जना कुष्टरोगीको पहिचान
सुर्खेतमा चालु आर्थिक वर्ष २०७३÷७४ मा १२ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
समयमा नै कुष्ठरोगको उपचार गरौँ अपांगता हुनबाट बचौँ भन्ने मुल नारासहित भोली मनाउन लागिएको ६४औँ कुष्ठरोग दिवसको पुर्व सन्ध्यामा जिल्ला जनस्वास्थ्य कार्यालय कार्यालय र आईएनएफ सुर्खेतले आयोजना गरेको कार्यक्रममा यस्तो बताईएको हो । जनस्वास्थ्य कार्यालयका क्षय–कुष्ठ अधिकृत गणेशभक्त गौतमले अहिले जिल्लाभर ४२ जना कुष्ठरोगका बिरामी उपचाररत रहेको बताए ।
त्यसमध्ये सल्यान र जुम्लाका एक÷एक जना रहेको उहाँले जानकारी दिनुभयो । यसैबिच, कुष्ठरोग निवारण हुन बाँकी रहेका नेपालका १८ जिल्लालाई सरकारले सन् २०२० सम्म पूर्ण रुपले कुष्ठरोग निवारण गर्ने लक्ष्य राखेको छ । विश्वभर कुष्ठरोगीको सङ्ख्या सुस्त ढङ्गले घटिरहेको अवस्थामा सन् २०१० यता नेपालमा भने घटेको देखिँदैन जस्ले गर्दा सरकारले राखेको लक्ष्य पुरा हुनेमा चुनौति देखिएको पनि गौतमले बताए ।
नेपालमा विसं २०६५ मा कुष्ठरोगको निवारण भएको घोषणा गरिए पनि यसले सार्थकता भने पाउन नसकेको भन्दै उनले अहिले देशभर ३ हजार ५४ जना नयाँ बिरामी फेला परेको पनि जानकारी दिए । अहिले दुई हजार पाँच सय ५९ जना कुष्ठरोगका बिरामीको उपचार भइरहेको पनि गौतमको भनाई छ । देशभर करिब ३३ हजार व्यक्ति यस रोगबाट अपांगता भएको अनुमान गरिएको गौतमले जानकारी दिए ।
यस्तै, दिवसका अवसरमा भोली बिहान आईएनएफ सुर्खेतमा उपचाररत कुष्ठरोगका बिरामीहरुलाई फलफुल, उपहारलगायत सामग्री वितरण गरिने पनि उनले जानकारी दिए । अङ्ग्रेजी वर्ष जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवस मनाउने प्रचलन रहँदै आएको छ । दिवसका अवसरमा आज (आइतबार) बिरामीहरुलाई फलफूल वितरण गर्ने कार्यक्रम पनि रहेको छ ।