यसरी फाँसी दिइएको थियो चार शहीदलाई
राणा प्रधानमन्त्री जुद्ध शम्सेरको शासनकालमा नेपालमा राणा विरोधी आन्दोलनको शुरुवात भएको थियो । भारतमा ब्रिटिश राज कायम रहुन्जेल राणाशासकहरुले मित्रताको सम्बन्ध राखेकोले नेपालमा राणा विरोधी आन्दोलन त्यति सफल हुन सकेको थिएन । जुद्धको शासनकालको मध्यतिर १९९४ साल तिर भारतमा स्वतन्त्रताको आन्दोलन महात्मा गान्धीको नेतृत्वमा अगाडि बढ्न थालेको थियो ।
त्यसै ताका नेपालमा महावीर स्कूलको स्थापना भयो जसको उद्देश्य नेपाली विद्यार्थीहरुमा नागरिक अधिकार र प्रजातन्त्रबारे चेतना फैलाउने थियो । १९९७ सालमा यस स्कूलका शिक्षकहरु प्रजापरिषदसँग सम्बन्धित भएको आरोपमा गिरफ्तार भए । यसै ताका शुक्रराज शास्त्री, केदारमान व्यथित, मुरलीधर शर्माले नेपाली नागरिक अधिकार समिति स्थापना गरे । गीता र पुराण जस्ता धार्मिक पुस्तकहरुको माध्यमबाट जनचेतना फैलाउने र समाज सुधार गर्ने यसको उद्देश्य थियो । भागवत गीताबारे इन्द्रचोकमा प्रवचन दिएको आरोपमा शुक्रराज शास्त्री १९९७ मा गिरफ्तार भए ।
यसै ताका प्रजा परिषद् नामक राजनैतिक संगठनको स्थापना भयो जसको उद्देश्य नेपालमा राणाशासनको अन्त गर्ने थियो । यसका संस्थापक सदस्यहरु टंकप्रसाद आचार्य, दशरथ चन्द, रामहरि शर्मा र धर्मभक्त माथेमा थिए । यसले देशभरीका युवावर्गलाई राणाशासन अन्त गर्न आह्वान ग¥यो ।
नेपालका विभिन्न स्थानमा पर्चाबाजी गरियो । वाकपतिराज जोशीले यसबारे राणाहरुलाई बताइदिएपछि टंकप्रसाद आचार्य गिरफ्तार भए । राणाविरोधी क्रियाकलापमा राजा त्रिभुवनको पनि हात थियो । राजा त्रिभुवनको नारायणहिटी दरबारमा एउटा सिनेमा हल थियो । त्यहाँ प्रतिवर्ष तिहारको बेलामा राणाहरुले राजालाई रुपैयाँ राख्न जान्थे । प्रजापरिषदले गरेको षड्यन्त्रमा त्यही सिनेमा हललाई राजा त्रिभुवन बाहिर निस्केको समयमा बमले उडाउने थियो ।
१९९७ साल मा समातिएका ४३ व्यक्तिमध्ये तीनजनालाई मृत्युदण्ड दिइयो । १४ जनालाई आजीवन कारावासको सजाय दिइयो र २० जनालाई तीनदेखि आठ वर्षको कारावासको सजाय दिइउो ।
धर्मरत्न यमीले लेखेका छन्– ६ माघ १९९७ मा सिंहदरबारभित्रको फुटबल ग्राउन्डमा हुक्का तान्दै जुद्धले राजबन्दी उपर आफ्नो फैसला सुनाए । भारतमा गान्धीजीलाई भेट्न जाने दोष शुक्रराजलाई लाग्यो । ‘कीराले हीरा बिगार्न लागेको’ भनी राजा त्रिभुवनतिर हेरी उफ्रे । त्रिभुवनले सजाय सामान्य हुनपर्छ भने । सोमनाथ सिग्देलले सजाय शास्त्रोक्त हुनुपर्छ भने ।
शहिदहरुलाई मृत्युदण्ड
धर्मभक्त माथेमा राजा त्रिभुवनका व्यायाम शिक्षक थिए । उनलाई १९९७ माघ १२ गते पशुपतिको मन्दिर नजिक सिफलमा रुखमा झुन्ड्याई मारियो । उनका पिता आदिभक्तले जुद्धलाई पैसा जरुरत भएको बेला सापटीसमेत दिएका थिए भनि नरशम्सेरले लेखेका छन् । दशरथ चन्द र गंगाललाई तीन दिनपछि विष्णुमति नदीको किनारामा शोभाभगवतीमा गोली हानी मारियो । सुब्बा पुण्य नारायण प्रधानलाई पनि मृत्युदण्ड दिइने भएको थियो तर उनलाई पछि माफी दिइयो ।
शुक्रराज शास्त्रीलाई ६ वर्षको निमित्त कारागारमा राखिएको थियो । उनलाई १९९७ माघ १० गते टेकुको रुखमा फाँसी दिइयो । शुक्रराज शास्त्री प्रजापरिषद्को क्रियाकलापसँग सम्बन्धित थिएनन् । उनले सामाजिक सुधार र नागरिक सुधारको निमित्त जनसमर्थन लिन आन्दोलन गरेका थिए । हृषिकेश शाहको भनाई छ कि शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिनु जुद्धको शासनकालको सबभन्दा कालो धब्बा थियो र इतिसासमा नै उनको छवि सँधैका लागि नराम्रो पारिदियो ।
भुवनलाल प्रधानले ‘शुक्ररा प्रजापरिषद्को सदस्य नै थिएनन्’ भन्ने बारेको टिप्पणीलाई संकुचित र एकतर्फी मानेका छन् । उनको विचारमा राणा युगमा नै महात्मा गान्धीसँग भेट्नु र जुद्धले ‘यी सबैका नाइके तँ होस्’ भनेकाले र ज्यान सजाय पाउने व्यत्तिहरुमध्ये पहिलो शुक्रराजकोे नाम रहेकोले उनलाई राजनीतिक कारणले मृत्युदण्ड दिइएको हुनुपर्दछ । टंकप्रसाद आचार्य र रामहरि शर्मा भने बाहुन भएकाले मृत्युदण्डबाट बचे तर उनीहरुलाई मुडियो ।
जुद्धले शुक्रराज शास्त्रीलाई मृत्युदण्ड नदिई आजीवन काराबास दिने आफ्नो निर्णय नरशम्सेरलाई भनेका रहेछन् । पद्मशम्शेरले उनलार्इ मृत्युदण्ड दिनु हुँदैन भनी सिफारिस गर्दा जुद्धले त्यसै रिसले शुक्रराज शास्त्रीलाई झुन्ड्याइदिने हुुकुम दिए भन्ने नरशम्सेरको भनाई छ ।
आफूले तत्कालीन भारदारी सम्मको निर्णय बमोजिम र जुद्धको हुकुम बमोजिम मृत्युदण्डको सजाय कार्यान्वयन गर्नुपर्दा र मृत्युदण्डको सट्टा आजिवन काराबास या माफी दिलाउन नसकेकोमा पछुतो लाग्ने गरेको कुरा पनि उनल भनेका छन् । अहिले प्रत्येक वर्ष माघ १६ गते नेपालमा शहीद दिवस मनाइन्छ १९९७ साल माघमा सहादत पाएका यी चारजना शहीदको सम्झनामा
शहीदहरुले सहादत पाएको दस वर्षपछि नेपालबाट राणाशासन हटी प्रजातन्त्र आयो । शहिद गंगालका भाई पुष्पलाल नेपालमा कम्युनिष्ट पार्टीका संस्थापक बने ।
(राणा प्रधानमन्त्रीहरूको जीवनी नामक पुस्तकबाट)