२०८१, ६ कार्तिक मंगलवार

लहर चल्यो तीज भाकाको

श्रावण २०,

teejतीज आउन झन्डै डेढ महिना बाँकी रहे पनि यसको रौनक ह्वात्तै बढेको छ । रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालहरूमा तीज गीतको चर्चा चुलिन थालेको छ । तीजका कति गीत बजारमा आएका छन् भन्ने आधिकारिक रेकर्ड नभए पनि विभिन्न माध्यमबाट सयौँको संख्यामा तीज केन्द्रित गीत सार्वजनिक भैरहेका छन् ।

यसरी वर्षे च्याउझैं आएका गीतमार्फत आम्दानी गर्न अधिकांश कलाकार असफल भए पनि वर्षैपिच्छे तीज गीत रेकर्ड गर्ने क्रम भने बढ्दै गएको छ, जसमा रहरले तीज गीत तयार पार्नेहरू बढी छन् । यसमा चर्चामा आएर देश–विदेशका कार्यक्रममा सहभागी भै मनग्य आम्दानी गर्ने लक्ष्यले गीत निकाल्ने स्थापित कलाकारहरूको पनि कमी छैन । संस्कृतिको संरक्षण तथा तीजको मौलिकताको रक्षा गर्ने उद्देश्य राख्नेहरूले समेत तीजगीतलाई निरन्तरता दिई आएका छन्, तर यसरी तयार पारिएका अधिकांश गीत मिडिया तथा सामाजिक सञ्जालमा मात्र सीमित छन् ।

बजारमा एल्बमका रूपमा पुग्ने गीतको संख्या धेरै हुँदैन । गीत हेर्न र सुन्न एल्बम किन्ने क्रम प्रायस् ठप्पजस्तै भएकाले यस्तो अवस्था सिर्जना भएको हो ।यसपालिको तीज गीतमा पानी जहाज खरिद गर्ने, घर–घरमा ग्याँस पाइप जोड्नेदेखि नयाँ पार्टी खोल्ने कुरासम्म समेटिएको छ ।प्राज्ञसमेत रहेकी लोकगायिका हरिदेवी कोइराला रत्यौलीका भाका तीज गीतका रूपमा बजारमा आएको गुनासो गर्छिन् । ‘तीजका गीतले बाटो फेर्‍यो, आफ्नोपन र मौलीकता छैन,’ मिडियाले तीजको विशेषता नभएको गीतलाई प्राथमिकता दिन नहुने उनको आग्रह छ । कोइरालाले वि।सं। २०४५ सालदेखि निरन्तर तीजका गीत गाउँदै आएकी छिन् । उनका २५ भन्दा बढी तीज एल्बम सार्वजनिक भएका छिन् । हरिदेवीका गीतले सन्देशसँगै संस्कृतिको संरक्षणमा जोड दिन्छन् ।

यसपटक उनले ‘पहिलाको तीजमा दूध र घिउ थालमा, मोही पनि छैन है हाम्रा पालामा’ भन्दै महँगीसम्बन्धी गीत तयार पारेकी छन् । कोइरालाले लक्ष्मी गिरीको सहकार्यमा तीजको उमंग छायो बरिलै शीर्षकको चेतनामूलक गीत पनि तयार पारेकी छिन् । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालका संरक्षक प्रजापति पराजुली विकृति भनिएका गीतलाई दर्शक–श्रोताले साथ दिएकाले यस्तो अवस्था आएको बताउँछन् । केही गीतमा विकृति देखिए पनि कतिपय गीतले तीजको मौलिकताको रक्षा गरेको उनको तर्क छ ।

लोकदोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य तारापति सुवेदी रत्यौली गीतलाई तीज गीत भन्दै बजारमा ल्याउनु विडम्बना भएको बताउँछन् । यसले नयाँ तथा पुराना सबै कलाकारलाई असर पार्ने सुवेदीको तर्क छ । यता लोकदोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष शंकर विरही गुरुङ हाल आएका अधिकांश गीतमा विकृति देखिएको स्वीकार गर्छन् । स्रष्टाले परिवारका सबै सदस्यसँगै बसेर सुन्न र हेर्न सक्ने खालको छ कि छैन विचार गरेर मात्र गीत सार्वजनिक गर्नुपर्ने गुरुङ बताउँछन् ।

अर्का लोकदोहोरी गायक घनश्याम रिजाल विकृति भित्रिन नदिन स्वयं कलाकार सुध्रिनुपर्ने तर्क गर्छन् । लोकदोहोरी गीत प्रतिष्ठान कास्कीका अध्यक्ष प्रेमराज अधिकारी कुनै पनि निकायले सेन्सर गर्ने अधिकार नपाउँदासम्म यो अवस्था कायम रहने बताउँछन् । तीजको अवसर पारेर नेपालका अधिकांश ठाउँमा विभिन्न संघ–संस्थाले सांस्कृतिक कार्यक्रमहरू आयोजित गर्छन् । स्वदेश र विदेशमा हुने यस्ता कार्यक्रममा सहभागिता जनाउन केही कलाकारलाई भ्याइनभ्याइ हुन्छ ।

विगतको तुलनामा एल्बम बजारमा ल्याउँदाको लगानी बढे पनि प्रतिफल भने शून्य देखिन्छ । हाल एउटा गीतको रेकर्डिङदेखि म्युजिक भिडियोसम्म गरेर न्यूनतम एक लाखदेखि अधिकतम ५ लाखसम्म खर्च हुने कलाकारहरू बताउँछन् । यस्ता एल्बममा प्रायोजक तथा चन्दादातामार्फत सहयोग लिनेहरू धेरै हुन्छन् । कुनै समूहमार्फत रकम संकलन गरी संयुक्त एल्बम निकाल्नेहरू उत्तिकै हुने गरेका छन् ।