२०८१, १९ भाद्र बुधबार

१९ दिनमा ३ अर्बभन्दा बढी भुक्तानी

सुर्खेत:  जेठ महिनासम्म काम नगर्ने र आर्थिक वर्षको अन्तिम महिना असारमा बजेट खर्च गर्ने प्रवृत्ति कर्णालीमा यस वर्ष पनि दोहोरिएको छ ।

जेठ महिनासम्म बजेट खर्चमा ध्यान नदिएको सरकारले असार लागेसँगै भुक्तानीलाई तीब्रता दिएको हो । सरकारले असारमा मात्र झण्डै तीन अर्ब रकम भुक्तानी गरेको छ । प्रदेशको कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार पछिल्लो १९ दिनमा ८.९३ प्रतिशत अर्थात् २ अर्ब ९८ करोड ९५ लाख ४६ हजार ८७१.६१ रुपैयाँ खर्च भएको छ ।

जेठसम्म सरकारले मुस्किलले मासिक ३–४ प्रतिशतसम्म मात्रै बजेट खर्च गर्ने गरेको थियो । सरकारले चालु आर्थिक वर्षमा ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको वार्षिक बजेट ल्याएको थियो । असार १९ गतेसम्म कुल बजेटको ४६.८७ प्रतिशत अर्थात् १५ अर्ब ६५ करोड ३७ लाख ८९ हजार ४४६.४२ रुपैयाँ खर्च भएको छ ।

सरकारले बुधबारमात्रै ३५ करोड ३१ लाख ८५ हजार ६९८.४२ रुपैयाँ भुक्तानी गरेको देखिन्छ । जेठ मसान्तसम्म सरकारले १२ अर्ब ६६ करोड ४२ लाख ४२ हजार ५७४.८१ रुपैयाँ खर्च गरेको थियो । प्रदेश सरकारको खातामा अझै १७ अर्ब ७४ करोड ६८ लाख ७० हजार ५५३.५८ रुपैयाँ मौज्दात छ । लेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी ललित थापाका अनुसार यो वर्ष बढीमा ५५ प्रतिशतमात्रै बजेट कार्यान्वयन जाने अनुमान छ ।

असार २४ गते राति १२ बजेपछि चालु वर्षको कारोबार बन्द हुन्छ । त्यसबेलासम्म ५५ प्रतिशतसम्म बजेट खर्च हुने अनुमान उनको छ । यो भनेको गत आर्थिक वर्षको भन्दा निकै कम हो । गत वर्ष ६६ प्रतिशत बजेट कार्यान्वयनमा आएको थियो । बजेट कार्यान्वयन नहुनुका पछाडि चालु आर्थिक वर्ष टुक्रे योजना कार्यान्वयन नगर्ने निर्णय मुख्य मानिएको छ । ५७४ वटा टुक्रे योजना कार्यान्वयनमा गएनन् । यस्तै १ अर्ब रकमभन्दा बढी बजेट राखिएको कर्णाली समृद्धि परियोजना कार्यान्वयनमा जान नसकेको थापाले बताए । सरकार फेरबदलले पनि ठूलो असर पारेको थापा बताउँछन् ।

चालु वर्ष पुँजीगततर्फ १९ अर्ब ५७ करोड ४८ लाख ९ ५ हजा र र चालुतर्फ १३ अर्ब बराबरको वार्षिक बजेट थियो । असार १९ गतेसम्म पुँजीगत बजेट ज म्मा ३७.७७ प्रतिशत अर्थात् ७ अर्ब ३८ करोड ९० लाख ९६ हजार ८६२.६० रुपैयाँ कार्यान्वयनमा आएको छ । तर यही समयसम्म चालुतर्फ भने ८ अर्ब २६ करोड ४६ लाख ९२ हजार ५८३.८२ रुपैयाँ अर्थात् ५९.७३ प्रतिशत खर्च भएको छ ।