२०८१, २३ माघ बुधबार

गर्भ निरोधका साधन प्रयोग गर्ने बढ्दै, ९ महिनामा ७१ हजार कण्डम वितरण

condom-emoji-1200x600सुर्खेत । सुर्खेतमा गर्भ निरोधका साधनको प्रयोग गर्नेहरुको संख्या बढ्दै गएको पाइएको छ । गत एक वर्षको तुलनामा पछिल्लो वर्ष गर्भ निरोधका साधन प्रयोग गर्नेहरुको संख्यामा बुद्धि भएको हो ।

सुर्खेत जिल्लाको एक संस्थाका अनुसार अघिल्लो एक वर्षको भन्दा पछिल्लो ९ महिनाको गर्भ निरोधका साधन प्रयोग गर्नेहरुको संख्या बढी छ । एक वर्ष नपुग्दै अघिल्लो वर्ष भन्दा धेरैले गर्भ निरोधका साधनहरु लिएकोले बाँकी तीन महिनामा अझ यो संख्या बढ्ने देखिन्छ । नेपाल परिवार नियोजन संघ, सुर्खेत शाखाका अनुसार अघिल्लो वर्षको भन्दा यो वर्ष गर्भ निरोधका साधनहरुको प्रयोग गर्नेहरुको संख्यामा बृद्धि भएको हो ।

परिवार नियोजन संघ, सुर्खेत शाखाको तथ्याङक अनुसार पछिल्लो ९ महिनामा संघबाट ७१ हजार ८ सय ३५ वटा कण्डम वितरण भएका छन् भने २ हजार एक सय ३५ जनाले कण्डम लिएका छन् । जव कि अघिल्लो एक वर्षको अवधिमा जम्मा एक हजार ९ सय ३७ जनाले मात्रै कण्डम लिएको तथ्याङक छ । संघबाट गर्भ निरोधको अस्थायी साधनको रुपमा रहेको कण्डम मात्र नभई अन्य साधन पनि उतिकै मात्रामा वितरण भएको छ । यस्ता साधनहरु पुरुष भन्दा पनि महिलाहरुले नै बढी प्रयोग गर्ने गरेको पाइन्छ ।

यो वर्षको ९ महिनामा पिल्स २ हजार २ सय ३६ जनाले लिएको संघले जनाएको छ । उनीहरुले पाँच हजार तीन सय ३४ वटा चक्कि लिएको तथ्याङक छ । अघिल्लो एक वर्षमा पनि कण्डम भन्दा बढी पिल्स २ हजार एक सय २२ जनाले लिएको तथ्याङ छ । यस्तै यो ९ महिनामा डिपोप्रोभेरा सुई एक हजार २ सय ३७ जनाले २ हजार चार सय ८१, आईयूसिडी ७ जना र नरप्लान्ट ६ सय १९ जनाले लिएको संघले जनाएको छ । यस्तै ९ महिनाको अवधिमा ७ जनाले मिनिल्याप र २ सय १० जनाले भ्यासेक्टोमी गरेका छन् ।

यस अघिको एक वर्षमा डिपोप्रोभेरा सुई एक हजार चार सय १२ जना महिलाले लिएका छन्, यस्तै आइयूसिडी ७२ र नरप्लान्ट ७ सय ७७ जनाले लिएको कार्यालयले जनाएको छ । गत वर्ष तीन सय ३३ जनाले त सुरक्षित गर्भपतल गराएको शाखा कार्यालयका निमित्त प्रबन्धक शेखरप्रसाद धमलाले जानकारी दिए ।

कार्यालयका सिनियर स्टाफनर्स गंगा पुनका अनुसार हरेक महिना एमप्लान्टका लागि १५÷१६ जना, पिल्सका लागि २५÷३० जना र कण्डमका लागि हरेक महिना औषतमा ३ हजारको संख्यामा आउने गर्दछन ।

परिवार नियोजन संघको शाखा कार्यालयबाट मात्रै यति ठुलो मात्रामा गर्भ निरोधका साधनहरु वितरण भएको देखिन्छ । गर्भ निरोधका साधन अन्य स्वास्थ्य संस्थाहरुबाट पनि ठुलो मात्रामा विक्रि हुने गरेको छ । वास्तविक तथ्याङक नभएपनि जिल्लामा सञ्चालनमा आएका निजी क्लिनिकहरु र सरकारी स्वास्थ्य संस्थाहरुबाट पनि ठुलो मात्रामा गर्भ निरोधका साधनहरुको खपत हुने गेको छ ।