२०८१, १५ मंसिर शनिबार

” चिहान”

अप्सरा भियाँल

झस्किनु भयो होला हैन ? लेखको शिर्षक देखेर । तर यो पनि हुन सक्छ कतै तपाईं पनि एउटा जिउदो चिहान नै भएर बाँच्नु भएको ।
कोहि रहरका मुनाहरु निमोठिदा चिहान बन्न पुग्यौं , कोहि विवशताले गला रेट्दा चिहान बन्न पुग्यौं, कोहि अन्तर मनको युद्धसँग लड्दा लड्दा चिहान बन्न पुग्यौं त कोहि रोजगार माग्न जादा सरकारको तातो गोलि खाएर चिहान बन्न पुग्यौं । तर लाग्छ हामी एउटै चिहानका अलग जिउदो लास हौँ सायद । ती चिहान नै चिहानको एक खोल्सा हो कर्णाली ।

निलो कर्णालीमा धमिलिएका जनताका आँसु , बगरको ढुङ्गा जसरी असह्य चोट खपेका सर्वसाधारणको छाती अनि कर्णाली जत्तिको लामी आशाको त्यान्द्रो तन्काएर बगर किनारामा बसेका छौँ , एक बिकासको मुढा बगेर आउँछ कि भन्ने झिनो आशामा । परन्तु अर्को तिर देखिन्छ तुहिन चुडिदा स्कुले नानिबाबु भेलमा परेका, एक तिर देखिन्छ जिर्ण पुलको लट्ठा चुडिदा जनताको सरकारप्रती चुडिएको विश्वास, एक तिर देखिन्छ नुन बोकेको खच्चड कर्णालीमा खस्दा जनताको नुनिलो आँसु पग्लिएको, एक तिर देखिन्छ राज्य बाटै सौतेनी व्यबहार, एक तिर देखिन्छ कर्णाली कै अगुवाहरु चुनावको सपथग्रहण पछि आफ्नो धरातल बिर्सी जनताकै पसिना सोसि अघाएर बसेका, एक तिर देखिन्छन् चल्दै गरेका योजनाबिहिन डोजरहरु, एक तिर देखिन्छन् ताररहित गाढिएका खिया लागेका बिजुलीका खम्बाहरु, अर्को तिर देखिन्छ राजनीतिक अस्थिरता अनि सत्ता हात पार्ने होडमा कुर्सीको मोलमोलाइ गरिरहेका स्वघोषित राष्ट्रप्रेमीहरु।

जहाँ भोट कार्ड समयमै पुग्छ तर समयमै पाठ्यक्रम विर्द्यार्थीको हातमा पुग्दैन । जहाँ बाध्यताको पञ्जा भित्र बन्दी भएका खुसीहरु फिजाउन अनि सन्तानको सु-भविष्यको लागि सेतै फुलेका आमाबुबा ओटालाको डिलमा चुडिएको जमरा जसरी बेसहारा बस्न बाध्य छन् ।

यता बिरानो सहरको गल्लिहरुमा भौतारिएका छौँ छोराछोरी एक थान सर्टिफिकेट अनि एक जोर लुगा झोलामा बोकेर । गाउँमै उच्च शिक्षाको दुइचार वटा शिक्षालयको व्यवस्था भएको भए, रित्तिदैन थ्यो आमाको सुर्के थैली अनि बिरक्तिदैन थ्यो यो मन पनि ।

सरकार कोदालोले एक मुठी माटो उठाएर त हेर,जहाँ नेताको छोरिज्वाइ पुर्याउन पुग्ने हेलिकप्टरले कर्णालिको सुत्केरीले अन्तिम समयमै उद्धार नपाउदा गुमाएको ज्यानको अवशेष पाउने छस्
, समयमै पोलियो थोपा अनि सिटामल नपाउदा छट्पटीएर परान त्यागेको बालकको अस्थिर पाउने छस्, एउटा स्टिचर समेत नभइ बिरामी बोक्न काटिएको डोकोको पिध पाउने छस्। भ्रष्टाचारको चुकिला डकारले वाक्कदिक्क निमुखा जनता पाउने छस्।
सिर्फ राज्य भएको आभास गराइदे गाउँगाउँमा सिंहदरबार भन्ने कोरापानाको कालो अक्षर त सँगै राख् । चुहिने छानोमा सुर्तिको खोल राख्न नपरी घरबार चलाउने अवस्था सिर्जना गरिदे जनतालाई ।

हुन त कसले सुनिदिन्छ कहाँसम्म पुग्छ र एउटा फेसबुक वालमा कोरिएको बिलौना परन्तु मनको भट्कना पोख्ने जमर्को मात्रै ।