२०८१, ३१ भाद्र सोमबार

” ए पाउहरु”

✍️अप्सरा भियाँल

ए कोमल पाउहरु
तिमीलाई कस्तो छ?
गन्तव्य टाढा छ
यात्रा कठिन छ
कि थाक्यौ जस्तो छ,
भनेकै थिएँ नी सजिलो छैन जीवन यात्रा
कठिन मार्ग तिम्रै रोजाइ जो थ्यो
हेर त आँचलले घाउ ढाक्यौ जस्तो छ ।

काँढाहरुको घोचाइँले छिचिल्किएका
ए नाङ्गो पाउहरु,
रगतले लत्पतिएका
ए नाङ्गो पाउहरु,
तिमी बाधिएर नबस न
समस्याको साङ्लोमा,
चुडेर हिंड न
चुनौतीको जन्जिरहरुलाई ,
थापेर हिडिदेउ न
छोडिएका तिरहरुलाई!

तिमी नथाक न
म सँग सहारा लठ्ठी पनि छैन,
जीवनको गह्रुगो भारी छ ,
अझै तातो बालुवामा नधस्किदेउ न ए पाउहरु
तालुको नाम्लोले झटार्न लाग्यो,
हेर न यो मुन्टो बटार्न लाग्यो

नडगमगाउ न ए पैतलाहरु
आत्मविश्वासको लठ्ठी भाँचिन दिने छैन,
तिनै पैतलाका डोबहरुबाट
एकदिन टुसाउने छ उपलब्धिको टुसा,
नअकमका न ए धैर्यता
तेरो बिज नासिन दिनेछैन

रगतले लत्पतियौ ठिक छ ,
पिडाले छट्पटियौ ठिक छ ,
त्यही रगतले जीवनमा लाली भर्नु जो छ ,
त्यही तागतले जीवनको डाली भर्नु जो छ ,
बाध्यताको पन्जा भित्र बन्दी भएका खुसीहरु खोस्नु जो छ ,
आफैसँग सन्धी भएका सपनाहरु पूरा गर्नु जो छ ।

चिराचिरा परेका ए पाउहरु!
दरादरा परेका ए पैतलाहरु,
एकदिन
सफलताको सियोले सिलाउने छु तिम्रा घाउहरु,
शान्तिको मलमले सुम्सुम्याउने छु तिम्रा चित्कारहरु

शिथिल तर विलीन नभएका,
मुस्किन तर मलिन नभएका ,
अहोरात्र सफरमा घिस्रिरहेका पाउहरु
तिमीले तय गरेको मंजिल स्पर्श गर्नु ,
शुभकामना, शुभयात्रा तिमिलाई ।।