२०८१, २२ आश्विन मंगलवार

‘आई लभ यू’ सुन्न तीन वर्षको पर्खाइ !

रातको आठ बज्नै लागेको थियो । पुसको कठ्याङ्ग्रिँदो जाडो अनि लोडसेडिबले अँध्यारो काठमाडौँ सहरलाई तीन÷चार वर्षको लागि बाई–बाई गर्न ११ बजेको दुबई फ्लाइटको इन्तजार गर्दै थियो गुल्मेली कृष्णे अर्थात् म । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्न आउने आफन्तहरूको भिड नै थियो ।

सबै फोटो खिच्ने र रमाउने तथा फेसबुकको भित्ताभरि मेरो ‘शुभ यात्रा’को कामना गरिरहेका थिए । तर मेरो मनमा भने २८ वर्ष खर्चेर प्राप्त गरेको दुई थान स्नातकोत्तरको सर्टिफिकेट र पाँच वर्षको शैक्षिक अध्यापन अनुभवलाई थन्क्याएर बिदेसिनु परेको पीडा खेलिरहेको थियो र आँसु खसाउन मात्र सकिरहेको थिइनँ । जीवनका ऊर्जाशील समय काठमाडौँमा गरेका संघर्षहरूभन्दा दुई महिना गरेको होटेल वेटरको तालिमको प्रमाणपत्र र बाह्र हजार खर्चेर दुई दिनमा प्राप्त गरेको पासपोर्ट मेरो लागि महत्वपूर्ण बनेको थियो । ‘ढिलै भए पनि यसको बुद्धि पलायो, अब यसका पनि दिन फिर्ने भए, अलि अलि भए पनि कमाइ देखिने भो’ भन्दै आफन्तहरू गफिँदै गरेको सुन्दा आफ्नो योग्यताका प्रमाणपत्रमाथि खिल्ली उडाएको महसुस गर्दै म प्लेनभित्र छिरेँ ।

आकाशको करिब पाँच घण्टाको यात्रापछि दुबई एयरपोर्टमा पुगियो । एक जना झापाली साथी ‘राई माइलो’ मलाई लिन एयरपोर्टमा आइपुगेका थिए । म उनैको साथ ट्याक्सी चढेँ अनि करिब आधा घण्टाको यात्रापछि मैले काम गर्नुपर्ने रेस्टुरेन्टमा पुगेँ । भोलिदेखि काम सुरुगर्न म्यानेजरको हुकुम ग्रहण गर्दै उनै राई माइलासँग रुम सेयर गर्ने गरी रुममा प्रवेश पाएँ ।

कोठा व्यवस्थित थियो । कोठामा दुई वटा खाट थिए । खाना खाजा रेस्टुरेन्टमै हुने भनिए पनि एक थान किचनका सामान जडान गरिएका थिए । राति अबेर राई माइलाले मेरो लागि खानासहित कोठामा आइपुगे । मलाई खानाको बट्टा थमाउँदै मेरो बारेमा सबै कुरा जान्ने प्रयास गरे । मैले घर गाउँ, पारिवारिक, शैक्षिक, वैवाहिक अवस्था लगायतका आफ्नो बारेका संघर्ष सबै खाँदै बेलिबिस्तारगरेँ । राई माइलाले पनि सबै आफ्नोबारे बताए र कहानी पनि लगभग मेरोसँग मिल्दोजुल्दो नै रहेछ ।

म रेस्टुरेन्टमा काम गर्दै जाँदा आफैलाई हीनताबोध गरिरहेको थिएँ । सकेसम्म कुनै बहाना बनाएर नेपाल नै फर्कूँ भन्ने सोचिरहेको हुन्थेँ । दिन प्रतिदिन घर, गाउँ, बा, आमा र काठमाडौँका संघर्षका दिन अनि ती दिनले देखेका सपनाहरू मस्तिष्कमा खेलाइरहेको हुन्थेँ । राई माइलो र म्यानेजर दुवैले मलाई अति सम्झाइरहेका हुन्थे तर म उनीहरूको कुरा सुनिरहेझैँ मात्र गरेको हुन्थेँ तर मनमा अर्कै घन चक्कर चलिरहेको हुन्थ्यो ।

दिनहरू बित्दै गए, मेरो काममा पनि सुधार हुँदै गएको थियो । त्यही समयमा मैले पनि काउन्टरको क्यासियरको जिम्मेवारी निभाइरहेको थिएँ । उता राई माइलो लगायतका साथीहरू किचन र वेटर तिर रहने भएकाले लगभग दिनरात नै बिजी हुन े गर्दथे । दिउँसो र साँझपखदेखि राति अबेरसम्म रेस्टुरेन्टमा अति भिड हुन्थ्यो तर पनि काम जसोतसो सम्हालिएकै थियो र आफ्नो व्यक्तिगत बचत पनि बढिरहेको थियो ।

राति सुत्ने बेलामा केही छिन फेसबुक हेरिन्थ्यो, साथीभाइ र आफन्तहरूलाई म्यासेज छोडिन्थ्यो, राति अबेरसम्म बसेर पढ्ने बानी भएकाले नेपालबाट लगेर गएका केही नोभेलहरू पढेर सुतिन्थ्यो । सदाझैँ एकदिन फेसबुक हेरिरहेको बेलामा एक जनाको फ्रेन्ड रिक्वेस्टको नोटिफिकेशन बज्यो । प्रोफाइल खोलेर हेरेँ अनि त्यही दुई–तीन दिन अघि मात्र खोलेको फेसबुक आइडी रहेछ भनेर त्यति वास्ता गरिनँ । तर फेरि बत्ती निभाएर सुतेको मात्र के थिएँ मेसेन्जरमा ‘सर नमस्ते’ भनेको मेसेज बज्यो ।

प्रोफाइल हेरेको त ‘मास्टर्स इन म्यानेजमेन्ट पास्ड फ्रम सेन्ट्रल डिपार्टमेन्ट अफ टियू’ भन्ने देखेर कतै आफूले ट्युसन सेन्टरतिर पढाएको विद्यार्थी पो हो कि भनी जवाफ फर्काएँ । चिने जसरी नै उताबाट मेसेज आएपछि लगभग आधा घण्टा जति सामान्य कुराकानी गरी सुतियो । सदाझैँ बिहान उठ्दा राई माइलोले ‘आँखा रातो रातो पो छ त होउ सर’ भन्दै जिस्काउँदै थिए । म ‘होइन होला’ भन्दै टारिरहेको हुन्थेँ । जब राति एक–दुई बजे म रुममा फर्कन्थेँ तब उनी पनि अनलाइनमै हुन्थिन् । भन्थिन्, ‘म तपाइकै पर्खाइमा हो है ।’

सुरु सुरुमा उतैबाट मेसेज आउँथ्यो तर समय अन्तरालसँगै मैले दिउँसो एकैछिन फुर्सद हुँदा पनि म्यासेज छोड्ने गर्दथेँ तर तत्काल रिप्लाई आउने थिएन ।

राति किताब हेरेर निदाउने बानी परेको म अब उनीसँग कुरा नगरी सुत्न नसक्ने भइसकेको थिएँ । अर्ध निद्राको कारण बिहान रेस्टुरेन्ट पुग्न ढिला हुँदा कैयौँ पटक राई माइलाले मलाई फोन गरेर बोलाएका किस्सा पनि छन् । राति अबेरसम्म च्याट गर्दा जिन्दगीका उतारचढाव, जिन्दगी जिउने तरिका, शास्त्र र विद्याका कुरा उनीबाट सुन्न पाइन्थ्यो । म खुसी हुँदा हर्षका फोहोराहरू बर्साउने गर्थिन् त थकानको समयमा नजिकै भए जसरी मायाका भाव दर्साउने गर्दथिन् । उनका हरेक वाणीले मलाई विदेशमा अझै कमाउने ऊर्जा दिन्थ्यो भने सम्झाउने बानीले बा–आमाको उपदेशको झझल्को देखाइरहन्थ्यो ।

लाग्थ्यो कि, मेरो जीवनको माली सायद उनी बाहेक अरू कोही छैन यो जीवनमा । मबाट उनीप्रति दिन दुगुना रात चौगुना मायाका छालहरू वृद्धि हुँदै गइरहेका थिए । साथीले कति बेला बत्ती निभाउलान् अनि कुरा गरौँला भन्ने पर्खाइमा हुने गर्दथेँ । एकैछिन म्यासेजको रिप्लाई ढिलो भयो भने पुच्छर काटिएको सर्पजस्तै छटपटाइरहेको हुन्थेँ । कैयौँ पटक साथीले मलाई छटपटीमा देख्दा ‘विदेश भनेको कमाउन हो है, रमाउन होइन’ भन्दै सम्झाइरहेका हुन्थे तर उनले केही चाल नपाउन भनेर शरीर पाट्टियो भन्दै बिस्तारै कोल्टे फेरेको नाटक गर्दथेँ ।

साथी बाथरुम गएको समयमा आवाजमार्फत भलाकुसारी गर्ने चेष्टा नगरेको पनि होइन तर उतैबाट तपाईंलाई एयरपोर्टमा रिसिभ गर्न आफै आई प्रथम पटक सर्प्राइज हुने भ्वाइस दिनेछु भन्दै मेसेन्जर कल काटिदिने गर्दथिन् । सायद ‘आई लभ यू माई डियर’ जस्तो पवित्र शब्द सुन्न मेरो त्यो दिनको इन्तजारमा म विदेशमा क्यालेन्डरको नोट प्याड रबाउँदै बसिरहेको हुन्थेँ तर उनी भने यता ‘जीवन बिताउने कुरा त खोइ भावीको लेखान्तले जुराएछ भने गरौँला नत्र असल साथी बनेरपनि त जिउन सकिन्छ नि’ भन्दै टार्ने गर्दथिन् ।

कुनै दिन बिदामा बाहिर जाँदा खिचिएका फोटोहरू मैले उनको मेसेन्जरमा पठाइदिने गर्दथेँ । फोटोको तारिफ पनि यति आउँथे कि ओहो वर्णन गरी साध्य छैन । फेसबुकका फोटोमा लभ रियाक्ट सहितका कमेन्टहरू हुन्थे भने साथीसँग हालिएका फोटोमा त झन् साथीको बढी गुणगान हुने गर्दथ्यो । साथीप्रतिको त्यो ओभर तारिफ देख्दा त झन् उसलाई फेसबुकमा ट्याग गरेर फोटो हाल्न समेत पनि डर हुन्थ्यो मलाई । ऊप्रतिको तारिले शरीर चिसो भएर आउँथ्यो त कतै यति सुन्दर र गुणवती मान्छे अर्को तिर पो सर्छिन् कि भनेर चिन्ता पनि उस्तै । ‘आई लभ यू माई डियर’ भन्ने शब्द सुन्नकै लागि मेरो तीन वर्षको पर्खाइ लगभग नजिकिँदै आइरहेको थियो । कम्पनीबाट मैले र साथी राई माइलोले करिब दुई महिनाको बिदा स्वीकृत गरी नेपाल आउने टिकट हात पारियो । टिकटको फोटो उनको मेसेन्जरमा हालिदिएँ र त्रिभुवन इन्टरनेशल एयरपोर्टमा आइपुग्ने समय पनि बताइदिएँ ।

साथीसँग पर–पर भाग्दै उनलाई एयरपोर्टमा भएका प्रत्येक कुरा अपडेट गराइरहेको थिएँ र साथीलाई पनि मेरो गर्ल फ्रेण्डसँग परिचय गराउने कुरो गरेको थिएँ । ऊ मुसुक्क मुस्कुराउने गर्दथ्यो । दुबई एयरपोर्टबाट प्लेन चढ्दा कैयौँ सपना मनमा सजिरहेका थिए । जति प्लेनको वेग नेपालतर्फ बढ्दै थियो त्यसभन्दा बढी उनीसँग सुरुमा कसरी प्रस्तुत हुने होला भन्दै मुटुको धड्कन बढ्दै गइरहेको थियो ।

जब काठमाडौँको एयरपोर्टमा ओर्लियौँ तब राई माइला मलाई छोडेर छिटो–छिटो अगाडि बढेका थिए भने म उहाँभन्दा अलिकति २०–२५ जना पछाडिको लाइनमा थिएँ । त्रिभुवन विमानस्थलको आगमन कक्षको लाइनमा ‘मेरो उनी‘ कुन होलिन् भन्ने आँखा डुलाउँदै आइरहेको थिएँ तर स्वागत लाइनसम्म आइपुग्दा पनि कोही कसैले न त मेरो नाम पुका¥यो न त हाई नै भन्यो । अगाडि आइपुगेका राई माइलाले पो फूलको बुकी दिँदै ‘आई लभ यू माई डियर’ भन्दिए । म झसङ्ग भएँ । मेरो राई माइला पो ‘मेरी उनी’ बनेर मलाई विदेशमा रमाउन र कमाउन सिकाएका रहेछन् ।

त्यो देखेर आफैलाई एकैछिन न पत्याउन सकेँ न त हाँस्न रुन नै सकेँ । एक छिन आकाश पाताल सबै भासिएको महसुस गरेँ अनि भित्री मनलाई नियन्त्रण गरेर मुसुक्क मुस्कुराएँ । राई माइलासँग नियमित फोन मेसेजमा रहने बाचा गर्दै बिदा भएँ अनि बाटोमा ट्याक्सीबाट फेरि धन्यवादको म्यासेज पठाएँ । धन्यवाद राई माइला, मलाई विदेशमा अडिएर कम्तीमा एउटा घर र घडेरी कमाउन सक्ने मायालु बनिदिएकोमा ।