तातोपानीमा एकल पुरुषलाई वार्षिक भत्ता
जुम्ला: जुम्लाको तातोपानी गाउँपालिकाले एकल पुरुषहरूलाई वार्षिक भत्ता उपलब्ध गराउने भएको छ । उनीहरूको जीविकोपार्जनका लागि सहज होस् भनेर एकल पुरुषलाई भत्ता दिने कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रममा एकल पुरुषलाई पनि भत्ता दिने कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई ंले जानकारी दिए ।
आर्थिक अवस्था कमजोर भएका, बेसहारा र कुनै व्यवसाय नभएका एकल पुरुषको जीविकोपार्जनका लागि भत्ता दिन लागिएको अध्यक्ष चौलागाईंले बताए । ५० वर्षदेखि ६० वर्षसम्मका एकल पुरुषलाई ४ हजारका दरले भत्ता दिने नीति तथा कार्यक्रम पारित भइसकेको छ । ‘गाउँबस्तीमा एकल पुरुषहरु पनि अपहेलित हुनु परिरहेको अवस्था छ । उनीहरूका उत्थानका लागि यो वार्षिक भत्ता महत्त्वपूर्ण मानिनेछ,’ अध्यक्ष चौलागाईंले भने । कर्णालीमा यो नयाँ कार्यक्रम भएकोले सबैको चासो यही कार्यक्रममा देखिएको पालिकाले जनाएको छ । पहिलो चरणमा ५० जना एकल पुरुषलाई लक्षित गरेर वार्षि २ लाख रुपैयाँ विनियोजन गरिएको छ । अध्यक्ष चौलागाईंका अनुसार यो कार्यक्रम कार्यकाल नसकिँदासम्म निरन्तर चलिरहनेछ । यो त्यस्तै तातोपानी गाउँपालिकाले एक सयभन्दा बढी भेडाबाख्रा पाल्ने किसानलाई मासिक ५ सय रुपैयाँ गोठाला भत्ता दिने नीति समेत ल्याएको छ ।