सुर्खेतमा दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुदै
सुर्खेत । सुर्खेतमा फागुन १३ गतेदेखि फागुन २५ गतेसम्म दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जिल्लाका ९ वटै स्थानीय तहहरूमा दुई चरणमा खोप अभियान सञ्चालन गर्न जानकारी दिएको हो ।
पहिलो चरणमा फागुन १३ गतेदेखि १५ गतेसम्म सुर्खेतका पाँच वटा पालिकामा र दोस्रो चरणमा फागुन २१ गतेदेखि २५ गतेसम्म ४ वटा पालिकामा दादुर ा रुबेला खोप सम्बन्धि अभियान सञ्चालन हुने छ ।
पहिलो चरणमा भेरीगंगा, लेकबेसी र गूर्भाकोट नगरपालिका, बराहताल गाउँपालिका र चिङ्गाड गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । यस्तै, खोप अभियानका लागि दोस्रो चरणमा वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, चौकुने र सिम्ता गाउँपालिकामा हुने जनस्वस्थ्य सेवा कार्यालयले जनाएको छ ।
जनस्वास्थ्य सेवा कार्यालयले जिल्लाका ९ वटा स्थानीय तहहरूमा गरि ९ महिनादेखि ५ वर्ष मूनीका करिब ३२ हजार बालबालिकालाई दादुरा रुबेला लगाइने योजना बनाएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका जन स्वास्थ्य निरक्षक घनश्याम वुढाले स्वास्थ्यकर्मीहरूलाई खोप सम्बन्धि क्षमता अभिवृद्धिका लागि अभिमूखीकरण गरिएको बताए ।
उनले भने, ‘सुर्खेतका ९ वटै स्थानीय तहमा रहेका खोप लगाउने स्वास्थ्यकर्मीहरुलाई पालिका स्तरको अभिमुखीरकण गरिएको छ। पालिका स्तरका स्वास्थ्य शाखा प्रमुखहरूले खोप सम्बन्धि सम्पूर्ण जानकारी हाम्रो कार्यालयमा पठाईसक्नु भएको छ।’
यस्तै, कार्यालय प्रमुख गणेशभक्त गौतमले जिल्लामा ९५ प्रतिशत भन्दामाथि खोप कभरेज हुने अनुमान गरिएको बताए। उनले भने, ‘बालबालिकाहरूलाई अकालबाट बचाउनका लागि खोपले ठूलो भूमिका खेल्ने गर्दछ। त्यसैले सबैलाई यो दादुरा रुबेला खोप अभियानमा समावेशन हुनका लागि आह्वान गर्दछु । खोप पूर्ण रुपमा निःशुल्क र सुरक्षित रहेको छ।’