२०८३, १७ असार बुधबार

काभ्रेको पाँचखालमा आगलागी हुँदा जले नौवटा पसल

काठमाडौँ । आज (शुक्रबार) बिहान काभ्रेको पाँचखालमा आगलागी हुँदा नौवटा पसल जलेका छन्।

आगलागीबाट करोडौँ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। शुक्रबार बिहान सवा ६ बजे पाचँखाल नगरपालिका ४ समाजकल्याण चोकमा रहेको उद्धब प्रसाद तिमल्सिनाको घरको सटरमा विद्युत् सर्टभई अचानक आगलागी सुरु भएको जिल्ला प्रहरी कार्याल्य काभ्रेले जनाएको छ।

आगलागीमा परेर तिमल्सिनाको घरमा रहेका ४ वटा कपडा पसल, ३ वटा होटल, एउटा मोबाईल पसल र एउटा मासु पसल जलेका छन्। आगलागीमा परेर चारवटा कपडा पसल भने पूर्णरुपमा जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए  । होटल, मोवाइल र मासु पसल भने आंशिक मात्रै जलेका छन्।

दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले झण्डै एक घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएका छन्। क्षतिको यकिन विवरण संकलनको काम भइरहेको डीएसपी श्रेष्ठले बताए  ।