२०८१, १९ बैशाख बुधबार

लागु औषधविरुद्ध लालटिन अभियानको शुभारम्भ

सुर्खेत । कर्णाली प्रदेशमा लागु औषधविरुद्धको लालटिन अभियानको शुभारम्भ भएको छ । बिहिबार उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले लागु औषधविरुद्धको लालटिन अभियानको शुभारम्भ गरेका हुन् ।

लागु औषधका कारण घर, समाज र सिङ्गो राष्ट्रलाई असर पुर्‍याइरहेको बताउँदै उपप्रधानमन्त्री खड्काले सिङ्गो समाज यसकाविरुद्ध एकजुट हुनुपर्ने बताए ।

सबैको साझा सङ्कल्प र प्रयत्नबाट लागु औषध नियन्त्रण र अन्त्यतर्फ लाग्नु आजको आवश्यकता हो”, उनले भने, घर, समाज र राष्ट्रलाई लागुऔषध मुक्त बनाउनका लागि सबैले सङ्कल्प गर्नु आवश्यक छ ।”

खड्काले सीमा नाकामा हुने लागु औषध ओसार–पसार नियन्त्रणका लागि तीन तहकै सरकार र सामाजिक सङ्घ–संस्थाको महत्त्वपूर्ण भूमिका हुने बताए । “सीमाबाट हुने लागु औषध नियन्त्रणका लागि सङ्घ, प्रदेश र स्थानीय तहका साथै नागरिक समाज, सामाजिक संस्था र समुदायको महत्त्वपूर्ण भूमिका रहन्छ”, खड्काले भने, “यसतर्फ आजकै दिनदेखि सक्रियतापूर्वक लाग्न सबैमा आग्रह गर्दछु ।”

खड्काले लागु औषधको दुर्व्यसनमा १६ देखि २६ वर्ष उमेर समूहका धेरै प्रभावित तथ्याङ्कले देखाएको बताउँदै उर्वर उमेरमा कुलतमा फस्नु राष्ट्रका लागि हानिकारक भएको बताए ।