२०८१, ५ जेष्ठ शनिबार

एउटै गाउँपालिकामा हिमाल, पहाड र तराई

 

कालिकोट । कृषि उत्पादनका हिसाबले पलाँता गाउँपालिकालाई तराई, पहाड र हिमालमा ‘वर्गीकरण’ गरी पालिकाले तह र बालीअनुसारको कार्यक्रम बनाएको छ ।

तल्लो कर्णालीसँग जोडिएको क्षेत्रमा वर्षमा ३ बाली पाक्ने भएको हुँदा पालिकाको थिर्पुलाई तराई क्षेत्र भनिएको गाउँपालिका अध्यक्ष विष्णु बहादुर रोकायाले बताए । उनका अनुसार थिर्पुमा धान उत्पादन हुन्छ ।

त्यस्तै बीचको आवाधि क्षेत्रहरूमा पुलाहा, थारा, बान्जरा, निजुबारा, लार्थ, थिन, मेका, फागुती, पारौती र बेसमकोटजस्ता गाउँहरू पर्छन् । त्यहाँ गहुँ, मकै, कोदो, कागुनी, फापर, आलुलगायत उत्पादन हुने भएकोले त्यसलाई पहाडि क्षेत्र भनी पालिकामा चिन्ने गरिन्छ ।

माथिल्लो क्षेत्र जहाँ जडिबुटीसँगै स्याउ, ओखर र टिम्मुरलगायत उत्पादन हुन्छ त्यसलाई हिमाली क्षेत्रको रुपमा गाउँपालिकाले पहिचान दिएको छ । हिमाली क्षेत्रमा पल्सेरी, धतेरा, भाग्मा, दाकमेला, बाख्रे, पदाली, खुम्ला, छहर्ने, धनेखर्कलगायत पर्छन् ।