२०८३, १७ असार बुधबार

हातमा कालो पट्टी बाँधेर स्थानीय तहका कर्मचारी धर्नामा

सल्यान ।  सल्यानमा स्थानीय तहका कर्मचारीले हातमा कालो पट्टी बाँधेर कार्यालयमा धर्ना दिएका छन् । आफूहरूको माग सम्बोधन हुने गरी सङ्घीय निजामती विधेयक ल्याउन दबाब दिँदै आज (मङ्गलवार) जिल्लाका दश वटै स्थानीय तहका कर्मचारीले हातमा कालो पट्टी बाँधेर २ घण्टा धर्ना दिएका हुन । आन्दोलनरत कर्मचारीहरूले मङ्गलवार १० देखि १२ बजेसम्म दुई घण्टा हातमा कालो पट्टी बाँधेर पालिकाको कार्यालयमा धर्ना दिएका छन् ।

सङ्घ, प्रदेश तथा स्थानीय तह गरी तीनै तहका कर्मचारीलाई समावेश गरिनुपर्ने, सेवा सुविधा समान गर्ने, सबै तहमा सरुवा हुनुपर्ने, प्रदेशबाट सङ्घमा जान नपाउने प्रावधान खारेज गर्नुपर्ने, स्वास्थ्य सेवा समान हुनुपर्ने, बढुवा समान, अन्तर प्रदेश सरुवा, स्थानीय तहका अधिकृत प्रमुख प्रशासकीय अधिकृत हुन पाउनुपर्ने, तालिममा विभेद गर्न नपाउने लगायत माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

आफ्ना मागहरूको सम्बोधन नभए चरणबद्ध रुपमा कालो पट्टी बाँधेर आन्दोलन गर्ने र सरकारले बेवास्ता गरे ’पेन डाउन’ गर्ने स्थानीय तह कर्मचारी सङ्घर्ष समितिका संयोजक हरिभक्त भण्डारीले बताए । उनका अनुसार दुई घण्टा धर्ना दिएका कर्मचारी अहिले हातमा कालो पट्टी बाँधेर कार्यालयको कामकाजमा फर्किए पनि आन्दोलन जारी रहेको भण्डारीले बताए । केही दिनसम्म लगातार हातमा कालो पट्टी बाँधेर काम गर्ने र ‘सरकारले माग सम्बोधन नगरे पेन डाउन गरी कार्यालयको कामकाज ठप्प पर्ने चेतावनी दिए ।

जिल्लामा गरेको आन्दोलन तथा धर्नालाई सम्बन्धित निकायले बेवास्ता गरे सबै स्थानीय तहका कर्मचारी काठमाडौँमा सञ्चालन हुन थालेको आन्दोलनमा सहभागी हुने बताए ।

सबै नेपाल सरकारका कर्मचारी भएपनि सङ्घीय निजामती ऐनले विभेद छुटाउने प्रयास गरेकाले मान्य नहुने कपुरकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश कुमार आचार्यले बताए । सङ्घीय निजामती ऐनले आफूहरूलाई छुटाएकै कारण आन्दोलन तथा धर्ना गर्नु परेको बताए ।