२०८०, १८ आश्विन बिहीबार

सिमकोट बजारको ढलान सम्पन्न

सिमकोट ।  सदरमुकाम सिमकोट बजारलाई धुलोमुक्त बनाउने उद्देश्यले निर्माण सुरु भएको सडक ढलान सम्पन्न भएको छ। २०७९ साल वैशाख ११ गतेबाट सुरु भएको सडक ढलान कार्य हाल आएर सम्पन्न भएको हो ।

सिमकोट बजारको सडक ढलान कार्यको जिम्मा लिएको बानियाँ निर्माण सेवाका स्थानीय प्रतिनिधि सरोज रावतले आफ्नो जिम्माको मुख्य सडक ढलान गर्ने काम सम्पन्न भएको बताए ।

०७८/७९ मा सम्झौता भएको सिमकोट ढलान दुई वर्षमा सम्पन्न गर्ने कार्यादेश कम्पनीलाई दिइएको थियो । उनले सिमकोट बजारको मुख्य सडकको काम निर्धारित मितिमा सम्पन्न भएको जानकारी दिँदै अब ५० मिटर लिंक सडक मात्र ढलान गर्न बाँकी रहेको र त्यो पनि कात्तिकामा सम्पन्न गर्ने बताए  ।

हिउँदमा चिसोले सडक ढलान गर्न समस्या भएकाले पाँच महिना काम रोक्नुपरेको भन्दै उनले त्यसले गर्दा काम सम्पन्न गर्न केही ढिलाइ भएको बताए।

सिमकोटको तल्लो बजारदेखि सनभ्याली जाने सडकसम्म एक हजार मिटर सडक ढलान गर्ने कार्य सम्पन्न भएको छ। सात मिटर चौडा र ६ देखि आठ इन्च बाक्लो सडकलाई ढलान गरिएको छ ।

यो काम गर्न निर्माण कम्पनीलाई नौ महिना लागेको थियो। सघन सहरी विकास कार्यालय जुम्लाका सबइन्जिनियर विमल रावतले सिमकोट ढलानको काम मुख्य सडकको सम्पन्न भएर यातायातका साधन सञ्चालनमा आएको बताए ।

अब सनभ्याली जाने सडकदेखि कालाशिल्ता आविसम्मको ५० मिटर सडक पनि ढलान सुरु भएकाले चाँडै सम्पन्न हुने उनको भनाइ छ ।

सो सडक ढलानका लागि निर्माण कम्पनीले आवश्यक निर्माण सामग्रीसमेत जम्मा गरिसकेको छ । सिमकोट सडक ढलानका लागि सात करोड बजेट लागत लाग्ने गरी कार्यालयले निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।

सडक ढलान सम्पन्न भएसँगै पहिलो पटक यातायात साधन चिल्लो सडकमा गुड्न थालेका छन्। सडक ढलानपछि सफा र व्यवस्थितसमेत देखिन थालेको छ।-देश सञ्चार