कर्णालीको इतिहासमा कान्छी सांसद बनेर सदनभित्र छिर्दै विनिता
सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दसूचीमा परेको जुम्लाकी विनिता कठायत कर्णालीको इतिहासमा सबैभन्दा कान्छी सांसदको रुपमा सदनमा छिर्दै छिन् । उनी जम्मा २७ वर्षकी भइन् ।
यसअघि कर्णाली क्षेत्रबाट यति कम उमेरमा कोही पनि सांसद भएको थिएनन् ।
प्राय पाका उमेरका सांसद पठाउने कर्णालबाट यतिबेला भने धेरैजसो युवा प्रतिनिधि चुनिएका छन् । जम्मा २७ वर्षकी विनितालाई राष्ट्रिय स्वतन्त्र पार्टीले पिछडिएको वर्गको महिला कोटाबाट सांसद बनाएको हो ।
चुनाव अगाडि थोरै समय मात्रै प्रचारप्रसारमा लागेकी उनी उम्मेदवार भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका लागि जुम्लाबाट झण्डै आठ सय ९९ मत आएको थियो ।
आक्रमक चुनाव प्रचारप्रसार र चर्चित पूर्व पत्रकार रवि लामिछानेको पार्टीको छविका कारण राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य मत पायो। निर्वाचन आयोगले रास्वपाले समानुपातिकमा १३ सिट पाउने भएपछि पिछडिएको क्षेत्रबाट एक नम्बरमा नाम परेकी विनिता सांसद बनेकी हुन् ।
युवाहरु राजनीतिमा आउँदा देश विकास हुने बताउने उनले पार्टीले युवाहरुलाई स्थान दिएर देशको राजनीतिमा सकारात्मक सन्देश दिएको बताउँछिन् ।
‘राजनीति समाजसेवा हो । पुरातन सोच भएको नेतृत्वले सम्पत्ति कमाउनुलाई राजनीति सम्झ्यो । विकल्पको रुपमा हामी आएका छौं,’ उनले भनिन्, ‘हामीले भने अनुसारको राजनीतिलाई स्थापित गर्नका लागि जनताले वैकल्पिक शक्तिलाई लोकप्रिय मत दिएका छन् ।’
उनी यसअघि ग्यालेक्सी फोके टेलिभिजनको बहुचर्चित कार्यक्रम ‘सिधा कुरा विथ रवि लामिछाने’ टिमकी सदस्य थिइन् । त्यही बीचमा रवि लामिछानेले नयाँ पार्टी गठन गर्ने चर्चा भएपछि युवाहरु राजनीतिमा आउनुपर्ने ध्येयले उनी पार्टीमा लागेकी थिइन् ।
समानुपातिक बन्दसूचीमा परेकी विनिताको नाम सिफारिस भएपछि समग्र देश विकासका लागि आफ्नो प्रयत्न हुने बताइन् । उनले भनिन्, ‘सबै तहको शिक्षा र स्वास्थ्य उपचारको बन्दोबस्त राज्यको दायित्व बनाउन मेरो प्रयत्न हुनेछ ।’
उनका अनुसार देशभर जनताका छोराछोरीले राम्रो शिक्षा पाएका छैनन् । कयौं नागरिकले उपचार पाएका छैनन् । त्यसैले संविधानको मौलिक हकको प्रावधानअनुरुप निःशुल्क शिक्षा र स्वास्थ्य उपचार हुनुपर्छ ।’
दैनिक वैदेशिक रोजगारीमा जाने युवाहरुको लहर रोक्न र देश बनाउन राज्यले युवाहरुलाई रोजगारी दिने नीति चाहिने उनको राय छ । अब संसदबाट यस्ता खालका नीति पारित गराउन संघर्ष गर्ने उनले बताइन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी राज्यको स्रोत बढाउने नीतिसहित अगाडि आएको छ । यो सम्भव बनाएर युवाहरुलाई रोजगारी दिने हो,’ उनले भनिन्, ‘राजनीतिमा संलग्न नेताहरु धनी हुने, उनीहरुको सात पुस्तासम्म पुग्ने हुने तर देश गरिब हुने नियतिको अन्त्य हुनुपर्छ ।’
औद्योगिक विकास, स्थानीय उत्पादन बढाउने प्रविधिबारे ध्यान दियो भने अर्थतन्त्र आत्मनिर्भरतातिर जाने उनले बताइन् । ‘यसले धेरै हदसम्म रोजगारी सृजना समेत हुन्छ । नेतृत्व जनता र देशप्रति इमान्दार भएको खण्डमा हामी सम्पन्न बन्न सक्छौं,’ उनले भनिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी देश विकासका लागि राज्यको भूमिका बढी हुनुपर्ने, नेपालमा संघीयता उपयुक्त नहुने लगायतका मुद्दा लिएर चुनावी मैदानमा उत्रिएको थियो । सोहीअनुसार जनताले मत दिएपछि जनताका लागि काम गर्नु सबैभन्दा ठूलो दायित्व भएको उनले बताइन् ।