२०७९, २१ माघ शनिबार

मुख्यमन्त्रीको दौडमा रहेका कर्णाली यी हुन नेता

सुर्खेत : कर्णाली प्रदेशमा मुख्यमन्त्रीका लागि कांग्रेसका जीवनबहादुर शाही, राजिवविक्रम शाह, माओवादी केन्द्रका राजकुमार शर्मा, विन्दमान विष्ट, एमालेका यामलाल कँडेल र विनोदकुमार शाह मुख्यमन्त्रीको दौडमा रहेका छन् ।
कांग्रेसबाट मुख्यमन्त्रीको दावेदार रहेका जीवनबहादुर शाही अहिले पनि कर्णालीको मुख्यमन्त्रीका रुपमा रहेका छन् । २०७४ सालमा प्रतिनीधिसभा र प्रदेशसभामा बामगठबन्धनको बहुमत हुँदा शाहीले प्रदेशसभामा एउटा मात्र सिट जितेका थिए । उनी अहिले कर्णाली प्रदेशमा मुख्यमन्त्री दावी गर्दै पुन हुम्ला प्रदेश निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित भएका छन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेका शाही विगतमा हुम्ला जिल्ला विकास समितिको सभापति, पर्यटनमन्त्री र हुम्लाबाट तीन पटक सांसद भइसकेका छन् । २०७४ साल र २०७० सालमा संबिधान सभा सदस्य रहेका शाही एक पटक संघीय पर्यटनमन्त्री बनेका छन् । उनी अहिले मुख्यमन्त्रीको प्रमुख दावेदार रहेका छन् ।
शाहीले हुम्ला (२) बाट ४ हजार ७७ मतान्तरले एमालेका छक्कबहादुर लामालाई पराजित गर्दै निर्वाचित भएका छन् । उनी अहिले आफुले कर्णालीको विकासका लागि अगाडी सारेको सारेको ‘छ’ ब को नीतिलाई कार्यान्वयन गर्न प्रदेशसभामा निर्वाचनमा लडेको बताउने गरेका छन् ।
शाहीसँगै कांग्रेसका केन्द्रीय सदस्य राविजविक्रम शाहले पनि मुख्यमन्त्रीको दावी गर्दैै प्रदेशसभाको निर्वाचन विजयी भएका छन् । शाहले प्रतिनीधिसभाको निर्वाचन लड्ने घोषणा गरेर पनि मुख्यमन्त्रीको दावी गर्दै उनी जाजरकोट प्रदेशसभा (२) बाट उम्मेदवारी दिएका थिए । उनले एमालेका खिमबहादुर शाहीलाई हराउँदै विजय भएका छन् ।
शाह २०७० साल र २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट जाजरकोट जिल्लाको प्रतिनीधिसभाको उम्मेदवार बनेपनि पराजय भोगेका थिए ।
माओवादी केन्द्रका नेता राजकुमार शर्माले मुख्यमन्त्रीको प्रबल दावेदार रहेका छन् । माओवादी संगठनमा लामो समय काम गरेका शर्माले २०७४ सालमा रुकुमपश्चिमको जिल्ला समन्वय समितिको प्रमुख बनेका थिए । संगठनमा राम्रो पहुँच भएका शर्मा रुकुम पश्चिम प्रदेश सभा (२) बाट विजयी भएका छन् ।
शर्मासँगै माओवादी केन्द्रबाट मुख्यमन्त्रीमा विन्दमान विष्टको दाबी रहेको छ । सुर्खेन निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (२) बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित भएका छन् । २०७४ सालका सोही क्षेत्रबाट निर्वाचन जितेका विष्ट कर्णाली प्रदेश सरकारको अर्थमन्त्री भइसकेका छन् ।
मुख्यमन्त्रीको दाबी गर्दै एमालेका यामलाल कँडेलले पुन प्रदेशसभामा उम्मेदवारी दिएका छन् । २०४८ सालमा वीरेन्द्रनगरको मेयरमा विजयी भएका कँडेल २०५१ साल २०७० सालमा प्रतिनीधिसभा विजयी भएका थिए । पर्यटनमन्त्रीसमेत भएका कँडेल २०७४ सालको निर्वाचनमा मुख्यमन्त्रीको दाबी गर्दै प्रदेशसभामा झरेका थिए । एमालेको बहुमत हुँदाहुँदै माओवादीको भागमा कर्णाली प्रदेश सरकार परेका कारणले मुख्यमन्त्री बन्न असफल भएका कँडेल पुनः मुख्यमन्त्री बन्नका लागि प्रदेशसभामा झरेका हुन् ।
एमालेको कर्णाली प्रदेश इन्चार्जसमेत रहेका कँडेल आफुभन्दा जुनियर नेतालाई प्रतिनिधि सभामा पठाएर प्रदेशमै लडेका हुन् । सुर्खेत २ (१) बाट लडेका उनी १८ हजार ५६१ मतसहित विजयी भएका छन् ।
कँडेलसँगै एमालेका कर्णाली प्रदेश अध्यक्ष रहेका विनोदकुमार शाह मुख्यमन्त्रीका आंकाक्षी हुन् । दैलेख २ (२) मा बाट उनी ९ हजार ४ सय ६४ मतसहित निर्वाचित भएका छन् । २०४८ सालदेखि संसदीय निर्वाचनमा भाग लिँदै आएका शाह राजा प्रत्यक्ष शासनकालमा राज्यमन्त्री भएका थिए ।
कर्णाली प्रदेशमा गठबन्धनको सरकार बनाउन स्पष्ट बहुमत
कर्णाली प्रदेशमा सत्तागठबन्धनमा आबद्ध दलले सरकार बनाउन सक्ने स्पष्ट बहुमत पाएका छन् । कर्णाली प्रदेश सरकार निर्माणका लागि प्रदेश सभामा २१ सिट आवश्यक पर्छ । यो प्रदेशमा प्रत्यक्षतर्फ माओवादी र कांग्रेसले नौ–नौ सिट र एकीकृत समाजवादीले एक सिट जितेका गरेका छन् ।
समानुपातिकमा प्राप्त मतसहितका आधारमा गठबन्धनले २८ सिट प्राप्त गर्ने देखिएको छ । एमालेले कर्णाली प्रदेश सभामा प्रत्यक्षतर्फ पाँच सिट जितेको छ भने समानुपातिकमा प्राप्त मतका आधारमा ५ सिट गरी १० सिट प्राप्त गर्ने सम्भावना छ । राप्रपाले पनि समानुपातिकमा १ सिट ल्याउने देखिन्छ ।