२०८०, १८ आश्विन बिहीबार

भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मेरो पहिलो एजेन्डा ः ज्ञानेन्द्र शाही

सुर्खेत : हालै सम्पन्न निर्वाचनमा जुम्लाबाट नवनिर्वाचित प्रतिनिधिसभा सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही, प्रदेश सभा सांसदद्वय देवेन्द्रबहादुर शाही र टेकराज पछाईले नागरिकका समस्या ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाको आयोजनामा गरिएको नवनिर्वाचित सांसदलाई बधाई तथा प्रतिबद्धता कार्यक्रममा उनीहरूले यस्तो प्रतिबद्धता गरेका हुन् ।
प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले भने, ‘देश भ्रष्टाचारले बिग्रेको छ । भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि गर्न नदिने मेरो पहिलो एजेन्डा हो। सञ्चार क्षेत्रको विकास र पत्रकारको क्षमता अभिवृद्धिमा जोड दिनेछु । यो क्षेत्रको सडक, बिजुली, टेलिफोन र कृषि तथा पर्यटन क्षेत्रलाई अघि बढाउन विशेष ध्यान दिइनेछ । डोजरआतंकले बाढीपहिरोको जोखिम बढाएको छ । अनावश्यक सडक काटिएका छन्। अहिले सडकमा सवारीसाधन नै सञ्चालनमा छैनन् । यस्ता विकृतिलाई पनि रोक्नेछौँ ।’
प्रदेश सभा सांसद देवेन्द्रबहादुर शाहीले कांग्रेस पार्टीले अन्याय गरे पनि मतदाताले न्याय गरेर निर्वाचित भएको बताए । उनले भने, ‘पार्टीले अन्याय गरेकै कारण स्वतन्त्र उम्मेदवारी दिनुप¥यो । अहिले जुम्लाबाट प्रतिनिधिसभा र प्रदेश सभा गरी हामी तीनजना सांसद निर्वाचित भएका छौँ । हामी एक–आपसमा समन्वय र सहकार्य गरेरै जुम्लाको विकासका लागि काम गर्नेछौँ । स्थानीय स्तरबाट योजना बनाएर कार्यान्वयन गर्नेछौँ ।’
राजनीतिलाई पेसा–व्यवसाय नबनाएर सेवाका हिसाबले काम गर्दै नागरिकका समस्यालाई ध्यानमा राखेर प्रथामिकीकरणका आधारमा अगाडि बढ्ने उनले बताए ।
‘कृषि क्षेत्रको विकासमा विशेष जोड दिनेछौँ । कृषि क्षेत्रमा उत्पादन, भण्डारण र बजारीकरणलाई प्रथामिकता दिनेछौँ। देश संघीय संरचनामा छ । केन्द्र, प्रदेश र स्थानीय तह गरेर तीन तहका सरकार छन् । आ–आफ्ना क्षेत्रगत तहका योजनामा काम गर्नेछौँ । साना–साना कनिका छराई बजेट र योजना बनाउने छैनौँ। ठूला योजना–आयोजना निर्माण गर्नेछौँ,’ उनले भने ।
प्रदेश सभा सदस्य टेकराज पछाईले जुम्ला समृद्ध बनाउने आफ्नो योजना रहेको बताए । उनले भने, ‘प्रदेश (ख) तर्फ जुम्लामा चारवटा गाउँपालिका छन् । यिनै पालिकामध्ये सबैभन्दा पछि परेको कनकासुन्दरी गाउँपालिकाको बुम्रमाडीचौर क्षेत्र र तिला गाउँपालिकाको राँसा मालापानी, घोडेमहादेव क्षेत्र पछाडि परेका छन् । बजेट र योजनामा यिनै क्षेत्रलाई विशेष प्रथामिकतामा राखेर काम गरिनेछ ।’
सिँजा उपत्यका र त्यो क्षेत्र हुँदै नाग्म–गमगढी सडकको स्तरवृद्धिका लागि बजेट व्यवस्थानमा जोड दिनुका साथै प्रदेश सभामा आवज उठाउने उनले प्रतिबद्धता व्यक्त गरे ।
पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले नवनिर्वाचित सांसदलाई बधाई ज्ञापन गर्दै राम्रा कामलाई प्रशंसा गर्ने र गलत कामविरुद्ध खबरदारी गरिने बताए ।