२०७९, २१ माघ शनिबार

किन मारिन्छ रेड पाण्डा?

सुर्खेत : मंगलबार दिउँसो जाजरकोट कुशे गाउँपालिका–९ पैंक गाउँमा रेड पाण्डा भेटियो । स्थानीयवासीले प्रहरी चौकीलाई जिम्मा लगाएको रेड पाण्डा केही समयमै म¥यो ।
प्रहरीले कुशे गाउँपालिकामा रहेको डिभिजनलाई बुझाउने तयारी गरेको रेड पाण्डा बाटोमै मरेको जाजरकोटका प्रहरी प्रमुख (डीएसपी) सन्तोष निरौलाले जानकारी दिए । रेड पाण्डालाई सुरक्षित स्थानमा छाड्ने प्रयास असफल भएको उनले बताए ।
बारेकोट गाउँपालिका–५ का जनकबहादुर शाहीले महिनैपिच्छे रेड पाण्डा मर्ने क्रम बढेको जानकारी दिए । ‘बारेकोटका पाटन क्षेत्रमा आगलागीबाट सबैभन्दा धेरै रेड पाण्डा मारिएका छन् । लाटो जनावर भएकाले भाग्न नसक्दा मारिने गरेको छ’, उनले भने, ‘वर्षायाममा कुकुरले पनि शिकार गर्ने भएकाले रेडा पाण्डाको अस्तित्व संकटमा परेको छ ।’
त्यस्तै पाटन क्षेत्रमा जडीबुुटी संकलकर्ताले समेत रेड पाण्डा मार्ने गरेका पाइएको छ । हिउँदयाममा शिकार गरिएको रेड पाण्डाको अवशेषहरु जंगलभरि भेटिने गरेको शाहीले बताए । जिल्ला प्रहरी कार्यालयले मात्र अघिल्लो आर्थिक वर्षमा पाँच वटा रेड पाण्डा मार्नेविरुद्ध मुद्दा चलाएको थियो । प्रहरीको जानकारीमा नआएका चोरी, पैठारीका धेरै घटना भए पनि गाउँघरमै मिल्ने गरेका छन् ।
जाजरकोटमा बारेकोट, कुशे गाउँपालिका र नलगाड नगरपालिकामा रेड पाण्डा पाइन्छ । डोल्पाको मुड्केचुला र जुम्लाको पातारासी र सिंजा गाउँपालिकामा पनि रेड पाण्डा पाइन्छ । त्यस्तै डोल्पाको मुड्केचुला गाउँपालिकाको पाटन क्षेत्रमा समेत रेड पाण्डा पाइने गरेको छ ।
गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीका अनुसार रेड पाण्डा संरक्षणका लागि पालिकाले विशेष महत्त्व दिएर काम गरिरहेको छ । डिभिजन वन कार्यालयको सहकार्यमा पालिकाले आफैँले पनि धेरै प्रचार र संरक्षणको काम गरेको अध्यक्ष शाहीले जानकारी दिए ।
डिभिजन वन कार्यालयका कर्मचारी फिल्डमा कम खटिने र सदरमुकाममै बसेर गाउँ गएको प्रतिवेदन तयार गर्ने गरेको आरोप लाग्दै आएको छ । कर्मचारीले घटना घटेपछि मात्र घटनास्थलमा गएर मुचुल्का बनाउने काम मात्र गर्ने स्थानीयवासी बताउँछन् ।
कुशेको दुईटा र बारेकोटको चारवटा सामुदायिक वन समूहसँग सहकार्य गरेर रेड पाण्डा संरक्षणसम्बन्धी कार्यक्रम गरिरहेको रेड पाण्डा नेटवर्कका भूपलाल खत्रीले बताए ।
दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । बासस्थान विनाश, खण्डीकरण, चोरी शिकारीका कारण संरक्षित क्षेत्रमै संख्या कम हुनु यसका प्रमुख चुनौती हुन् । रेड पाण्डा संरक्षणमा स्थानीय सरकार जागरुक नहुनुले पनि समस्या भएको छ । रेड पाण्डाको संरक्षण र चोरी शिकारीमा स्थानीय सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।
लजालु स्वभावको वन्यजन्तु रेड पाण्डाको बासस्थान निगालोको जंगल भएकाले त्यसको संरक्षण गर्नुपर्ने उनको भनाइ छ । वन क्षेत्रमा हुने आगलागी, गाईवस्तु चरिचरन, बढ्दो मानवीय गतिविधि रेड पाण्डाको संरक्षणमा चुनौती बनेको उनले बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा १ देखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।
रेड पाण्डाको सहवास समय र सन्तान जन्माउने समयमा रेड पाण्डाको बासस्थानमा स्थानीयलाई जान नदिने, चरिचरण गर्न नदिने, कुकुर लग्न नदिने गरेमा यसको संरक्षण हुने जानकारको भनाइ छ । सामुदायिक वनहरूलाई रेड पाण्डा संरक्षणमैत्री गतिविधि सञ्चालन गराएमा प्रभावकारी हुने स्थानीय बताउँछन् ।
निगालोको टुसा र पात रेड पाण्डाको मुख्य आहारा हो । रातो हाब्रेको नामले चिनिने रेड पाण्डाको बासस्थान विनाश, चोरी शिकारीका घटना लगायतका कारण संरक्षणमा कठिनाइ भएको हो । दुर्गम क्षेत्रमा यातायात, मानव बस्ती र चरिचरण क्षेत्रको विस्तार, वन डढेलो, रासायनिक वस्तुको अधिकतम प्रयोग, चोरी शिकारी भइरहेको छ ।
गाउँगाउँमा सचेतना नपुग्नु पनि रेड पाण्डा मारिनु मुख्य कारण हो । विभिन्न संघ , संस्थाले रेड पाण्डासम्बन्धी कार्यक्रम गरे पनि प्रभावकारी नभएको सरोकारवालाको भनाइ छ ।
रेड पाण्डा पर्यटन प्रवर्धन गर्न र अध्ययन अनुसन्धान गर्न महत्त्वपूर्ण वन्यजन्तु मानिएको छ । समुद्री सतहबाट झण्डै ३ हजार ६०० मिटर उचाइमा बढी पाइन्छ । उच्च पहाडी क्षेत्रका वन क्षेत्रमा पाइने रेड पाण्डाको आयु ८ देखि १० वर्षसम्म हुन्छ । पुस र फागुनमा भाले लाग्ने र जेठदेखि साउनसम्म गर्भाधान हुने महिना हो ।