रास्कोट नगरपालिकाले नगरभित्रका सबै भौतिक संरचनाको विपद् बीमा गर्दै
सुर्खेत : कालीकोटको रास्कोट नगरपालिकाले नगरपालिका भित्रका सबै भौतिक संरचनाको विपद् बीमा गर्ने भएको छ भूकम्प,बाढीपहिरो र अन्य विपद्बाट हुने भौतिक संरचनाको बीमा गर्ने भएको हो ।
नगरपालिका भित्र रहेका तीन हजार नागरिकका घर, विद्यालय, अस्पताल, वडा कार्यालय र अन्य सरकारी भौतिक संरचनाहरुको विपद् बीमा गर्ने नगर कार्यपालिकाले निर्णय गरेको छ ।
बिभिन्न खाले प्राकृतिक विपत्ति तथा अन्य विपद्बाट हुने भौतिक संरचनाको क्षतिबाट न्यूनिकरणका लागि नगरपालिका भित्रका नागरिकका घर तथा अन्य सरकारी भौतिक संरचनाको बीमा गर्ने नगरपालिका प्रमुख धर्मराज शाहीले बताए । ‘कुनै पनि विपत्तिबाट रास्कोट नगरपालिका भित्र नागरिक घरमा क्षति पुगेका बीमाबाट रकम उपलब्ध गराइनेछ ।’ उनले भने,‘प्राबिधिक मुल्यांङकनका आधारमा न्युनतम रु. ५० हजार देखि पाँच लाखसम्मको बीमा सुबिधा पाउने गरि भौतिक संरचनाको बीमा गरिनेछ ।’
पहिलो चरणमा रास्कोट नगरपालिका भित्रका तीन हजार नागरिकको घरको बीमा गरिने र त्यसका लागि रु. १५ लाख विपद् बीमान जम्मा गरिने प्रमुख शाहीले जानकारी दिए । ‘बाढीपहिरोलगाएतका बिभिन्न विपद्बाट बर्सेनी नागरिकका घर, मानविय तथा भौतिक क्षति हुने गरेको छ ।’ उनले भने,‘त्यसको न्यूनीकरणका लागि नागरिक तथा सरकारी भौतिक संरचनाको बीमा गर्न लागिएको हो ।’
बीमाको नियम अनुसार प्रत्येक वर्ष सम्पत्ति बीमा अन्र्तगत सम्बन्धित घर धनीले प्रिमियम तिर्नु नपर्ने गरि बीमा गरिने नगरपालिका प्रवत्ता तथा वडा नं ९ का अध्यक्ष धनबहादुर धामीले बताए । ‘जोखिमको पूर्व तयारी स्वरुप नगरले विपद् राहात कोष खडा गर्ने र विपद् प्रतिकार्य योजना अनुसार नै बीमा गर्ने निर्णय भएको हो ।’ उनले भने,‘सबै नागरिक तथा सरकारी सम्पत्तिको भौतिक संरचनाको बीमा गर्दा यसले नागरिकलाई राहत दिनेछ ।’