२०८३, १७ असार बुधबार

निर्वाचनको महत्व

लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्ड भनेको निर्वाचन हो । निर्वाचनबाट नै जनताले आफूलाई मन परेको, आफ्नो भरोसायोग्य, समाज र देशका लागि केही गर्न सक्ने सक्षम, क्षमतावान्, प्रजातान्त्रिक मूल्य र मान्यतालाई बुझेको, आवाजविहीन जनताको आवाज बुलन्द गर्न सक्ने जनप्रतिनिधिको छनोट गर्ने अवसर प्राप्त गर्ने गर्छन् । जनप्रतिनिधिलाई सत्तामा पु¥याउने सम्पूर्ण अधिकार जनतामा निहित हुन्छ ।
संविधानमा नै लिपिबद्ध गरिएका नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र निष्पक्ष एवं सक्षम न्यायपालिका र कानुनी राज्य आदि विषयहरूलाई कार्यान्वयनमा ल्याई देशमा दिगो शान्ति र समृद्धि, विकास र सुशासनका लागि इमानदार, सक्षम एवं दूरदर्शी जनप्रतिनिधिको आवश्यकता पर्छ । यसैगरी स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनताका लागिसमेत जनताले पत्याएको व्यक्तिको चयनका लागि पनि निर्वाचनको आवश्यकता पर्छ । यसरी नै देश, जनतालाई धोका दिने, भ्रष्टाचार गर्ने नैतिकहीन जनप्रतिनिधिलाई सत्ताच्युत गरी कानुनी दायरामा ल्याउन तथा विकृति, विसंगति र जनताका भावनाविपरीतका गतिविधिहरू गर्ने राजनीतिक नेतृत्वलाई तह लगाउनसमेत आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका रहने गर्छ । राजनीतिक नेतृत्व सक्षम र इमानदार भएमात्र कर्मचारीतन्त्र पनि सही मार्गमा हिँड्छ अनि अनेक खालका बेथिति, विकृति र विसंगतिको अन्त्य गर्न सकिन्छ र देशमा सुशासन कायम भई जनताले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा, अवसर एवं संवैधानिक हक–अधिकार सहज रूपमा प्राप्त गर्न सक्छन् ।
तर हाम्रो देश नेपालमा भने मुख्य राजनीतिक दल र तिनका उम्मेदवारहरूले चुनावको बेला जनातसामु गरेका प्रतिबद्धताहरु प्रायः पूरा गरेको पाइँदैन । पूरा गर्न सकिने योजना एवं कार्यक्रमहरू अधुरा देखिन्छन् । स्थानीय सरकारदेखि केन्द्रीय सरकारका सदस्यहरू गाउँगाउँमा, टोलटोलमा भेटिन्छन्, उहाँहरूका लागि सवारीका साधनहरू उपलव्ध छन् तर सवारी साधन नभएका जनसमुदायका लागि यात्रा एकदमै कठिन छ । कोचाकोच र ठेलमठेल गरेर सार्वजनिक यातायातमा यात्रा गर्नुपर्ने बाध्यता छ । प्रत्येक वर्ष चाडपर्वका बेला त झन् बसको यात्रा गर्दा जनताले असाध्यै पीडा र कष्ट भोग्दै आएका छन् । यसरी नै सामान्य नागरिकले पैसाको अभावले औषधि नपाएर अकालमा ज्यान गुमाउनुपरेको अवस्था छ, लाखांै युवा स्वदेशमा रोजगारी नपाएर विदेसिन बाध्य छन् त कतिपय रोजगारी नपाई स्वदेशमै भौंतारिरहेका छन् । यी र यस्तै यावत् समस्याहरूको समाधान गर्न सक्षम, इमानदार, सक्रिय एवं दूरदर्शी उम्मेदवारलाई भोट हाली निर्वाचित गर्न पनि निर्वाचन नै हुनुपर्छ, जसका लागि जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा नागरिकले आफ्नो दायित्व, जिम्मेवारी र कर्तव्यको इमानदारीपूर्वक पालना गर्न सक्नुपर्छ ।