कर्णालीमा बागी लडेका धेरैले लिए उम्मेदवारी फिर्ता
सुर्खेत : कर्णाली प्रदेशमा बागी तथा स्वतन्त्रमा उम्मेदवारी दिएका धेरैले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिने हिजो(बुधबार) अन्तिम दिन धेरैले उम्मेदवारी फिर्ता लिएका हुन् ।
उम्मेदवारी फिर्ता लिनेमा गठबन्धन दल र स्वतन्त्र उम्मेदवारहरु पनि रहेका छन् ।
सुर्खेतमा लिए चार जनाले उम्मेदवारी फिर्ता
सुर्खेतमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । सुर्खेतमा गठबन्धन दल बिरुद्ध प्रतिनीधिसभामा उम्मेदवारी दिएका सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधि सभाका लागि गठबन्धनका साझा खड्काविरुद्ध बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका ठकुरीले उम्मेदवारी बुधबार उम्मेदवारी फिर्ता गरेका हुन् ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा एमालेका उम्मेदवार डण्डीप्रसाद शर्मा विरुद्ध बागी उम्मेदवारी दिएका खड्क खत्रीले उम्मेदवारी फिर्ता लिएका छन् । उनले निर्वाचन अधिकृतको कार्यालय गुर्भाकोटमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।
त्यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका दलबहादुर खत्री र युवराज शर्माले उम्मेदवारी फिर्ता लिएका छन् ।
समाजवादीले लिएन उम्मेदवारी फिर्ता
सुर्खेतमा नेकपा (एकीकृत समाजवादी केन्द्र) ले गठबन्धनको निर्णय विपरित दिएको उम्मेदवारी फिर्ता लिएको छैन । समाजवादीले सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) र (ख) मा उम्मेदवारी दिएको थियो । यद्यपि गठबन्धनको निर्णय अनुसार भने (क) मा कांग्रेसका कालीप्रसाद शाक्य र (ख) मा माओवादीका विन्दमान विष्ट उम्मेदवार बनेका छन् ।
समाजवादीले सुर्खेतमा कुनै पनि क्षेत्र आफ्नो भागमा नपरेपछि (क) र (ख) मा उम्मेदवारी दर्ता गराएको थियो । जस अनुसार (क) समाजवादीका जिल्ला इञ्चार्ज शिव उपाध्याय र (ख) मा जिल्ला अध्यक्ष मोहन बडुवालले उम्मेदवारी दर्ता गराएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुबै जनाको उम्मेदवारी कायम रहेको छ । समाजवादीका जिल्ला अध्यक्ष बडुवालले पार्टीको केन्द्रीय निर्णय अनुसार नै दुबै जनाको उम्मेदवारी कायम रहेको बताए ।
जुम्लामा चार जनाको उम्मेदवारी फिर्ता
जुम्लामा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । दुई स्वतन्त्रसहित चार जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । उम्मेदवारी फिर्ता लिनेमा नेपाली कांग्रेसबाट प्रदेश क्षेत्र (२)मा स्वतन्त्र उम्मेदवारी दिएका दिपबहादुर शाही र एकीकृत समाजवादीका नन्दराम रोकायाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
शाही यसअघि कांग्रेस जुम्लाका दुई कार्यकाल जिल्ला सभापति चलाइसकेका व्यक्ति हुन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अंगद देवकोटा र राप्रपा नेपालका भक्तिप्रसाद धितालले उम्मेदवारी फिर्ता लिएका हुन् । जुम्लाबाट प्रतिनिधिसभामा ५ जनाले मनोनयन दर्ता गरेका थिए । राप्रपाबाट ज्ञानबहादुर शाही, नेकपा एमालेका रतननाथ योगी, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गोमा कुँवर गौतम, नेमकिपाबाट डिल्लीप्रसाद काफ्ले र गठबन्धन भित्रको दल माओवादी केन्द्रबाट कलबहादुर रोकायाले उम्मेदवारी दिएका थिए । प्रतिनिधिसभामा कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् ।
यसैगरी प्रदेश क्षेत्र (१)मा गठबन्धन दलबाट कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही, एमालेका धिरेन्द्रराज गिरी, नेमकिपाका राजेश्वर देवकोटा र स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीको उम्मेदवारी कायमै छ । कांग्रेस प्रदेश सभापति शाहीविरुद्ध देवेन्द्रबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । स्वतन्त्र उम्मेदवार शाही प्रतिनिधिसभा निर्वाचन २०७४ का कांग्रेसका बलिया उम्मेदवार थिए ।
प्रदेश क्षेत्र (२) मा गठबन्धन दलबाट एकीकृत समाजवादीका पदमबहादुर रोकाया, एमालेका टेकराज पछाई, राप्रपाका देवप्रसाद न्यौपाने र नेमकिपाका बिर्खबहादुर रावलले उम्मेदवारी दिएका हुन् ।
उम्मेदवारी फिर्ता लिनेक्रम सकिएकोले उम्मेदारलाई चुनाव चिह्न प्रदान गर्ने कार्य सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी गणेशबहादुर आचार्यले जानकारी दिए ।
रुकुम पश्चिममा कांग्रेसका सबै उम्मेदवारले उम्मेदवारी फिर्ता लिए
सुर्खेत । रुकुम पश्चिममा कांग्रेसका सबै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिएका नेपाली कांग्रेसकासहित स्वतन्त्र उम्मेदवारहरुले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन् ।
उम्मेदवारी फिर्ता लिनेमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार मानबहादुर नेपाली, स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसकै लालबहादुर महत, कांग्रेसबाट प्रदेश सभा (क) का उम्मेदवार कृष्ण रोकाय रहेका छन् । प्रदेश निर्वाचन क्षेत्र (ख) मा स्वतन्त्र उम्मेदवारी दिए नेपाली कांग्रेसका खड्कबहादुर डाँगीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
यो क्षेत्रका कांग्रेस उम्मेदवार प्रेमप्रकाश ओलीको उम्मेदवारी भने मंगलबार खारेज भएको थियो । त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (क) मा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व जनमुक्ति सेनाका कमाण्डर भिमदत्त खड्काले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएको छन् । गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने गरी पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको नेपाली कांग्रेसका जिल्ला सचिव परमेश्वर भण्डारीले जानकारी दिए । पार्टी केन्द्रको निर्देशन अनुसार गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने गरी आफ्ना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको उनको भनाई रहेको छ ।
रुकुमपश्चिममा गठबन्धनकातर्फबाट प्रतिनिधि सभामा जनार्दन शर्मा र प्रदेश सभा क मा महेन्द्र केसी तथा ख मा राजकुमार शर्मा उम्मेदवार रहेका छन् ।
नेकपा एमालेबाट प्रतिनिधि सभामा नन्दराम देवकोटा र प्रदेश क मा नारायणकुमार शाह तथा ख मा कर्णबहादुर घर्ती उम्मेदवार रहेका छन् । प्रतिनिधि सभामा नेपाली कांग्रेसका तारक केसी स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
सहायक निर्वाचन अधिकृत कृतबहादुर बोहराले निर्धारित समयमा उम्मेदवारी फिर्ताका लागि निवेदन परेको र उक्त निवेदन दर्ताको चरणमा रहेको बताउदै तीन बजेसम्ममा अन्तिम नामावली सार्वजनिक हुने बताए ।
