जडिबुटी खेती घट्दै
सुर्खेत : पश्चिम नेपालका कर्णाली प्रदेशलगायत कर्णाली प्रदेश र लुम्बिनी का पहाडी तथा हिमाली जिल्लामा जडिबुटीको खेती घट्दै गएको छ । योसँगै जडिबुटी संकलन र भारततर्फ हुने निकासीसमेत बर्सेनि घट्दै गएको छ ।
आम्दानीको मुख्य स्रोत जडिबुटीको खेती, संकलन र निकासी सबै घट्दा त्यसमा प्रत्यक्ष रुपमा संलग्न हजारौं सर्वसाधारणको आम्दानी प्रभावित भएको छ । जसका कारण उनीहरूको आर्थिक अवस्थामा समेत ठूलो प्रभाव परेको छ ।
जडिबुटी खेतीसम्बन्धी प्रस्ट नीति र कार्यक्रम नहुँदा किसानले आफ्नो खेतबारीमा जडिबुटी खेती गर्न नसकेको किसानको गुनासो छ । वन जंगलमा जडिबुटी मासिने क्रम बढेको र किसानलाई जडिबुटी खेती गर्ने वातावरण समेत नबनाइएकाले खेती पनि घट्दै गएको कालिकोटका जडिबुटी किसान अजबहादुर गिरीले बताए ।
किसान गिरीका अनुसार सबैको ध्यान संकलन र निकासीमा मात्र गएकाले खेतीतर्फ कसैको चासो नदेखिएको हो । अझै केही समय यस्तै गरिने हो भने जडिबुटीको खेती समाप्त भएर जाने किसानहरूको भनाइ छ । यस्तै जडिबुटीको संकलन व्यवस्थित रुपमा नगरिँदा जडिबुटी मासिने र उत्पादन घट्ने क्रम देखिएको संकलनकर्ताको भनाइ छ ।
पहाडी जिल्लाहरूमा धेरै सम्भावना भए पनि खेतीमा खासै जोड नदिइएकाले जडिबुटी खेती र संकलन नभएको तथा निकासीसम्बन्धी वर्षौं पुराना अव्यावहारिक नीति परिमार्जन हुन नसक्दा जडिबुटी व्यवसाय खस्किँदै गएको नेपाल जडिबुटी व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष राजेश जैनले बताए ।
जैनका अनुसार जडिबुटीको उत्पादन वृद्धिका लागि जडिबुटी खेतीमा किसानलाई प्रोत्साहित गर्ने, अध्ययन अनुसन्धान गर्ने र जडिबुटी प्रशोधन केन्द्र खोल्ने जस्ता काम अझै प्रभावकारी रुपमा हुन सकेको छैन ।
जडिबुटीको संकलन अनुमति र निकासीमा देखिएका समस्या हटाउनु पर्ने आवाज वर्षौंदेखि उठिरहे पनि समस्या समाधानतर्फ प्रगति हुन नसकेको उनको भनाइ छ ।
जडिबुटी खेती गर्ने किसानलाई तालिम, सहुलियत दरमा ऋण उपलब्ध गराउने, जडिबुटी उद्योग स्थापनाका लागि अनुदान दिने जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवसायीहरूको माग छ ।
जडीबुटी प्रशोधन गरेपछि व्यवसायीले आफ्नो उत्पादनलाई स्वतन्त्र रुपमा बिक्री वा निकासी गर्न नपाउँदा समस्या भएको कालिकोटका जडिबुटी किसान प्रेमबहादुर शाहीले बताए । ‘प्रशोधित उत्पादन स्वतन्त्र रुपमा बिक्री वितरण गर्न नपाउने कानुनी व्यवस्थाले व्यवसायीहरू मारमा परेका छन्,’ उनले भने ।
अर्कोतिर, जडिबुटी भण्डारणका लागि शीतभण्डार नहुँदा जडिबुटी व्यवसायीले बर्सेनि लाखौंको क्षति बेहोर्दै आएका छन् ।
नेपालबाट निकासी हुने कतिपय जडिबुटीको नाम भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा समावेश नहुँदा निकासीमा अनेकौं समस्या भइरहेका छन् । जडिबुटीको निकासीलाई सहज बनाउनेतर्फ सरकारी निकायबाट पहल नहुँदा जडिबुटीको कारोबार फस्टाउन नसकेको व्यवसायीहरूको गुनासो छ । नेपालगन्ज नाका हुँदै वार्षिक करिब १ अर्ब रुपैयाँ बराबरको जडिबुटी भारत जाने गरे पनि निकासी परिमाण बर्सेनि घट्दै गएको छ ।