२०८१, २२ मंसिर शनिबार

सुर्खेतमा विद्युतिय सवारी चार्जिङ स्टेसन निर्माण गरिँदै

सुर्खेत :  सुर्खेतमा विद्युतीय सवारी चार्जका लागि सुर्खेतमा चार्जिङ स्टेसन निर्माण थालिएको छ । नेपाल विद्युत प्राधिकरणले वीरेन्द्रनगर नगरपालिकास्थित बसपार्क क्षेत्रमा चार्जिङ स्टेसन निर्माण सुरु गरेको हो ।
नेपालभर ५१ स्थानमा चार्जिङ स्टेसन निर्माण गर्ने नेपाल विद्युत प्राधिकरणको लक्ष्य अनुसार सुर्खेतमा पनि निर्माण गर्न थालिएको हो । यो कर्णाली प्रदेशको पहिलो चार्जिङ स्टेसन हुनेछ ।
सुर्खेतमा पनि दुई वटा चार्जिङ स्टेसन निर्माण गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी भोलानाथ शर्माले बताए । ‘एउटा चार्जिङ स्टेशनमा ठूला बससहित तीनवटा सवारी साधनले एक साथ चार्ज गर्न सकिन्छ ।’ उनले भने,‘प्रत्येक चार्जिङ स्टेनमा १ सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिनेछ ।’
चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरसमेत राखिने छ ।
विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत अहिले सबै प्रदेशमा चार्जिङ स्टेसन निर्माण कार्य भइरहेको शर्माले बताए । ‘सबै प्रदेशका मुख्य राजमार्ग, बसपार्कलगायतका स्थानमा चार्जिङ स्टेसन निर्माण सुरु गरिएको छ ।’ उनले भने,‘कारहरूमा औसत ७० पैसा, एसयूभीमा ८० पैसा, माइक्रोबसमा नब्बे पैसा र बसहरूमा एक रुपैयाँ २० पैसा लागत बराबर प्रतिकिलोमिटर विद्युत खपत हुन्छ ।’
चार्जिङ स्टेसनमार्फत चार्ज गर्दा सवारी साधनमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि एक घण्टासम्ममा पूर्ण चार्ज हुने शर्माले बताए ।
यस्तै कर्णालीको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्रदेशमा चार्जिङ स्टेसन निर्माणका लागि सम्भाव्यता अध्ययन तयारी थालेको छ । सुर्खेत, दैलेख र सल्यानमा चार्जिङ स्टेसन निर्माणका लागि प्रदेश सरकारले बजेटसमेत विनियोजन गरेको हो ।
चार्जिङ स्टेसनको सम्भाव्यता अध्ययनका लागि चालू आर्थिक वर्षमा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयको योजना महाशाखाका इन्जिनियर प्रेमबहादुर वली बताए । ‘त्यसबाट कर्णालीका कुन कुन स्थानमा चार्जिङ स्टेसन निर्माण गर्न सकिन्छ भन्ने विषयमा अध्ययन हुनेछ ।’ उनले भने,‘सम्भाव्यता अध्ययनको नतिजा अनुरुप चार्जिङ स्टेसन निर्माण गरिने प्रदेश सरकारको योजना छ ।’