उम्मेदवारका एजेन्डा हेरौं
आगामी कार्तिक ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि राजनीतिक दलहरुले उम्मेदवारको सिफारिस गर्न थालेका छन् । त्यत्तिकै स्वतन्त्र लड्ने पनि घोषणासमेत कयौंले गरेका छन् । तर, उनीहरुका एजेन्डाका बिषयमा मतदाताहरुले सचेत रहन जरुरी रहेको छ । दलका तर्फबाट चुनावी उम्मेदवार बनेका व्यक्तिको पनि खाद्यान्न माग्ने भिखारीकै जस्तो एकतर्फी मत माग्ने तर बदलामा मतदातालाई आफ्नो पदीय दायित्वबाटै प्रदान गर्न सक्ने सेवा सुविधा प्रदान गर्ने गराउन नचाहने देखिन्छ । भिक्षा माग्ने भिखारी एउटै घरमा बराबर आइरहँदैनन्, आए पनि लामो समयकै अन्तरालमा आउन सक्छन् । चुनावमा उठेका उम्मेदवार पनि मतदाताकै घरदैलामा पुगेर मत माग्छन्, मत प्राप्त गरी विजयी बनेपछि फर्केर आउँदैनन् । न त मत हत्याउन गरेको वाचाबन्धन नै पूरा गर्नुपर्दछ भन्ने नै ठान्छन् । जनमतले पदासिन गराएपछि मत माग्ने यिनै भिखरी मतदाताको मालिकमा परिणत हुन्छन् । उल्टै उनीहरूको व्यवहार मतदातालाई भिखारी बनाउने हुन्छ । राजनीतिक उद्देश्य यो नभए पनि राजनीतिक व्यक्तिको पछिल्लो व्यवहार यसरी परिवर्तन भएको देखिन्छ । अझै पनि यही प्रवृत्तिकै व्यक्ति छानिरहने कि ? मतदातासँग पूर्ण लोकतान्त्रिक व्यवहार अपनाउने र आफ्नो कर्तव्य पूरा गर्ने व्यक्ति छनोट गर्ने ? भन्ने दायित्व आममतदाताकै हो । यससम्बन्धी समयमै हामीले बुद्धिमतापूर्ण ढंगले निर्णय गरिएपछि पछुताउनुपर्दैन ।
जनताले छानेको जनप्रतिनिधिले जनभावनाअनुरूप शासन सञ्चालन गर्ने, सिंहदरबारको अधिकार गाउँबस्तीमै दिलाउने, कसैले अन्यायमा पर्नु नपर्ने, जनताको हकअधिकार सुनिश्चित हुने, एकघर एकरोजगारको व्यवस्था हुने, नागरिक हकअधिकार सबैले समान रूपले उपभोग गर्न पाउने, इच्छाएको पेसा व्यवसाय सञ्चालनकर्तालाई प्रोत्साहन दिने, कसैको हकअधिकार कृण्ठित नगरिने, न्यायिक समानता कायम राखिने, भ्रष्टाचार र कालो बजारी नियन्त्रण गरिने, गैरकानुनी कार्य गर्ने जोसुकैले पनि कानुनी कठघारमा उभिनै पर्ने, अपराध नियन्त्रण गरिने, शान्तिसुरक्षा प्रभावकारी बनाइने, सत्तासिन व्यक्तिको व्यवहार शासकको नभै सेवकको रूपमा हुने, समष्टिगत रूपमा सर्वपक्षीय सुधार गरी नयाँ नेपाल निर्माण गर्ने चुनावी एजेन्डा सबै दल र उम्मेदवारका छन् । चुनावी नारा बन्दै आएका यी एजेन्डा हालसम्म को कसले कति पूरा गरे ? कति पूरा भएनन् भन्नेतर्फ न त जनताले न नेताले नै समीक्षा गरे । तर, यस्तै एजेन्डा लिएर घरदैलोमा आउने उम्मेदवारलाई अब मतदाताले विगतको चुनावी एजेन्डा कति पूरा भए कति भएनन्, नभए किन भएनन् भनी स्पष्टीकरण लिने बेला आएको छ ।
