एमालेबाट बानियाँ र कांग्रेसबाट शाही सर्वसम्मत सिफारिस
मुगु : आगामी मंसिर ४ मा हुने संघीय र प्रदेश निर्वाचनका लागि दलहरूले उम्मेदवारको नाम सिफारिस गरिरहेका छन् ।
कांग्रेसले मुगु सभापति ऐन बहादुर शाहीलाई प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस गरेको छ । यसैगरी एमालेले मोहन बानियाँलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
सांसद बानियाँ एमालेका पोलिटब्युरो सदस्य, कर्णाली प्रदेश कमिटी सहइन्चार्ज र मुगु जिल्ला इन्चार्ज हुन् । भदौ १६ र १७ मा बसेको कांग्रेस जिल्ला कार्यसमिति बैठकले पार्टी सभापति शाहीलाई प्रतिनिधिसभा सदस्यका लागि एकल उम्मेदवार सिफारिस गरेको हो । एमालेको १८ र १९ गते बसेको जिल्ला कमिटी बैठकले बानियाँलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि एकल सिफारिस गरेको छ ।
२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा शाही कांग्रेसबाट र बानियाँ एमालेबाट चुनाव लडेका थिए । उक्त निर्वाचनमा बानियाँ विजयी भएका थिए । कांग्रेसले प्रतिनिधिसभा समानुपातिक तर्फका हस्त बहादुर मल्ल, धनशीला मल्ल र मीन भामको नाम सिफारिस गरेको छ । प्रदेश (क) अन्तर्गत प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ खगेन्द्र बहादुर मल्ल, हरिजङ्ग शाही र तिलक बहादुर मल्लको नाम सिफारिस भएको छ ।
प्रदेश (क) अन्तर्गत समानुपातिकतर्फ सूर्यदेवी मल्ल, पदम बहादुर रावल, कार्माफुन्जोक लामा, लक्ष्मीदेवी रावत, भीम तिरुवा, च्यावा लामा, फुन्जोक लामा, रमाइली रावल र खुम्मेनी कामीको नाम सिफारिस भएको छ ।
प्रदेश (ख) अन्तर्गत प्रत्यक्षतर्फ खडक बहादुर शाही, रतन बहादुर शाही र लेक विक्रम शाहको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फका जन्मजय भण्डारी, गोमा गिरी, रुपकर्णा शाहीलाई, लोकबहादुर शाही र महेश गिरी सिफारिस भएका छन् ।
मुगु एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा मोहन बानियाँलाई सर्वसम्मत सिफारिस गरे पनि प्रतिनिधिसभा समानुपातिक उम्मेदवार, प्रदेश ‘क’ र ‘ख’ का प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम अझै टुंगो लगाउन सकेको छैन ।
