२०८१, २० बैशाख बिहीबार

चार सय ८० मेगावाटको फुकोट–कर्णाली बनाउन एनएचपिसीलाई दिने तयारी

सुर्खेत : चार सय ८० मेगावाटको फुकोट–कर्णाली अर्धजलाशय जलविद्युत आयो भारतीय कम्पनी एनएचपिसीले लगानी गर्न इच्छुक भएको छ । पश्चिम सेती र सेती–६ बनाउनका लागि लगानी बोर्डसँग समझदारी गरेको भारतीय कम्पनी एनएचपिसी नेपालका फुकोट कणालीमा लगानी गर्नका इच्छुक भएको हो ।
कम्पनीले गत बिहीबार मात्रै पश्चिम सेती र सेती नदी–६ आयोजना बनाउन लगानी बोर्डसँग समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरिसकेको छ । त्यसबाहेक फुकोट–कर्णाली बनाउने आशय देखाउँदै एनएचपिसीले लगानी बोर्डमा आवेदनसमेत दिइसकेको छ । एनएचपिसीले पश्चिम सेती र सेती नदी–६ सम्बन्धी समझदारी नहुँदै आवेदन दिएको हो ।
विशेष गरि यसअघि फुकोट–कर्णाली र मुगु–कर्णाली आयोजना सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले बनाउने गरी प्रक्रिया अघि बढाएको थियो । तर, लगानी अभावलगायतका समस्या देखिएपछि उक्त दुई आयोजनामा पनि विदेशी लगानी तथा विकासकर्ता खोजिएको थियो । सोही क्रममा एनएचपिसीले उक्त दुई आयोजनासमेत बनाउने आवेदन दिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले थप दुई आयोजना बनाउने गरी एनएचपिसीबाट आवेदन आएको पुष्टि गरे ।
९२ अर्ब तीन करोड रुपैयाँ लागत अनुमान गरिएको फुकोट–कर्णाली आयोजना कालिकोट जिल्लामा बन्नेछ । त्यसलाई कर्णाली प्रदेशकै गौरवको आयोजनाका रूपमा ल्याइएको छ । यस आयोजनामा कर्णाली नदीको पानीलाई सात सय ६४ मिटर लामो तथा आठ मिटर व्यास भएको सुरुङमार्फत सान्नी त्रिवेणी सिस्नेगडामा एक सय ८० मिटर अग्लो ड्याम बनाएर जम्मा गरिनेछ । उक्त बाँध ११ किलोमिटरसम्म फैलिनेछ । साथै, यस आयोजनाको विद्युत्गृह भने भौरेकुनामा बनाइनेछ । त्यसपछि ड्याममा जम्मा भएको पानी सोही विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ ।
उक्त आयोजनाबाट वार्षिक दुई हजार चार सय ४७ गिगावाट आवर विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । यस आयोजनाको विद्युत् डबल सर्किटको चार सय केभी प्रसारण लाइनबाट २.३ किलोमिटर टाढा रहेको रेलिङ सबस्टेसनमा जोडिनेछ । त्यसपछि उक्त विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । फुकोट–कर्णाली आयोजनाको जग्गा अधिग्रहण, सुरुङ खन्नेलगायतका काम भने सुरु भइसकेको छ । तर, लगानी अभावका कारण आयोजना निर्माणले गति लिन सकेको छैन । त्यसपछि भारतीय कम्पनीलाई उक्त आयोजना बनाउन दिन लागिएको हो । विद्युत् उत्पादन कम्पनीले सन् २०१७ मा यस आयोजना निर्माण अनुमति पाएको थियो । यो आयोजना बन्दा सात हजार युवाले रोजगारी पाउने अपेक्षा गरिएको छ । साथै, पर्यटन विकासमा पनि योगदान पुग्ने विश्वास छ । यो आयोजना बन्दा झन्डै एक हजार रोपनी क्षेत्र प्रभावित हुनेछ । विशेष गरी कालीकोटका सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका र पचालझरना गाउँपालिकाका स्थानीय तहका केही भागहरू डुबानमा पर्ने अध्ययनले देखाएको छ ।