२०८१, ७ बैशाख शुक्रबार

कर्णाली प्रतिष्ठानका कर्मचारीबाट कुटिए चिकित्सक

जुम्लामा कर्मचारीबाटै कुटिए डाक्टर « प्रशासनसुर्खेत : चौथो तहका कर्मचारी धनराज शाही बिहीबार विहान ९ बजेतिर आफ्नो छोराको टाँका काट्न भन्दै इमर्जेन्सीमा पुगे। इमर्जेन्सी विभागका डा. करण शाहलाई टाँका काटिदिन अपील गरे । बिरामी हेरिरहेका डाक्टरले ११ बजेपछि मात्रै टाँका काटिदिने बताए ।
कर्मचारी शाहीलाई डाक्टरको कुरा चित्त नबुझेपछि विवाद बढ्न थाल्यो । डा. शाहले तत्काल टाँका काट्न नसकिने बताइरहेका बेला कर्मचारी शाही आक्रमणमै उत्रिए । काममा खटिएका डाक्टरलाई हात हाले । उनले हात मात्रै हालेनन् डाक्टरलाई लात्ती–लात्तीले कुटे ।
ढलेका डा. शाह पटकपटक उठ्न खोज्दा पनि कर्मचारी शाहीले कुटिरहे । त्यसो त ड्युटीमा खटिएका डा. शाहलाई प्रतिष्ठानकै कर्मचारी शाहीले कुटपिट गरेका हुन् ।
घटनापछि प्रतिष्ठानका डाक्टरहरूले आफू असुरक्षित भएको भनी पीडकलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । उनको टाउको र पेटमा गम्भीर चोट लागेको छ ।
‘नो बेल, ओनली जेल’ नारा लगाइरहेका उनीहरू स्थानीयबाट असुरक्षित भएको बताउँछन् । घटनाबारे आफ्नो नाम खुलाउन समेत डराइरहेका छन्, डाक्टर ।
प्रतिष्ठानका एक विशेषज्ञ डाक्टरले भने, ‘हाम्रा आफ्ना कमजोरी छन् भने पनि सुधार गरौंला । तर टाँका खुलाउने जस्तो सामान्य काम इमर्जेन्सीमा रहेको डाक्टरले गर्दैन ।’
उनका अनुसार इमर्जेन्सीको कुनैपनि हालतमा गर्दिन भन्न पनि पाउँछ । यही विषयलाई लिएर कुट्नु अपराध हो । अपराधीलाई कारबाही सिवाय अरुथोक हुँदैन ।
डाक्टर कुट्ने शाहीलाई जुम्ला प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यो घटनालाई प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई आफैले चासो लिएकी छन् ।
प्रहरीले अनुसन्धान गरिरहेको घटनामा आफूहरूले बोल्न नमिल्ने भन्दै प्रतिष्ठानका पदाधिकारीहरू मौन छन् ।
तथापि प्रतिष्ठानको ऐन निमय अनुसार विभागीय कारबाही हुने एक उच्च अधिकारीले बताएका छन् । उनले भने, ‘यस्तो घटनालाई हल्का रूपले लिएर हुँदैन । हामी नियमानुसार कारबाही गर्छौं । त्यो कारबाही जागिरबाट हात धुनुपर्नेसम्मको हुन सक्छ ।’
घटनापछि डा. शाहले आक्रमणकारीमाथि कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको नेपाल चिकित्सक संघ जुम्ला शाखाका उपाध्यक्ष डा. कमल थानीले बताएका छन् ।