२०८१, २१ बैशाख शुक्रबार

पच्चीस वर्ष नपुग्दै सम्बन्ध विच्छेद

सुर्खेत : जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–८ डोंग्रीकी भगवती शाहीको २० वर्षको उमेरमा सम्बन्ध विच्छेद भयो । एसएलसी पास गर्नेबित्तिकै १६ वर्षको उमेरमा जुम्लाकै चन्दननाथ नगरपालिका–१० का आफूसँगै पढ्ने केटासँग उनले विवाह गरेकी थिइन् । तर, उनको वैवाहिक सम्बन्धले पाँच वर्ष पनि पार गर्न पाएन । मुलुकी अपराध संहिताले विवाह गर्न गराउन अनुमति दिएको २० वर्षे उमेरमा पुग्दासम्म त उनको सम्बन्ध विच्छेद नै भइसकेको थियो ।
सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–५ लुहामकी एक किशोरीले प्रेम विवाह गरेको पाँच वर्षमा नै जिल्ला अदालत सल्यानमा सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरिन् । विवाह हुँदा किशोरी १६ वर्षकी थिइन् भने किशोर १८ वर्षका । विवाह गर्ने उमेर नै नपुगी किशोरी एक बच्चीकी आमासमेत बनिन् । श्रीमान्सँग उनको वादविवाद, आरोप प्रत्यारोप चल्यो । अन्ततः विवाह गर्ने सुरु उमेरमा उनको पनि सम्बन्ध विच्छेद नै भयो ।
यी यस्ता प्रतिनिधि घटना हुन्, जसले बालविवाहजन्य विकृतिको असर सम्बन्ध विच्छेदमसम्म पुग्ने देखाउँछन् । त्यति मात्र होइन, नवयुवतीमै सम्बन्ध विच्छेद भएपछि महिलाको जीवनमा हिंसाबाट कहिल्यै जोगिन नसकिने फराकिलो यात्राको सुरुआत हुने कुराको सङ्केत यी घटनाले गर्दछन् । महिलामाथि हुने हिंसामा तिनका बालबालिकाको जीवन पनि जोडिएको हुन्छ । यसले हिंसाको पुस्तान्तरणलाई पनि जनाउँछ । मानव विकासको सन्दर्भमा यो बेलैमा सल्टाउनुपर्ने गम्भीर विषय हो ।
मूल कारण बालविवाह
पच्चीस वर्ष नपुग्दै सम्बन्ध विच्छेद हुनु वा सम्बन्ध विच्छेदका मुद्दाहरू पर्नाका पछाडिको मूल कारण त कानुनको आँखा छलेर उमेर नपुग्दै गरिने विवाह नै हो । बालविवाह भएकाहरूको सम्बन्ध विच्छेद पनि सानै उमेरमा हुने सम्भावना बढी रहेको नेपाल मानव अधिकार वर्ष पुस्तक (नेमाअवपु) २०२१ ले औँल्याएको छ ।
जुम्लालगायत कर्णाली प्रदेशमा नै बालविवाह अत्यधिक छ । कर्णाली प्रदेशमा ५२ प्रतिशतले बालविवाह गरेको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कले देखाउँछ । जुम्ला जिल्लाको मात्र कुरा गर्दा २२ हजारभन्दा बढी किशोरीको २० वर्षभन्दा कम उमेरमा विवाह भएको तथ्याङ्कले देखाउँछ । यसले गर्दा जुम्लालगायत कर्णाली प्रदेशमा २५ वर्ष नपुग्दै औपचारिक रूपमा नै सम्बन्ध विच्छेद हुने गरेका घटनाहरू पनि बढेका छन् ।
बिस वर्ष नपुग्दै विवाह गर्नेहरूमा किशोरभन्दा किशोरीहरूको सङ्ख्या बढी रहेको पनि जनगणना २०६८ को तथ्याङ्कले देखाउँछ । सो तथ्याङ्कअनुसार, जुम्लामा २० वर्ष नपुग्दै विवाह गरेकाहरूमा बालक तथा किशोरहरूको संख्या १३ हजार ८७५ र बालिका तथा किशोरीहरूको सङ्ख्या २२ हजार ५४८ रहेको छ ।
डिभोर्स नेपाल नामक संस्थाले पनि सम्बन्ध विच्छेदका कारणहरूमध्ये एक सानै उमेरमा भएको विवाहलाई औँल्याएको छ । सो संस्थाले काठमाडौँ जिल्ला अदालतमा सन् २०१८ र २०१९ मा चलिरहेका एक सय वटा मुद्दाको अध्ययन गरेको थियो । उक्त अध्ययनले कुल १०० व्यक्तिमध्ये २२ जना कम उमेरका रहेको देखाएको छ । डिभोर्स नेपालले करिअर बनाउने समयमा विवाह गर्दा धेरै मनमुटाव बढेको र अन्त्यमा सम्बन्ध विच्छेदसमेत भएको उल्लेख गरेको छ ।
नेमाअवपु २०२१ का अनुसार, २० वर्षभन्दा कम उमेरमा हुने विवाहले गरिबी, बालिका बेचबिखन तथा ओसारपसारका घटना वृद्धि भएका छन् । सम्बन्ध विच्छेदका घटनामा वृद्धि हुनु र महिला हिंसाका घटना बर्सेनि थपिनुलाई पनि बालविवाहको नकारात्मक परिणामको रूपमा लिइएको छ ।
कानुनले रोक्दा रोक्दै पनि बालविवाह भइरहनाका धेरै कारण छन् । कर्णालीको सन्दर्भमा जुम्लामा रही महिला अधिकारका क्षेत्रमा काम गर्दै आएका अधिकारकर्मीहरूले जनाएअनुसार, घरमा काम गर्ने मान्छेको सङ्ख्या बढाउन पनि अभिभावकहरूले छोराको विवाह कमै उमेरमा गर्ने र त्यसका लागि विवाहयोग्य उमेर नै नपुगेकी बुहारी भित्र्याउने गर्दछन् ।
हिमा गाउँपालिकाकी पूर्व उपाध्यक्ष तथा महिला नेतृ हिमाली रोकाया अभिभावकमा शिक्षा तथा चेतनाको कमी, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी नहुँदा पनि बालविवाहले उग्र रूप लिएको बताउँछिन् ।
चन्दननाथ नगरपालिका महिला शाखा प्रमुख माया थापा गरिबीमा थिचिएर छोरा तथा छोरीबिचमा विभेद गरिने भएका कारण पनि कर्णालीका कतिपय छोरीहरूको विवाह सानै उमेरमा हुने गरेको बताउँछिन् । लैङ्गिक विभेदको यो चक्रलाई तोड्न जरुरी रहेको पनि उनी ठान्छिन् ।
डिभोर्स नेपालले चाहिँ सामाजिक सञ्जालको दुरुपयोग र अनेक कारणबाट सानो उमेरमा मायाजालमा पर्ने र विवाह गर्ने चलन बढेको उल्लेख गरेको छ । सामाजिक सञ्जालको दुस्प्रभाव र मायाजालको सन्दर्भ कर्णालीका केही जिल्लाका केही व्यक्तिको हकमा पनि लागू हुन्छ ।
बहुविवाहको समस्या पनि
सानै उमेरको सम्बन्ध विच्छेदसँग बालविवाह मात्र होइन, बहुविवाहको समस्या पनि जोडिएको पाइन्छ । जिल्ला अदालत जुम्लामा आर्थिक वर्ष (आव) २०७८÷७९ मा चालु रहेका सम्बन्ध विच्छेदका १६ वटा मुद्दामा आठ वटा मुद्दा २५ वर्षमुनिका नवयुवतीहरूको रहेको सो अदालतबाट थाहा भएको छ । यसको अर्थ सम्बन्ध विच्छेदका चालु मुद्दाहरूमा ५० प्रतिशत मुद्दाका पक्ष वा विपक्षी महिलाहरू २५ वर्षमुनिका छन् । नेमाअवपु २०२१ का अनुसार, जिल्ला अदालत सल्यानमा आव २०७५÷७६ मा परेका ४६ वटा सम्बन्ध विच्छेदका मुद्दामा महिलाहरू २५ वर्षमुनिका थिए । यस्तै, आव २०७६÷७७ मा ३९ र आव २०७७÷७८ को पहिलो छ महिनामा ३० वटा सोही प्रकृतिमा मुद्दामा महिलाहरू २५ वर्षमुनिका रहेको पनि सो वर्ष पुस्तकमा उल्लेख छ ।
जुम्ला जिल्ला अदालतका सुपरिन्टेन्डेन्ट अस्त अधिकारीको अवलोकनमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराउन आउनेहरूमा ३२ वर्षमुनिका महिलाहरू धेरै छन् । उनका अनुसार, पतिले घरेलु हिंसा गरेकाले न्याय माग्न आएको बताउने ती महिलाहरू ३२ वर्ष पुग्दा नपुग्दै तीन चार बच्चाका आमा पनि बनिसकेका हुन्छन् । यसमध्ये कतिपय त बहुविवाह पीडित पनि हुन्छन् ।
सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाईंका अनुसार, श्रीमान्ले घरकी श्रीमती छोडेर अरू महिलासँग लाग्ने, घरमा श्रीमतीलाई यातना दिने गरेका कारण महिलाहरू सम्बन्ध विच्छेद गर्न बाध्य हुने गरेका छन् । बालविवाहले बहुविवाहको पनि समस्या निम्त्याएको चौलागाईंको धारणा छ ।
बहुविवाह यस्तो एउटा जटिल समस्या देखिएको छ, जुन सम्बन्ध विच्छेद गराउने कारण मात्र नभएर सम्बन्ध विच्छेदपछिको जीवनका लागि अपनाउन सकिने सम्बन्धको एउटा बाटो पनि हो । यसबाट बालबालिका पनि प्रभावित हुन पुग्छन् ।
बालबालिकाको पनि बिचल्ली
सम्बन्ध विच्छेदको परिणाम पति र पत्नीबिचको सम्बन्ध विच्छेद हुनुमा मात्र सीमित रहँदैन । यसले महिलाहरू खासगरी किशोरीहरूको जीवनमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ । अझ पूर्व दम्पतीको सन्तानको लालनपालन र भविष्य निर्माणमा समेत असर पार्दछ । तातोपानी गाउँपालिकाकी ईश्वरी रावतले घरपरिवारको किचलो र श्रीमान्ले गर्ने गरेको हिंसा सहन नसकेर जुम्लाको जिल्ला अदालतमा २०७६ सालमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी थिइन् । अदालतले छोरा र छोरीको पालनपोषण बाबुले गर्ने गरी सम्बन्ध विच्छेद गरिदियो । व्यवहारमा बाबु जिम्मेवार देखिएनन् । उनीहरूका छोराछारी बिचल्लीमा परे ।
‘पालनपोषणको कुरा त छाडौँ अहिले बाबु कहाँ छन् भन्नेसमेत अत्तोपत्तो छैन,’ रावत भन्छिन्, ‘१४ वर्षको छोरा र १० वर्षकी छोरीलाई आफूसँगै राखेर पालनपोषण गरेको छु । जुम्लाबजारमा होटल गरेर छोरा र छोरीलाई स्कुल पढाएकी छु ।’