२०८१, ८ बैशाख शनिबार

आचारसंहितका बिषयमा सम्पादकहरुसँग अन्तक्रिया

सुर्खेेत : नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले जिल्लास्थित सम्पादकहरुसँग मंगलबार अन्तरक्रिया कार्यक्रम गरेको छ । मिडियाले उठाउनुपर्ने समसामयिक मुद्दाहरु, मोफसलको पत्रकारिताका चुनौती र समाधानका उपाय लगायतका विविध विषयमा छलफलका लागि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रमका सहभागीहरुले पत्रकार आचारसंहिता कार्यान्वयनमा जोड दिएका छन् । व्यावसायिक पत्रकारीतालाई थप प्रोत्साहन गर्न आचारसंहिता कार्यान्वयन नै महत्वपूर्ण रहेको बताइएको छ ।
अन्तरक्रिया कार्यक्रममा पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था, लैङ्गिकमैत्री समाचार कक्ष निर्माण, सेल्फ सेन्सरशीप र प्रेस स्वतन्त्रता, मिडियाले उठाउनुपर्ने समसामयिक मुद्दा र मोफसलको पत्रकारिताका चुनौती र समाधानका उपाय लगायतका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवाल र केन्द्रीय सदस्य दिपेन्द्र शर्मा सहित जिल्लास्थित पत्रिका, रेडियो, टेलिभिजन र अनलाईन सञ्चारमाध्यामका सम्पादकहरुको सहभागिता रहेको थियो ।
केन्द्रीय कोषाध्यक्ष सेजुवालले सम्पादकको महत्व, भूमिका र क्षेत्रका विषयमा जानकारी गराएका थिए । उनले मोफसलको पत्रकारीतामा गुनासो सुन्नुपर्ने अवस्था नआएको बताए ।
सम्पादक र संवाददाताबीच देखिने सम्बन्ध सुमधुर बनाउन जोड दिनुपर्ने नयाँ नेपाल दैनिकका सम्पादक गणेश कन्चन भारतीले बताए । उनले मिडियाको संस्थागत विकासका लागि अन्य प्रदेशका सरकारी निकायले सहयोग गरेपनि कर्णालीमा असहयोग भैरहेको बताए । उनले आफ्नो मिडिया हाउसमा आवद्ध कर्मचारी तथा पत्रकारहरुलाई सुत्केरी बिदा दिने गरेको जानकारी दिए । उनका अनुसार ४ जना महिला पत्रकारले ३÷३ महिना सुत्केरी विदा पाएका छन् ।