२०८१, २० बैशाख बिहीबार

बीमाको करौडौं रकम हत्याउन प्रेमीसँग मिलेर श्रीमानको हत्या, योजनामा संलग्न गिरोह नै पक्राउ

सुर्खेत : बीमा कम्पनीबाट रकम लिनका लागि योजनाबद्ध रूपमा व्यक्ति हत्या गर्ने गिरोह पक्राउ परेको छ । एकजनाको हत्या गरेर कम्पनीबाट २ करोड ५० लाख रूपैयाँ भुक्तानी लिएको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बीमाको रकम लिनैका लागि योजनावद्ध रुपमा दुईजनाको विवाह गराइएको र श्रीमान्लाई दुर्घटनामा पारेर मारिएको तथ्य फेला पारेको छ ।
२०७८ साल वैशाख २ गते भे १ ख २४९१ नम्बरको मिनीबसले ठक्कर दिई घाइते भएका सर्जन विकको उपचारका क्रममा मृत्यु भएको थियो । यही घटना अनुसन्धानका क्रममा प्रहरीले नयाँ–नयाँ तथ्य फेला पारेको हो । टिपरमा बालुवा लोडको काम सकी राति ११ बजे भे १० प १७२७ नम्बरको मोटरसाइकलमा फर्कने क्रममा टोपबहादुर राना क्षेत्रीले चलाएको मिनीबसले ठक्कर दिँदा सर्जनको मृत्यु भएको थियो ।
सर्जन विकको नाममा गरिएको बीमा बापतको २ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी लिएपछि घटना शंकास्पद देखिन थाल्यो । मृतककी श्रीमती सपना मल्लले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट भुक्तानी लिई कोहलपुरस्थित कामना विकास बैंकको खातामा उक्त रकम जम्मा गरिसकेकी थिइन् । तर नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले २०७८ साल फागुन ३० गते सीआईबीलाई सर्जन विकको सवारी दुर्घटनाबाट भएको भनिएको मृत्यु शंकास्पद देखिएको भन्दै अनुसन्धान गर्न पत्र लेख्यो । रिलायन्सले पनि ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न पत्र लेख्यो ।
दुर्घटनामा सर्जनको मृत्यु भए पनि सपना मृत्यु संस्कारमा सहभागी भइनन् । त्यसपछि घटना झनै शंकास्पद देखिएको सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले जानकारी दिए । बैंक खाता खोल्दादेखि नै घटना शंकास्पद देखिएको अनुसन्धानले खुलेको छ । मृतक सर्जन र सपना श्रीमान्–श्रीमती भनिए पनि लामो समयदेखि सम्पर्कमा नरहेको पाईयो । २०७७ साल फागुन २८ गते उनीहरू विवाह दर्ताका लागि गए पनि सर्जनको उमेर नपुगेका कारण त्यसै फर्किएका थिए । त्यही दिन नै सर्जन र सपनाको पहिलो पटक भेट भएको पनि अनुसन्धानबाट खुलेको छ । उनीहरूको चैत २ गते विवाह दर्ता भएको तर त्यसपछि भेट भएको थिएन ।
यस घटनामा सपनासहित स्याङ्जाका सञ्जीव अर्याल, बाँकेका सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटासमेतको संलग्नता देखिएको छ । सपना मल्लको खातामा आएको २ करोड ५० लाख पनि भागबन्डा गरिएको थियो । उक्त रकममध्ये सञ्जीवले ८० लाख ३६ हजार, दीपकले ६० लाख, सपनाकी आमा छविकुमारी खत्रीले १७ लाख ४६ हजार र सपनाले ८६ लाख ८९ हजार लिएको प्रहरीले जनाएको छ ।
सञ्जीवले नै रिलायन्स कम्पनी कोहलपुरमा २०७७ फागुन २८ गते सपनालाई इच्छाइएको व्यक्ति राखेर सावधिक जीवन र म्यादी जीवन बीमा गराएका थिए । बीमाको पहिलो शुल्क पनि सञ्जीवलै नै तिरिदिएका थिए । वार्षिक आयको अधिकतम ४० प्रतिशतसम्म मात्र बीमा गर्न सक्ने भए पनि सर्जनको नाममा गरिएको बीमा फरक थियो ।
श्रीमान्–श्रीमती भनिएका सपना र सर्जनबीच विवाह दर्तापछि भेट नभए पनि सञ्जीव र सपनाबीच भने पटक–पटक भेट भएको पाइएको छ । उनीहरु प्रेमी–प्रेमिका थिए । यस घटनामा बिमा अभिकर्ता खाँको समेत संलग्नता देखिएको छ । दुर्घटनामा खाँकै मोटरसाइकलसमेत प्रयोग भएको थियो । घटनाको दिन सञ्जीव, मृतक सर्जन, खाँ र मिनीबस चालक टोपबहादुर रानाको कुराकानीसमेत भएको पाईएको छ ।
आरती भनिने ललिता सापकोटाले सपना र सञ्जीवबीच भेट गराइदिएको र घटनापछि सपना मल्ललाई अस्ट्रेलिया पठाउने सहमतिसमेत भएको प्रहरीले जनाएको छ । गत साउन ९ गते दिल्ली हुँदै जापान जाने क्रममा सपनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीआईबी टोलीले पक्राउ गरेको हो ।
अन्यलाई प्रहरीले विभिन्न स्थानबाट फरक फरक समयमा नियन्त्रणमा लिएको थियो । उनीहरुविरुद्ध ज्यान मार्ने लगायतका कसुरमा मुद्धा अघि बढाईएको छ ।