कर्णालीमा गठबन्धनभित्रको लफडा मिल्यो, चल्यो सदन
सुर्खेत : गत मंगलबारदेखि अवरुद्ध कर्णाली प्रदेश सभाको बैठक सोमबारबाट सञ्चालन भएको छ । सत्तारुढ दलभित्र (काँग्रेस–माओवादी)भित्र देखिएको समस्या समाधान भएसँगै संसद् चलेको हो ।
नेकपा माओवादी केन्द्रले गत मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यशैली गठबन्धनको स्प्रिट विपरीत भएको भन्दै संसद् अवरुद्ध गरेको थियो । आइतबार बसेको गठबन्धनका नेताहरूबीचको छलफलमा माओवादीले उठाएका विषय सम्बोधन गर्न मुख्यमन्त्री जीवनबहादुर शाही राजी भएसँगै समस्या समाधान भएको हो ।
नेकपा माओवादी केन्द्रका पूर्व मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समितिको नेतृत्व घोषणा गर्ने, सहिद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको योजना छानबिन गरेर कार्यान्वयन गर्ने, शान्ति पुर्नस्थापना, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयक लगायतका महत्त्वपूर्ण विधेयकको कुरामा नमिलेका मिलाएर लाने र मिलेर आएका पारित गर्ने सहमति भएको बताए । ‘लेखित महमति भएको छैन् ।’ उनले भने,‘सैन्द्धातिक सहमति आधारलाई बनाएका छौं ।’
आइतबार अबेरसम्म बसेको गठबन्धनको बैठकमा काँग्रेसका तर्फबाट मुख्यमन्त्री जीवनबहादुर शाही, नेकपा माओवादीका तर्फबाट पूर्व मुख्यमन्त्री एवं संसदीय दलका नेता महेन्द्रबहादुर शाही, पूर्व मन्त्री एवं प्रदेश अध्यक्ष विमला केसी, एकीकृत समाजवादीको तर्फबाट संसदीय दलका नेता एवं कृषि मन्त्री चन्द्रबहादुर शाही, एस प्रदेश अध्यक्ष अम्मरबहादुर थापा सहभागी थिए ।
