२०८३, १७ असार बुधबार

देशमा रोजगारीको व्यवस्था गरौं

रोजगारीका लागि नेपाली युवाहरू भौंतारिँदै कस्तूरीले आफूमा भएको सुगन्धित बिनाको ज्ञान नभएर कहाँबाट बास्ना आयो भन्दै भौंतारिएर हिँडेजस्तै मृगतृष्णाको रूपमा आफ्नै देशमा उपलब्ध पेसा अँगाल्न हिचकिचाउँदै हजारांै, लाखौं रुपैयाँ खर्च गरेर खाडी मुलुकको प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलफुल खेती, भेडा चराउने, गधा जोत्ने जस्ता कृषिजन्य काम गर्न तँछाड मछाडका साथ पुगेका छन् । अर्कातर्फ छिमेकी देशहरूबाट रोजगारीका लागि नेपाल आएर फलफूल, तरकारी र अन्य सामान बेच्न सहर–बजारमा मात्र नभएर विकट गाउँहरूमा पनि छ्यापछ्याप्ती पुगेको पाइन्छ । तर, गर्वका साथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन् ? त्योभन्दा तल्लो स्तरको काम गर्न मुग्लान नै पस्नुपर्ने किन ? यस्तो मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला ? आफ्नो देशमा रोजगारी नपाएमा चारैतिर अभावैअभावबाट छट्पटिई निराश भई विरक्तिएर बिदेसिएका नेपाली झन् कष्टकर, अमानवीय व्यवहार सहन बाध्य भएर बिचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छ । यसरी तावाबाट उम्केको माछा भुंग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराइमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले बिदेसिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नुपर्ला ? आदि प्रश्नको विश्लेषणबाट सार्थक निष्कर्षमा पुग्न विलम्ब गर्नु हुँदैन । शिक्षालाई गुणस्तरीय जनमुखी, प्रगतिशील जीवनोपयोगी आदि विशेषणबाट सम्बोधन गरिएको पाईन्छ । गुणस्तर प्राप्ताङ्कका आधारमा निक्र्योल गर्ने प्रचलन प्रशस्तै छ । जसका कारणबाट आमाबुबाको अर्थ नबुझ्ने तर ड्याडममको संस्कारमा हुर्कने, दूध कहाँबाट आउँछ भन्दा डेरीबाट भन्ने, गाईभैंसीको जानकारी नराख्ने, कृषिमा हलो, फाली, करुवा दाँते आदिको बारेमा जानकारी नहुने, सैद्धान्तिक ज्ञान मात्र भएको तर अल्पव्यावहारिक ज्ञान भएका नागरिकभन्दा आफ्नो परिवेशलाई समेत साक्षात्कार गर्ने–गराउने गरेर सिक्ने खालको शिक्षाको अवलम्बन गरिनुपर्छ । शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ । माछा मारेर खुवाउनेभन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो पौरखी शिक्षा हुनुपर्छ । अतः दैनिक जीवनमा प्रयोग गर्ने विषय र विधि सिकाउने खालको शिक्षा हुनुपर्छ । कुनै व्यक्तिको प्रमाणपत्रको प्राप्ताङ्कभन्दा पनि उसले देखाउने बानी–व्यवहार, चालचलन, चरित्रका आधारमा गुणस्तरीय शिक्षा परिभाषित हुनुपर्छ ।