जुम्लाका जंगली च्याउ खाँदा एकै घरका पाँचजना बिरामी
सुर्खेत : जुम्लाका जंगली च्याउ खाँदा एकै घरका पाँचजना बिरामी परेका छन् । तिला गाउँपालिका– ४ नुवाकोट गाउँका लक्ष्मीबहादुर हमालका परिवारका पाँचजना बिरामी भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी नरेन्द्र चन्दका अनुसार बिरामी पर्नेमा लक्ष्मीबहादुर हमाल, उनकी पत्नी राममाया हमाल, छोरीहरू दर्शना हमाल र सम्झौता हमालका साथै उनको घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका– ९ रोकायाबाडाका लालबहादुर रोकाया रहेका छन् ।
उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।
लक्ष्मीबहादुर र छोरी सम्झौताले बोल्न छाडेपछि राति नै अस्पताल ल्याइएको र अहिलेसम्झौताबाहेक अन्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
