स्थानीय तहका जनप्रतिनीधि जिम्मेवार बन्
राजनीतिमा क्रियाशील व्यक्तिहरुमा मौका पाउनासाथ शासक बन्ने, फर्मान जारी गर्ने अभीप्सा त हुन्छ । तर, विवेकले यसलाई नियन्त्रण गरेर स्थानीय तहका जनप्रतिनिधिले आफूलाई जनताको सेवक, विकासको अभियन्ताको रुपमा स्थापित गर्न भगीरथ प्रयत्न गरिरहनुपर्छ । ठ्याक्क दश बजे कार्यालय पुगी कार्यालयको घुम्ने मेचमा मात्र रमाउने व्यक्ति राम्रो कर्मचारी त बन्न सक्ला तर जनउत्तरदायी जनप्रतिनिधि भने बन्न सक्दैन । जनप्रतिनिधिले उपयुक्त संयन्त्र र प्रणालीको विकास गरी धेरैभन्दा धेरै समय स्थानीय जनता र मतदातालाई दिन सक्नुपर्छ । जनप्रतिनिधिले आफूलाई एक असल नेता–कार्यकर्ताको अतिरिक्त एक असल स्वप्नदर्शी व्यवस्थापकको रुपमा पनि स्थापित गर्न सक्नुपर्छ । भीडको प्रशंसामा रमाउने आदत राम्रो होइन भन्ने महसुस गर्दै हरेक साँझ आजको अमूल्य दिनको सदुपयोग भयो वा खेर गयो भनेर स्वमूल्याङ्कन गर्दै सोही आधारमा आफूलाई सुधार गर्दै लैजान सक्नुपर्छ । केवल तोकादेशको भरमा गरिब जनताले तिरेको कर वा कष्टले माथिल्लो निकायले पठाएको निकासाको मनपरि खर्च गर्न दिनुहुँदैन ।
कुनै पनि संस्था वा निकायको दिगोपना, ख्याति अभिवृद्धि र आर्थिक अनुशासनको पालनाको लागि संस्थागत असल कार्यसंस्कृति एवं संस्थागत सम्झना अपरिहार्य हुन्छन् । त्यसको लागि टिप्पणी उठाउने वा प्रस्ताव लेखन (गर्नुपर्ने काम, तत्कालै उक्त कार्य गर्नुपर्नाको कारण, सो सम्बन्धी कानुनी व्यवस्था, आर्थिक स्रोत व्यवस्थापनको आधार, जिम्मेवार निकाय, काम नगरे वा समयमा सम्पादन नगरे हुने दण्ड सजायको भागिदार को हुने आदि स्पष्ट विवरण खुलाएर) प्रणालीको विकास गर्न सके अरुले फसाउने वा आफँै फस्ने सम्भावना न्यून हुन्छ ।
