२०८१, ८ बैशाख शनिबार

औद्योगिकरणको विकासका लागि कर्णालीमा ‘एक जिल्ला एक उद्योग नीति’

सुर्खेत : कर्णाली प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा ‘कार्चेन’ ले कच्चा पदार्थमा आधारित ७ वटा उद्योगलाई कर्णाली सरकारले अनुदान दिने बताएका छन् । कर्णालीमा उद्योग क्षेत्रलाई विकास गर्नका लागि एक जिल्ला एक उद्योग भन्ने नीति नै लिएको उनले बताए ।
शनिबार उद्योग, उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजनामा औद्योगिक क्षेत्र सडक स्तरोन्नती कार्यको उद्घाटन गर्दै उनले भने, ‘देश विकास र आर्थिक समृद्धिका लागि औद्योगिकरणको ठुलो भूमिका हुन्छ । आगामी नीति तथा कार्यक्रममै कर्णालीको कच्चा पदार्थमा आधारित ७ वटा उद्योगलाई अनुदानको व्यवस्था गर्ने व्यवस्था गरेका छौं ।’
साथै मन्त्री लामाले वीरेन्द्रनगरमा रहेको औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुको अवस्था बारे अनुगमन समेत गरेका थिए । त्यहाँभित्र डेरी उद्योग, काठ तथा फर्निचर उद्योग, छापाखाना, ग्रील उद्योग र पानी उद्योग रहेका छन् । कर्णालीमा अहिलेसम्म ठुला तथा मझौला खालका उद्योग कलकारखानाहरू छैनन् । मन्त्री लामाले भने, ‘उद्योगमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले निजी क्षेत्रलाई समेट्ने गरेर बजेट ल्याएका छौं ।’