२०७९, २० असार सोमबार

प्रयोगमै नआई थोत्रियो विरामी कुरुवा कक्ष

सल्यान : सल्यानको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको विरामी कुरुवा भवन प्रयोगमा नआई थोत्रिएको छ। २०६६ सालमा निर्माण सम्पन्न विरामी कुरुवा भवन प्रयोग नभएर जीर्ण बनेको हो तर प्राथमिक स्वास्थ्य केन्द्रमा आउने विरामीका कुरुवाले भने सास्ती पाउँदै आएका छन्।

स्थानीय सुनिल कुँवरले बिरामी कुरुवा भवन सञ्चालनमा नआउँदा उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका कुरुवाले सास्ती भोग्दै आएको बताए। उनले भने‚ ‘प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीको चाप छ, सुत्केरी हुने लगायत अन्य आकस्मिक विरामीलाई लिएर आफन्तहरू यहाँ आउँछन् तर बिरामी कुरुवाका लागि बस्ने ठाउँ छैन।’

प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज वीरबहादुर वलीले विरामी कुरुवा भवनलाई सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन गर्न नसकिएको बताए। उनले भने, ‘यो नितान्त आवश्यक छ, हामीसँग भवन पनि छ, तर प्रयोगमा आउन सकेको छैन तातोपानी तताउन मिल्ने भाँडाकुँडा तथा ग्यास हामीसँग छ, तर शय्या छैन। केही शय्या राखेर त्यसको मर्मत सम्भार गरेर प्रयोगमा ल्याउन सके राम्रो हुने थियो।’

प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तथा छत्रेश्वरी गाउँपालिका–५ का वडाध्यक्ष फौदबहादुर बस्नेतले यसबारेमा आफूहरूलाई अहिले केही जानकारी नभएको र स्वास्थ्यकर्मीहरूसँग छलफल गरेर समस्या समाधान गरिने बताए। स्वास्थ्यकर्मी अभाव देखी लिएर यस क्षेत्रमा थुप्रै समस्या रहेकाले वजेट सार्वजनिकपूर्व छलफल गरेर सोही अनुसारको बजेट विनियोजन गर्ने उनको भनाइ छ।

२०६३ मा सल्यान जिल्ला क्षेत्र नम्बर २ बाट राप्रपाका मनोनीत सांसद नरेन्द्रकुमार चौधरीको संसद् विकास कोषको रकमबाट भवन निर्माण गरिएको थियो। संसद् विकास कोषको १ लाख ७० हजार अनुदान र स्थानीयको १ लाख श्रमदान गरी कुल २ लाख ७० हजारमा भवन निर्माण गरिएको थियो।