२०८१, १९ भाद्र बुधबार

हुम्लाको यारीमा सुख्खा बन्दरगाह अध्ययन सुरु

    हुम्लाको नाम्खा गाउँपालिका– ५ को यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । काठमाडौंबाट आएका टोलीले नाम्खा– ५ को यारी पुगेर स्थलगत रपमा सम्भाव्यता अध्ययन सुरु गरेको हो ।
छिमेकी देश चीनसँग जोडिएको हुम्लाको यारीमा सुख्खा बन्दरगाहाको सम्भाव्यता अध्ययन सुरु भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् । प्रमुख जिल्ला अधिकारी परियारका अनुसार चालू आर्थिक वर्षमा सरकारले उक्त सम्भाव्यता अध्ययनको कार्यक्रम तय गरेको बताइन् ।
सम्भाव्यता अध्ययनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सूचना निकालेर परामर्शदाता कम्पनीमा एमएस कार्ड कन्सल्ट लिमिटेड छनोट गरी सम्झौता गरेको प्रजिअ परियारको भनाइ छ ।
लिमिटेडसँगको सम्झौतासँगै दुई सदस्यीय अध्ययन टोली हुम्ला पुगेर स्थलगत रूपमा अध्ययन सुरु छ । बन्दरगाह निर्माण क्षेत्रको टोपोग्राफीको अध्ययन टोलीमा खटिएका इन्जिनियर सन्तोष खड्काले बताए । जग्गाको बनावट, प्रकृति, खानेपानी, बिजुली, सडक सञ्जाल र सामाजिक विवरणको समेत अध्ययन गरिने बताए ।
यारी क्षेत्र चार हजार चार सय मिटर अग्लो भएको कारण हिउँ पन्छाउन मिल्ने अवस्थाको पनि अध्ययन गरिनेछ ।
उक्त क्षेत्रका कर्णाली करिडोरको सडक पनि जोडिएको र सरकारी जमिन पनि प्रशस्त मात्रामा रहेको छ । कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशले यस बन्दरगाहबाट व्यापारिक रूपमा टेवा पुग्ने भएको छ । बन्दरगाह भने कर्णाली प्रदेशमै पहिलो र व्यापारिक महत्व झल्किनेछ । हुम्लामा उत्पादन भएको जडीबुटी, फलफूल, तरकारी, काठ सहज रूपमा निकासी गर्ने बाटो खुल्नेछ ।