२०७९, १८ मंसिर आईतवार

जहाज नआउने विमानस्थल निर्माण गर्न बजेट

सुर्खेत : करिब तीन वर्षदेखि बन्द भएको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ स्थित विमानस्थल स्तरोन्नति गर्ने भनी बजेट विनियोजन गरिएको छ। यात्रु नपाएर बन्द गरिएको विमानस्थल सामग्री समेत नेपालगन्ज लिएर राखिएको थियो। कर्मचारी समेत कटौती गरी अन्य विमानस्थलमा राखिएको थियो। 

आगामी आर्थिक वर्ष २०७९।०८० को वार्षिक बजेटमा विमानस्थल स्तरोन्नति गर्ने बजेट छुट्याइएको छ। विमानस्थल बढाउने भन्दै बजेट विनियोजन गरिएको हो।

देशका अरू विभिन्न विमानस्थलको स्तरोन्नति तथा निर्माण गर्न भन्दै १२ अर्ब २४ करोड बजेट विनियोजन गरिएको छ। यसै बजेटबाट चौरजहारी विमानस्थलको पनि स्तरोन्नति हुनेछ। हालको भन्दा ठूलो विमानस्थल बनाइनेछ । यो विमानस्थल जिल्लाको पुरानो विमानस्थल हो। जिल्लामा योसहित दुई विमानस्थल छन्। चौरजहारी विमानस्थल २०२८ मा बनाएर सञ्चालनमा ल्याइएको थियो।

रुकुम, सल्यान र जाजरकोट जिल्लालाई लक्षित गरी चौरजहारीमा विमानस्थल बनाइएको थियो। २०७० फागुनदेखि २०७२ भदौसम्म धावनमार्ग कालोपत्र गरिएको थियो। ५ करोड ५९ लाख ४९ हजार ९५२ रुपैयाँको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको थियो। विमानस्थलको स्तरोन्नति भएपछि यहाँ विमान आउन कम भए । 

‘विमानस्थलमा जहाज नआउने तर स्तरोन्नति मात्र गरेर के गर्ने?’‚ स्थानीय बासिन्दा राजु लामिछानेले भने। रुकुम, जाजरकोट र सल्यान जिल्लाका लागि भनेर निर्माण गरिएको विमानस्थल अहिले बेवारिसे जस्तै भएको छ। 

जाजरकोट खण्डमा सडक पिच भइसकेको छ भने मध्यपहाडी लोकमार्ग समेत यही विमानस्थलको छेउ भएर जान्छ। सबैभन्दा ठूलो समस्या यहाँको अस्पताललाई भएको छ। विरामी तत्काल बाहिर पठाउन खोज्दा मुस्किल हुने गरेको चौरजहारी अस्पतालका प्रशासक दिलबहादुर गिरीले बताए। यो क्षेत्रको सबैभन्दा ठूलो यही अस्पताल हो।