२०८०, १६ चैत्र शुक्रबार

कर्णाली प्रदेशः स्वास्थ्य क्षेत्रको सुधारलाई निरन्तरता

सुर्खेत : कर्णाली प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारलाई निरन्तरता दिने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । स्वास्थ्य सेवालाई सर्वसुलभ, सहज र पहुँचयोग्य बनाउनेजस्ता विषय पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
प्रदेशका अस्पताललाई विशिष्टिकृत रेफरल अस्पतालको रुपमा विकास गरिनेदेखि जिल्ला अस्पतालको भौतिक पूर्वाधारको सुधार, विशेषज्ञ जनशक्तिको व्यवस्था र सूचना प्रविधिको प्रयोगबाट स्वास्थ्य उपचारका लागि प्रदेश बाहिर जानुपर्ने बाध्यतालाई कम गर्ने कार्यक्रम प्रदेश सरकारको रहेको छ ।
मातृ–शिशु स्वास्थ्य सुधारका लागि पोषण कार्यक्रम, स्थानीय स्तरमा स्वास्थ्य स्वयंसेविकाको मनोबल कायम गर्न तालिम र प्रोत्साहन, टेलिमेडिसिन सेवा सञ्चालन, जस्ता कार्यक्रम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा अवलम्बन गर्ने योजना अघि सारेको छ ।
प्रदेश सरकारले स्वास्थ्य सेवालाई आयुर्वेद, प्राकृतिक तथा होमियोपेथिक तथा वैकल्पिक पद्धतिबाट पनि उपलब्ध गराउन प्रदेश आयुर्वेद औषधालयलाई प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको रुपमा स्तरोन्नति गर्ने कार्यक्रम अघि सारेको छ ।
त्यस्तै, आगामी आर्थिक वर्षमा प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरी प्रदेश भित्रै स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन गरिने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।