२०८१, ३० आश्विन बुधबार

११ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाले कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन पाउने


 

सुर्खेत: सरकारले अबदेखि ११ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई पनि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिने भएको छ।शुक्रबारदेखि कोरोना उक्त उमेर समूहका बालबालिकालाई बुस्टर डोज दिइने भएको हो।

हालसम्म १८ वर्ष माथिकालाई मात्रै बुस्टर डोज खोप दिएकोमा ‘२४ गतेको मन्त्रालयको निर्णयले अबदेखि यसअघि कोरोनाविरुद्धको खोप लगाएर तीन महिना पूरा भएकालाई पनि बुस्टर डोज खोप दिने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहालले बताए। ‘यसअघि कोरोनाविरुद्धको दुबै डोज खोप लगाएर तीन महिना पूरा भएका बालबालिकालाई पनि बुस्टर डोज लगाउने निर्णय भएको छ, सोहीअनुसार अबदेखि ११ देखि १७ वर्षसम्मका बालबालिकाले पनि कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन पाउनु हुन्छ’‚ उनले भने।

१२ देखि १७ वर्षसम्मका बुस्टर डोज मोर्डना तथा फाइजर जुन लगाए पनि हुने उनले बताए। खोप कार्यक्रम पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यालयमा सञ्चालन गरिनेछ। ‘यसअघि फाइजर खोप लगाउनु भएकाले फाइजर र मोर्डनामध्ये जुन खोपलाई पनि बुस्टर डोज खोप लगाउन मिल्छ’‚ उनले भने।

तर फाइजर खोप बुस्टर लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रूपमा दिँदा ०.२५ एमएल लगाउनुपर्ने उनले बताए। १२ देखि १७ वर्षसम्मका बालबालिकालाई यसअघि सरकारले  पहिलो र दोस्रो डोजको रूपाम मोर्डना तथा फाइजर खोप दिइएको थियो।

यस्तै सरकारले असार ९ गतेबाट ५ देखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको फाइजरको (पेडियाट्रिक डोज) खोप समेत लाउने भएको छ।