२०८१, १ कार्तिक बिहीबार

गर्मी मौसमसँगै खानेपानी समस्या बढ्दै

सुर्खेत : कालीमाटी गाउँपालिका–२ स्थित कोछट्टे, टाकुरा, टोटके र बारपुरमा खानेपानीको हाहाकार सुरु भएको छ । २०४६ मा सम्पन्न भएको खानेपानी योजना तहसनहस भएपछि स्थानीयले लामो समयदेखि खानेपानीको सास्ती भोग्दै आएका छन् ।


गाउँ नजिकैका मुहान सुकेपछि दुई घण्टा हिँडेर खोल्साखाल्सीमा जमेको पानी ल्याउनुपर्ने बाध्यता स्थानीयलाई छ । अहिले ४ गाउँका करिब २ सय परिवार खानेपानीको अभाव भोग्न बाध्य भएका स्थानीय कमला घर्तीले बताइन् । उनका अनुसार एक महिना अघिसम्म भक्काने मूलबाट पानी ल्याउनु परेकोमा अहिले कोछट्टे खोलामा पुग्नुपर्ने बाध्यता रहेको छ ।
डाँडामा बस्ती भएकोले २ दशकदेखि खानेपानी समस्या झेल्दै आएको टोटकेकी कमला ओलीले गुनासो गरिन् । वर्षायाम बाहेक अन्य समयमा खानेपानीको जोहो गर्न सास्ती भोग्दै आएको उनको भनाइ छ । ‘वर्षायाममा आकाशेपानी उपभोग गर्छाैं’, उनले भनिन्, ‘अरू समय सधैँ पानीको पिरलो हुन्छ ।’
यस्तै पानीको स्रोत नजिक नहुँदा छत्रेश्वरी गाउँपालिका १ चिन्नेखर्कका बासिन्दा आधा घण्टाको बाटोमा हिँडेर पानी ल्याउन बाध्य छन् । चिन्नेखर्कका एक दर्जन परिवारको दैनिकी पानी बोक्दैमा बित्ने गरेको छ ।
बस्ती नजिक पानीको मुहान नहुँदा स्थानीयलाई पिउने पानीकै लागि दैनिक आधा घण्टा भन्दा बढी समय खर्चिनु परेको छ । खानेपानी नजिकै नहुँदा दैनिक जीवनयापनमा समेत प्रत्यक्ष असर पर्दै आइरहेको स्थानीय निरु खड्काले बताइन् ।
गनेखोली र डिमुरे खोलाबाट पानी ल्याउदै आइएको उनको भनाई छ । पर्याप्त मात्रामा पानी नहुँदा दैनिक सरसफाई देखि लिएर समयको समेत कटौती भइरहेको खड्काको भनाई छ ।