२०८१, १ कार्तिक बिहीबार

अछाम घटना अपडेट : हत्या आरोपमा ५ जना पक्राउ, शव अझै उठेन

अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाही मृत्यु प्रकरणमा प्रहरीले हत्या आरोपमा ५ जनालाई पक्राउ गरेको छ। सिआइबीले मंगलबार साँझ ती ५ जनालाई पक्राउ गरेको हो।

 

‘सिआइबीले हिजो साँझ ५ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ। अहिले घटनाको अनुसन्धान सिआइबीले नै गरिरहेको छ,’ जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले भने।

जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको द्वन्द्वपछि बेपत्ता भएका शाहीको शव शनिबार बिहान स्थानीयले फेला पारेका थिए। मध्यपहाडी राजमार्गमा पर्ने पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ४ कुच्चीको भिरको खोँचमा उनको शव फेला परेको थियो।

मृतक किशोरका आफन्तले काँग्रेसको योजनाअनुसार हत्या भएको आरोप लगाएका छन्। निर्वाचनका क्रममा शाही एमालेको प्रचारमा सक्रिय थिए। सोही कारण उनको हत्या भएको आरोप आफन्तले लगाएका छन्। किशोरको शव फेला परेको ५ दिनसम्म पनि शव आफन्तले अझै उठाउन दिएका छैनन्।

अनुसन्धानमा एसएसपीको नेतृत्वमा टोली खटियो

उक्त घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाई महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोली समेत खटिएको छ। घटनाको अनुसन्धानका लागि अछाम पुगेका पाण्डेले शवको पोस्टमार्टम गराउनु नै पहिलो अनुसन्धानको विषय भएको बताएका छन्। यो घटनामा राजनीतिकरण भएकाले दोषी उम्किने सम्भावना रहेको बताउँदै अनुसन्धानलाई प्रभावित पार्न नहुने उनको भनाइ छ।

मृतकका आफन्त तथा स्थानीयले न्याय माग्दै निरन्तर जिल्लाका विभिन्न स्थानहरुमा आन्दोलन जारी राखेका छन्।